नयाँदिल्ली । भारतले पहिलो निजीरूपमा विकसित कक्षीय-श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ । चन्द्रमा, मङ्गल र सूर्यसम्म सफल अन्तरिक्ष अभियान सञ्चालन गरिसकेको भारतले अब निजी क्षेत्रको तीव्र सहभागितासँगै विश्व अन्तरिक्ष उद्योगमा आफ्नो प्रभाव अझ विस्तार गर्ने रणनीति अघि बढाएको छ ।
भारतीय कम्पनी स्काइरुट एरोस्पेसले आगामी अगस्ट ४ भित्र ‘विक्रम-१’ रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । यो भारतमै निजी क्षेत्रले विकास गरेको पहिलो कक्षीय–श्रेणीको रकेट हुनेछ । यसले साना उपग्रहलाई पृथ्वीको तल्लो कक्षामा पुर्याउने लक्ष्य राखेको छ । भारतीय अन्तरिक्ष विभागले यसलाई गहिरो अन्तरिक्ष अन्वेषण, मानव अन्तरिक्ष उडान र कक्षीय पूर्वाधार विस्तारतर्फको महत्त्वपूर्ण उपलब्धि हुने जनाएको छ ।
सन् २०२० मा अन्तरिक्ष क्षेत्र निजी लगानीका लागि खुला गरेयता भारतको आठ अर्ब ४० करोड अमेरिकी डलर बराबरको अन्तरिक्ष अर्थतन्त्रले तीव्र विस्तार गरेको छ । हाल देशमा ४०० भन्दा बढी अन्तरिक्ष स्टार्टअप सक्रिय छन् । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)सँग सहकार्य गर्ने धेरै सरकारी तथा निजी कम्पनीले रक्षा क्षेत्रमा पनि काम गरिरहेका छन् र यसले अन्तरिक्ष र सुरक्षाबिचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ ।
भारतले अन्तरिक्ष अन्वेषणमा उल्लेखनीय उपलब्धि हाँसिल गरिसकेको छ । सन् २०१४ मा भारत मङ्गल ग्रहको कक्षामा अन्तरिक्ष यान पुर्याउने पहिलो एसियाली राष्ट्र बनेको थियो । चन्द्रयान कार्यक्रम अन्तर्गत सन् २००८ को चन्द्र अर्बिटर, सन् २०१९ को असफल अवतरण प्रयास र सन् २०२३ को सफल रोभर अवतरणपछि भारत चन्द्रमामा सफलतापूर्वक मानवरहित यान अवतरण गर्ने विश्वको चौथो देश बनेको थियो ।
सन् २०२७ मा चन्द्रयान-४ मार्फत चन्द्रमाबाट नमूना पृथ्वीमा ल्याउने तथा सन् २०२८ मा शुक्र ग्रहको कक्षामा अन्तरिक्ष यान पठाउने योजना रहेको छ । ‘आदित्य’ सौर्य अभियानले सूर्यको बाहिरी तह र अन्तरिक्ष मौसमबारे अध्ययन गरिरहेको छ । इसरोको प्रविधि प्रयोग गरेर भारतले गहिरो समुद्री स्रोतको अध्ययनका लागि ‘मत्स्य’ नामक पनडुब्बी परियोजना पनि अघि बढाइरहेको छ ।
उपग्रह प्रक्षेपणमा पनि भारतले लागत-प्रभावकारी राष्ट्रको पहिचान बनाएको छ । इसरोले हालसम्म ४३० भन्दा बढी विदेशी तथा १४४ भन्दा बढी स्वदेशी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिसकेको छ र यसबाट ६० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी भएको छ । श्रीहरिकोटास्थित प्रक्षेपण केन्द्र विस्तार भइरहेका बेला तमिलनाडुको कुलसेकरपट्टिनममा दोस्रो स्पेसपोर्ट निर्माणाधीन छ । रासस/एएफपी






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर