भक्तपुर। मध्यपुर थिमी नगरपालिकाले स्थानीय सरकारमार्फत भूमि प्रशासन सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। सेवा सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे तथा अमिनसहितको टोलीले स्थानीय तहबाट पहिलो पटक भूमि प्रशासन सेवा सञ्चालन गरेको कागेश्वरी मनोहरा नगरपालिकाको अध्ययन भ्रमण आज गरेको हो।
भ्रमणका क्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की तथा सम्बन्धित कर्मचारीसँग भूमि प्रशासन सेवा सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, कार्यप्रक्रिया, प्राविधिक प्रणाली, सेवा प्रवाहको अभ्यास तथा कार्यान्वयनका क्रममा हासिल भएका अनुभवबारे विस्तृत छलफल गरिएको थियो। अध्ययन टोलीले सेवा सञ्चालनका क्रममा अपनाइएका प्रभावकारी अभ्यास, देखिएका चुनौती तथा तिनका समाधानका उपायबारे जानकारी लिँदै मध्यपुर थिमीमा सेवा विस्तारका लागि आवश्यक अनुभव संकलन गरेको जनाएको छ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय सरकारबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउने विषय नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै अध्ययन भ्रमणबाट प्राप्त अनुभवले सेवा सञ्चालनलाई अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा प्रवाह हुँदा नागरिकले अनावश्यक झन्झट र समयको बचत गर्न सक्ने उल्लेख गर्नुभयो।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले नागरिकलाई सहज, छिटो, पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सफल अभ्यास भएका स्थानीय तहबाट सिकाइ लिँदै आवश्यक तयारीलाई तीव्र बनाइएको बताउनुभयो। उहाँले भूमि प्रशासन सेवा स्थानीय सरकारबाट सञ्चालन हुँदा सेवाप्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच, नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले भूमि प्रशासन सेवा सञ्चालनका लागि आवश्यक प्रशासनिक, प्राविधिक तथा संस्थागत तयारी अघि बढिरहेको जानकारी दिनुभयो। अध्ययन भ्रमणबाट प्राप्त अनुभवलाई कार्यान्वयनमा उपयोग गर्दै सेवा सञ्चालनका लागि बाँकी प्रक्रिया समयमै पूरा गरिने उहाँको भनाइ छ।
नगरपालिकाले भूमि प्रशासन सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ। सेवा सञ्चालनमा आएपछि जग्गा दर्ता, अभिलेख व्यवस्थापन तथा अन्य भूमि प्रशासनसम्बन्धी सेवाका लागि नागरिकले स्थानीय तहबाटै सहज रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र नागरिकमुखी बनाउने नगरपालिकाको विश्वास रहेको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर