कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि फेल भएको छ । आजदेखि सुरु भएको नयाँ आर्थिक वर्षसँगै प्रदेश सरकार आंशिक बजेट शून्यताको अवस्थामा पुगेको छ ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले बजेट पारित गर्न नसकेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले एमाले मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को साथ खोजेका थिए । तर, नेकपाले पनि बजेट यथास्थितिमा पारित गर्न नसकिने अडान लिएपछि सरकार थप अप्ठ्यारोमा परेको थियो । सरकार स्पष्ट रूपमा अल्पमतमा परेपछि आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको ३७ अर्ब रुपैयाँ बराबरको बजेट पारित हुन सकेन ।
बजेट फेल भएसँगै शुक्रवारदेखि प्रदेश सरकारअन्तर्गतका कार्यालयमा बजेट शून्यताको अवस्था सिर्जना भएको छ । यद्यपि, प्रदेश सरकारले राजस्व संकलनसम्बन्धी विशेष व्यवस्था गरेकाले पूर्ण बजेट शून्यता भने नआएको जनाएको छ । प्रदेश सरकारले यसअघि नै सामयिक राजस्व संकलन ऐन, २०८१ लागू गरिसकेकाले राजस्व सङ्कलन गर्न समस्या नभए पनि बजेट पारित नभएकाले सरकारी खर्च गर्न भने नसकिने अवस्था बनेको छ ।
आर्थिक मामिला मन्त्रालयका उपसचिव धनबहादुर रोकायाले चालु आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित हुन नसके पनि प्रदेश पूर्ण बजेट शून्यताको अवस्थामा नपुगेको बताउनु भयो । उहाँकाअनुसार विशेष परिस्थितिका लागि प्रदेश सरकारले यसअघि नै सामयिक राजस्व संकलन ऐन, २०८१ लागू गरिसकेको छ ।
उक्त ऐनअनुसार आजदेखि प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूले राजस्व संकलन गर्न सक्नेछन् । बजेट पारित नभएकाले भने अघिल्लै व्यवस्थाअनुसार राजस्व संकलन गर्नुपर्ने उहाँले बताउनु भयो ।
ऐनको दफा ३ ले विशेष परिस्थितिमा राजस्व संकलनको व्यवस्था गरेको छ । दफा ३ को उपदफा १ मा प्रदेशमा विशेष परिस्थितिको समयमा राजस्व संकलन गर्न विशेष परिस्थिति सिर्जना हुनुअघि कायम रहेको दरअनुसार नै राजस्व संकलन कार्यलाई निरन्तरता दिनुपर्नेछ भन्ने व्यवस्था गरिएको छ ।
यसै व्यवस्थाअनुसार राजस्व संकलन गर्न आर्थिक मामिला मन्त्रालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्ने तयारीसमेत गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर