काठमाडौं । नयाँ सरकार गठनपछि सेयर बजारमा आएको लगातारको गिरावटका कारण लगानीकर्तामा बढ्दो चिन्ता देखिएको बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले धैर्य गर्न र अफवाहको पछि नलाग्न आग्रह गरेको छ ।
शुक्रबार बिहान जारी गरिएको सन्देशमा सचिवालयले बजारमा देखिएको असन्तुष्टि र आक्रोशलाई स्वाभाविक रूपमा लिएको उल्लेख गर्दै अर्थतन्त्रका आधारभूत सूचकहरू क्रमशः सकारात्मक दिशातर्फ उन्मुख रहेको दाबी गरेको छ ।
सचिवालयका अनुसार हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घट्दो क्रममा रहेको तथा सरकारले लगानी र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ विभिन्न नीतिगत पहल अघि बढाइसकेको छ। यस्ता आधारले बजारमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्ने विश्वास पनि व्यक्त गरिएको छ ।
सन्देशमा वर्तमान सरकारको स्थायित्व, अर्थमन्त्रीको आर्थिक विषयमा रहेको अनुभव तथा नियामक निकायहरूमा विज्ञ र पारदर्शी नेतृत्व नियुक्त गरिएको उल्लेख गर्दै पुँजी बजार सुधारका लागि योजनाबद्ध रूपमा काम भइरहेको दाबी गरिएको छ ।
यससँगै सचिवालयले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल तथा अनौपचारिक माध्यमबाट बजारबारे फैलाइएका भ्रमपूर्ण सूचना र हल्लाबाट सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ । केही व्यक्तिले गलत भाष्य निर्माण गरेर लगानीकर्तामा त्रास फैलाउने प्रयास गरिरहेको दाबी गर्दै सरकारले तथ्य, कानुन र प्रक्रियाका आधारमा निर्णय गर्ने स्पष्ट पारेको छ ।
सचिवालयले लगानीकर्तालाई बजारसम्बन्धी सूचना क्लबहाउस, ह्वाट्सएप, म्यासेन्जर समूह वा अन्य अनधिकृत स्रोतबाट नभई सम्बन्धित सरकारी निकायबाट मात्रै प्राप्त गर्न आग्रह गर्दै अफवाहका आधारमा लगानीसम्बन्धी निर्णय नगर्न पनि अनुरोध गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर