काठमाडौं । फुटबलमा कहिलेकाहीँ यस्ता कथा पनि जन्मिन्छन्, जसलाई कल्पनाभन्दा पनि अविश्वसनीय मानिन्छ । सन् २००७ मा बार्सिलोनाको ड्रेसिङ रुममा एउटा पाँच महिनाको शिशुलाई काखमा बोकेर नुहाइदिने युवा लियोनेल मेस्सीले सायदै कल्पना गर्नुभएको थियो, त्यही शिशु एक दिन विश्व फुटबलको अर्को सुपरस्टार बन्दै विश्वकप फाइनलमै आफ्नो प्रतिद्वन्द्वी बन्नेछ ।
ठीक १९ वर्षपछि त्यो कथा वास्तविकतामा परिणत हुँदैछ। आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनलमा साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र स्पेनका युवा सनसनी लामिने यामाल पहिलो पटक राष्ट्रिय टोलीबाट एकअर्काविरुद्ध मैदानमा उत्रिनेछन् ।
३९ वर्षीय मेस्सी र १९ वर्षीय यामालबीच झन्डै दुई दशकको उमेर अन्तर छ। तर फुटबल इतिहासकै सबैभन्दा ठूलो मञ्चमा यी दुई पुस्ताका प्रतिनिधिको भेट केवल एउटा खेल मात्र नभई समयले लेखेको एउटा दुर्लभ संयोग पनि हो ।
पाँच महिनाको यामाल र २० वर्षीय मेस्सी
यो कथा सन् २००७ मा सुरु भएको थियो । त्यसबेला मेस्सी बार्सिलोनाको पहिलो टोलीमा आफ्नो स्थान बलियो बनाउँदै हुनुहुन्थ्यो । अर्कोतर्फ, यामाल पाँच महिनाको शिशु मात्र थिए ।
क्याटालान पत्रिका स्पोर्ट, बार्सिलोनाका जर्सी प्रायोजक र युनिसेफले संयुक्त रूपमा आयोजना गरेको एक सामाजिक कार्यक्रममा विजेता परिवारका शिशुलाई बार्सिलोनाका पहिलो टोलीका खेलाडीसँग फोटो खिच्ने अवसर दिइएको थियो । संयोगवश, यामालको परिवार चयन भयो र उहाँलाई फोटोसुटका लागि मेस्सीसँग जोडियो ।
त्यो फोटोसुट क्याम्प नोउको पाहुना टोलीको ड्रेसिङ रुममा गरिएको थियो । तस्बिरहरूमा मेस्सीले सानो यामाललाई काखमा लिनुभएको, नुहाइदिनुभएको र मायापूर्वक खेलाउनुभएको देखिन्छ ।
१७ वर्षपछि फेरि चर्चामा आयो फोटो
यी तस्बिरहरू वर्षौंसम्म खासै चर्चामा आएनन् । तर सन् २०२४ मा यामालले स्पेनलाई युरो २०२४ जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि उहाँका बुबा मुनिर नस्राउईले ती पुराना तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभयो ।
तस्बिरसँगै उहाँले लेख्नुभएको थियो, ‘दुई महान् खेलाडीको यात्राको सुरुवात।’
त्यसपछि ती तस्बिरहरू विश्वभर भाइरल बने र धेरैले यसलाई फुटबल इतिहासकै सबैभन्दा सुन्दर संयोगका रूपमा व्याख्या गरे।
‘मेस्सीलाई बच्चा कसरी समात्ने भन्ने नै थाहा थिएन’
ती ऐतिहासिक तस्बिर खिच्नुभएका फोटोग्राफर जोन मोनफोर्ट आज पनि त्यो दिन स्पष्ट रूपमा सम्झनुहुन्छ।
उहाँका अनुसार, आफूलाई सन् २०२४ मा साथीले फोन गरेर यामालको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको जानकारी नदिएसम्म त्यही शिशु आजका लामिने यामाल हुन् भन्ने थाहा नै थिएन।
मोनफोर्टले सम्झनुभयो, ‘मेस्सी निकै लजालु र शान्त स्वभावका हुनुहुन्थ्यो। ड्रेसिङ रुममा प्रवेश गरेपछि उहाँलाई एउटा सानो बच्चासँग फोटो खिच्नुपर्ने भयो। उहाँको अनुहार हेर्दा बच्चा कसरी समात्ने भन्ने नै थाहा नभएको जस्तो देखिन्थ्यो।’
उहाँका अनुसार यामाल भने निकै हँसिला शिशु थिए भने उनकी आमा शिला एबानाले फोटोसुट सहज बनाउन ठूलो सहयोग गर्नुभएको थियो।
साधारण परिवारबाट विश्व फुटबलको शिखरसम्म
यामालका बुबा मोरक्को मूलका मुनिर नस्राउई र आमा इक्वेटोरियल गिनी मूलकी शिला एबाना बाल्यकालमै स्पेनको क्याटालोनिया बसाइँ सर्नुभएको थियो।
परिवारको आर्थिक अवस्था कमजोर भए पनि उहाँहरूले छोराको फुटबल सपना पूरा गर्न कुनै कसर बाँकी राख्नुभएन।
यामालले केही समयअघि एल पाइससँग भन्नुभएको थियो, ‘मेरो आमा–बुबाले मेरो लागि जे गर्नुभयो, त्यो आफ्नै सन्तानका लागि बाहेक कसैका लागि गर्न सकिँदैन। पैसा नभएको अवस्थामा पनि उहाँहरूले मलाई फुटबल खेल्न दिनुभयो। म उहाँहरूको त्यो गुन कहिल्यै तिर्न सक्दिनँ।’
१९ वर्षको उमेरमै मेस्सीभन्दा धेरै उपलब्धि
१९ वर्ष पुग्दासम्म मेस्सीले व्यावसायिक फुटबलमा ११ गोल गर्नुभएको थियो। उहाँले एक पटक ला लिगा र एक पटक यूईएफए च्याम्पियन्स लिग जित्नुभएको थियो।
तर यामालले १९ वर्षकै उमेरमा ५६ गोल गरिसक्नुभएको छ। उहाँले तीन पटक ला लिगा, एक पटक कोपा डेल रे र युरो २०२४ को उपाधि जितिसक्नुभएको छ।
फाइनलसँगै एउटा कथाको पूर्ण चक्र
फोटोग्राफर मोनफोर्टका लागि आइतबारको विश्वकप फाइनल केवल उपाधिको प्रतिस्पर्धा होइन, लगभग दुई दशकअघि सुरु भएको कथाको पूर्णता पनि हो।
उहाँले भन्नुभयो, ‘मलाई लाग्छ, उनीहरूको कथाको एउटा चक्र अब पूरा हुँदैछ। यदि मेस्सीले दोस्रो पटक विश्वकप जित्दै करियर टुङ्ग्याउनुभयो भने त्यो उहाँको महान् यात्राको सबैभन्दा सुन्दर अन्त्य हुनेछ। तर यामालसँग अझै धेरै समय छ। उहाँले भविष्यमा पनि विश्वकप जित्न सक्नुहुन्छ।’
उहाँले मुस्कुराउँदै थप्नुभयो, ‘मेरो अवस्था निकै कठिन छ। मेरो मुटु दुई टुक्रामा विभाजित भएको छ।’
त्यसैले आइतबारको विश्वकप फाइनल केवल अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त मात्र रहने छैन। १९ वर्षअघि एउटै फ्रेममा रहेका दुई पुस्ताका खेलाडी—एकतर्फ इतिहास र अर्कोतर्फ भविष्य—विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आमनेसामने उभिने दुर्लभ क्षणको पनि साक्षी बन्नेछ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर