काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रबार) पनि देशका ३१ जिल्ला तथा आसपासका क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको जनाएको छ। लगातारको वर्षासँगै साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (पूर्व), पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, बाँके, बर्दिया, कैलाली र सुर्खेत लगायतका जिल्ला भएर बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
यस्तै ओखलढुंगा, रामेछाप, रुकुमपूर्व, जाजरकोट, डोटी, डडेल्धुरा, बझाङ र दार्चुला जिल्लाका साना नदी तथा खोलामा पनि आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।
महाशाखाले नदी किनार, खोल्सी तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, वर्षाका बेला नदी तर्ने, माछा मार्न जाने वा नदी आसपास अनावश्यक आवतजावत नगर्न पनि अनुरोध गरिएको छ।
मौसमको अवस्थाअनुसार स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र पूर्वसूचनालाई नियमित रूपमा पालना गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर