काठमाडौं । आज साउने संक्रान्ति पर्व देशभर परम्पराअनुसार स्नान, दान, आफन्तसँगको भेटघाट तथा विभिन्न सांस्कृतिक र धार्मिक गतिविधिसहित मनाइँदै छ ।
सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्तिका रूपमा मनाउने परम्परा छ। यसै दिनदेखि सूर्यको दक्षिणायन यात्रा सुरु हुने धार्मिक विश्वास रहेको छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने गर्दछन् ।
असार महिनाभर धान रोपाइँमा व्यस्त रहने किसान तथा सर्वसाधारणले हिलो र मैलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ साउने संक्रान्तिमा ‘लुतो फाल्ने’ परम्परा पनि निर्वाह गर्ने गरेका छन् ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती लगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको प्रतीकात्मक पूजा गरिन्छ। त्यसपछि अगुल्टो बाहिर फाल्दै रोगव्याधि र अशुभ शक्तिलाई घरबाट हटाइएको विश्वास गरिन्छ ।
लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टी बजाउने तथा घरका ढोका बन्द गर्ने चलन पनि नेपाली समाजमा अझै कायम छ ।
साउन महिना भगवान् शिवको आराधनाका लागि विशेष मानिन्छ । विशेषगरी महिलाहरू हरिया चुरा, हरिया वस्त्र तथा मेहन्दी लगाएर साउनको स्वागत गर्ने परम्परा रहेको छ, जसलाई हरियाली, समृद्धि र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ ।
साउन महिनाभर काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा दर्शन र पूजा–आराधनाका लागि भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ । विशेषगरी सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले साउनका सोमबारहरूमा शिवालयहरूमा भक्तजनको चहलपहल अझ बढ्ने गर्दछ ।
यस वर्ष साउन महिनामा चार वटा सोमबार परेकाले ती दिन शिवालयहरूमा विशेष पूजा, जलाभिषेक र भक्तजनको ठूलो भीड रहने अपेक्षा गरिएको छ ।












समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर