पाल्पा । कालीगण्डकी करिडोर क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको लामो र कठिन यात्राको समस्या अहिले धेरै ठाउँमा कम भएको छ । कालीगण्डकी करिडोर सडक ट्रयाक खुलेपछि पहिले चार दिन लाग्ने यात्रा चार घण्टामै पूरा गर्न सकिने भएको हो ।
राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी सरकारले प्राथमिकतामा राखेको ४ सय ४५ किलोमिटर करिडोर सडक निर्माणले गति लिएसँगै दुर्गम जिल्लाका बासिन्दालाई यातायातको सहज भएको छ ।
यसअघि सडक नहुँदा घटौं हिडेर सदरमुकाम र अज्य ठूला शहरमा जानुपर्थ्यो । तर सडक खुलेपछि यात्रा समय उल्लेख्य रूपमा घटेको छ । बिरामी, विद्यार्थी र दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत सहज भएको छ । पाल्पाको रम्भा गाउँपालिका –१ अर्सदीका ६८ वर्षीय जगन्नाथ अर्याललाई ६ घण्टा लगाएर तानसेन पुगेको याद ताजै छ । स्कुल पढ्दा पैदलै हिडेर सदरमुकाम तानसेन गएको उहाँ सम्झन्नुहुन्छ । अर्यालल भन्नुहुन्छ “गाडी चढेर जानु परे घरबाट ४ घण्टा पैदल हिडेर छर्दी खोला तरेर मालुङ्गा हुँदै गल्याङ्ग पुग्थ्यौ, त्यहाँबाट गाडी चढेर बल्ल तानसेन जान्थ्यौ ।” डेढ दशक अघिसम्म बुटवल, पोखरा जानु परे ४/५ दिन लगाएर जानुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।
अर्याल भन्नुहुन्छ,“पहिले त निकै कष्ट थियो । अहिले त डेढ घण्टामै तानसेन, ३/४ घण्टामै पोखरा पुग्न सकिने भयो ।” अर्याल यतिबेला आफ्नै आँगनमा सररर्र गाडीबाटै ओर्लनुहुन्छ । “आफ्नै घर आँगनबाट मोटर गुड्ला र बस चढेर तानसेन, काठमाडौं, बुटवल, पोखरा पुगिएला भन्ने कल्पना नै थिएन” उहाँ भन्नुहुन्छ । अहिले सवारी साधनमै चढेर तानसेन, बुटवल, पोखरा, काठमाडौं पुग्न पाउँदा धेरै सहज भएको छ । ४/५ दिन हिँडेर जानुपर्ने बाध्यता अहिले हटेको उहाँले बताउनुभयो । रामपुर नगरपालिका– १० दुर्गा मन्दिर टोलका उपेन्द्र अधिकारी पनि ५ घण्टा लगाएर नुन, तेज लिन गल्याङ्ग पुग्ने गरेको स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ “हाम्रो बुवा, हजुर बुवाहरु नुन लिन ३/४ दिन लगाएर बुटवल जानुहुन्थ्यो पछि गल्याङ्गसम्म आउन थालेपछि हामीहरु ५ घण्टा पैदल हिडेर जान्थ्यौं तर अहिले त्यो अवस्था छैन ।” केही वर्षअघिसम्म बिहानै घरबाट निस्किएका स्थानीय साँझसम्म पनि बजार पुग्न सक्दैनथे । बिरामीलाई डोकोमा बोकेर उकालो–ओरालो हिँड्नुपर्ने बाध्यता थियो । किसानले उत्पादन गरेका सुन्तला, तरकारी र अदुवा गाउँमै कुहिन्थ्यो । तर आज त्यही गाउँमा गाडीको आवाज सुनिन्छ, एम्बुलेन्स पुग्छ, उत्पादन सिधै बजारसम्म जान्छ ।
“हामीलाई बजार जान चार/ पाँच घण्टा लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो,” रम्भा हुँगीका ७० वर्षीय कमल भण्डारीले भन्नुभयो, “अहिले त सहर जान कुनै दुःख छैन । २/ ३ घण्टामै बजार गएर आउने गरिन्छ ।” आफुले निकै दुख गरे पनि अहिले छोरा नातीहरुका लागि सहज भएको उहाँ सुनाउनुहुन्छ । “हेर्दा हेर्दै, देख्दा देख्दै परिवर्तन हुँदा सपना जस्तै लाग्दछ । हिजो त गेझा हुँगी, खालीवन फोक्सिङकोट क्षेत्रका जनता आफ्नै जिल्लाको सदरमुकाम जानुपर्दा स्याङ्जाको गल्याङ्गसम्म पैदल, त्यसपछि बस चढेर जानु पर्ने बाध्यता थियो । जिल्ला प्रशासन कार्यालयमा नागरिता बनाउन होस् या राहदानी बनाउन होस्, मालपोत, नापी कार्यालयमा पुगेर काम सक्न कठिन हुन्थ्यो । बास बस्नुपर्ने बाध्यता थियो । अब ति दिनका कुरा गर्दा अहिलेकालाई कथा जस्तै लाग्छ” भण्डारीले भन्नुभयो ।
यो परिवर्तनको प्रमुख आधार बनेको छ कालीगण्डकी करिडोर । कालीगण्डकी करिडोर निर्माण भएपछि अर्याल, अधिकारी र भण्डारीको यात्रा मात्र होइन यस क्षेत्रका सयौं नागरिकलाई समेत सहज भएको छ ।
करिडोर सडक ट्रयाक खुलेपछि अहिले धेरै खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । जसले गर्दा कतिपय स्थानमा नयाँ सहर बसेको छ भने दुर्गमका बस्तीलाई करिडोरसम्म जोडेपछि यात्रा सहज बनेको छ । पाल्पाको राम्दीदेखि रानीमहल १७ किलोमिटरबाहेक अन्यत्र सडक ग्राभेल छ । झन्डै २ सय ५० किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ । सडकको स्तरोन्नतिसँगै कृषिउपज उत्पादन गर्ने, शिक्षा, स्वास्थ्यको पहुँचमा सहज भएको छ । कालीगण्डकी नदीको छेउ हुँदै रेखांकन गरिएको सडक आसपास नयाँ बस्ती समेत विस्तार भएका छन् । गण्डकी प्रदेशको पूर्वी नवलपरासीबाट सुरु भएर लुम्बिनीको पाल्पा, गुल्मी, पुनः गण्डकीकै बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्म करिडोर अन्तर्गत सडक निर्माण भएको छ ।
पाल्पा मात्रै होइन, कालीगण्डकी करिडोरको र्ट्याक खुलेर स्तरोन्नति भएसँगै गुल्मीको पूर्तिघाटदेखि बाग्लुङको मालढुंगासम्म दर्जनौँ व्यवसाय सञ्चालन भएका छन् भने सडकआसपासमा नयाँ बस्ती विकास भएको स्थानीय पुरन रास्कोटी बताउँनुहुन्छ । प्रसिद्ध धार्मिकस्थल देवघाटदेखि मुक्तिनाथसम्म जोड्ने परिकल्पना अनुरुप कालीगण्डकी नदीको किनारै किनार कालीगण्डकी करिडोर निर्माण भएपछि पूर्वी नवलपरासी, चितवन, तनहुँ, पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, म्याग्दी, बाग्लुङ, मुस्ताङ सम्मका लाखौ जनतासँग प्रत्यक्ष रुपमा जोडिन पुगेको छ । दक्षिणी मुलुकदेखि उत्तरी मुलुकसम्म जोड्ने सबैभन्दा कम दूरी मानिने कालीगण्डकी करिडोर २०६५ सालबाट सुरु भएको हो । कालीगण्डकी करीडोरको पूर्वी नवलपरासीमा ८७ किलोमिटर, पाल्पामा ७८, गुल्मीमा ४२, बाग्लुङमा ३८, पर्वतमा १३, म्याग्दीमा ४२ र मुस्ताङमा १४७ किलोमिटर पर्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर