हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अभियानअन्तर्गत उल्लेखनीय सुधारका कार्यक्रम कार्यान्वयन गरेको छ। पछिल्लो आठ महिनामा कार्यालयले ३५ वटा आधुनिक सीसी क्यामेरा जडानदेखि एकीकृत सेवा केन्द्र सञ्चालनसम्मका विभिन्न सुधारात्मक कार्य सम्पन्न गरेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार कार्यालयको सुरक्षा सुदृढ पार्नुका साथै सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले ३५ वटा आधुनिक सीसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइएको हो। यसअघि जडान गरिएका ६ वटा सीसी क्यामेरा निष्क्रिय रहेकाले कार्यालयकै आन्तरिक स्रोत परिचालन गरेर नयाँ प्रणाली स्थापना गरिएको उहाँले बताउनुभयो।
२०८२ साल कार्तिकमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेयता कार्यालयको सेवा प्रणाली र भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार गरिएको उहाँको भनाइ छ।
कार्यालयका प्रशासकीय अधिकृत सरोज पौडेलका अनुसार यस अवधिमा सुशासन पार्क निर्माण, राष्ट्रिय परिचयपत्र सेवाका लागि पाँच कोठे छुट्टै भवन, वातानुकूलित (एसी) प्रतीक्षालय, एकीकृत सेवा केन्द्र, नागरिक सहायता कक्ष, टोकन प्रणाली, प्रोजेक्टर, व्यवस्थित पार्किङ, कार्यालय परिसरको सरसफाइ, सेवाग्राहीमैत्री शाखा व्यवस्थापन, शुद्ध खानेपानीका लागि युरोगार्ड, निःशुल्क फाराम भर्ने सेवा तथा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याइएको छ।
यसका अतिरिक्त कार्यालयको पर्खाल मर्मतसहित अन्य आवश्यक पूर्वाधार सुधारका काम पनि सम्पन्न गरिएको कार्यालयले जनाएको छ। यी सुधारले जिल्ला प्रशासन कार्यालयको समग्र सेवा प्रणालीमा सकारात्मक परिवर्तन आएको दाबी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले आगामी दिनमा पनि सेवाग्राहीलाई अझ प्रभावकारी र सहज सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने बताउनुभयो। उहाँका अनुसार होटल, यातायात कार्यालय, बजारलगायत विभिन्न क्षेत्रको नियमित अनुगमनलाई पनि प्राथमिकतामा राखिएको छ। अनुगमनका क्रममा आवश्यकताअनुसार जरिवाना, चेतावनी तथा कानुनबमोजिम कारबाहीसमेत गरिएको उहाँले जानकारी दिनुभयो।
सेवाग्राहीहरूले पनि कार्यालयमा भएको सुधारको सकारात्मक अनुभव सुनाएका छन्। पहिले पर्याप्त प्रतीक्षास्थल नहुँदा वृद्धवृद्धासहितका सेवाग्राहीले भर्याङ र पेटीमा बसेर पालो कुर्नुपर्ने अवस्था रहेकोमा अहिले वातानुकूलित प्रतीक्षालयमा सहज रूपमा सेवा लिन पाएको उनीहरूको भनाइ छ।
त्यस्तै, एउटै कामका लागि विभिन्न शाखामा धाउनुपर्ने झन्झट हटेर अधिकांश सेवा एकीकृत सेवा केन्द्रमार्फत उपलब्ध हुन थालेपछि सेवा प्रवाह छिटो, व्यवस्थित र सेवाग्राहीमैत्री बनेको सेवाग्राहीहरूले बताएका छन्।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर