कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवाद निर्माणको राजनीतिक रूपरेखा प्रस्तुत गर्नुभएको छ ।
इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, त्यसले सामना गरेका चुनौती र ती अनुभवबाट सिक्नुपर्ने महत्त्वपूर्ण पाठबारे विश्लेषण गर्नुभयो ।
उहाँले बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाका बीच असंलग्नताको नीति र समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक राजनीतिक रूपरेखा प्रस्तुत गर्नुभयो।
सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋण कार्यक्रमका कडा सर्त र अनुशासनबीच जनपक्षीय विकासको वैकल्पिक मार्ग कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्नुभयो ।
विश्वप्रसिद्ध मार्क्सवादी लेखक, इतिहासकार तथा ‘ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च’ का संयोजक विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई एउटै साम्राज्यवादी संरचनाका परस्पर सम्बन्धित अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे विस्तृत धारणा राख्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुनेछ। सम्मेलनका क्रममा श्रीलंकामा रहनुभएका प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेतासँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको साइडलाइनमा उहाँले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकबाट सहभागी शीर्ष वामपन्थी नेतासँग पनि भेटवार्ता गर्नुभएको छ ।
यस्तै, सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गर्नुभएको आयोजकले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर