काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढी, पहिरो र हिलोका कारण देशका विभिन्न क्षेत्रमा छ वटा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार साँझसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै गत जेठ २२ गतेदेखि बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सवारी सञ्चालन हुँदै आएको छ।
यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग गत असार २३ गतेदेखि सडक हिलोका कारण पूर्ण रूपमा अवरुद्ध छ।
त्यसैगरी, अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोला क्षेत्रमा सडकमाथिबाट ढुङ्गा खसेपछि सालझन्डी–ढोरपाटन सडक गत असार २८ गतेदेखि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग असार ३१ गतेदेखि अवरुद्ध छ। त्यस्तै, शुक्रबार भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकु क्षेत्रमा ढुङ्गा, माटो र लेदो खसेपछि सोही राजमार्गको अर्को खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।
यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च रहेकाले यात्रा अघि सम्बन्धित सडकको अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर