काठमाडौं । विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीप्रतिको सम्मान र आकर्षण केवल फुटबल समर्थकमाझ मात्र सीमित छैन। विश्व खेलकुदका अन्य महान् हस्तीहरूले पनि उहाँसँग भेट्ने अवसरलाई विशेष क्षणका रूपमा लिएका छन् ।
फिफा विश्वकप २०२६ को फाइनलअघि अमेरिकामा आयोजित फ्यानाटिक्स फेस्टमा मेस्सी आकर्षणको केन्द्र बन्नुभयो । कार्यक्रममा अमेरिकी फुटबलका महान् खेलाडी टम ब्राडी, टेनिसका कीर्तिमानी नोभाक जोकोभिच र एनबीएका सुपरस्टार केभिन डुरान्ट एउटै मञ्चमा उपस्थित हुनुहुन्थ्याे । कार्यक्रमको अन्त्यमा उहाँहरूले मेस्सीसँग सामूहिक सेल्फीसमेत खिचाउनुभयो ।
फिफाले यसपटक परम्परागत पत्रकार सम्मेलनको सट्टा न्यूयोर्कमा आयोजित चारदिने फ्यानाटिक्स फेस्टलाई विश्वकप फाइनलको पूर्वावलोकन कार्यक्रमका रूपमा आयोजना गरेको थियो। कार्यक्रममा सयौँ समर्थकले मेस्सीलाई प्रत्यक्ष देख्ने अवसर पाए ।
फाइनलअघि आयोजित कार्यक्रममा छोटो प्रतिक्रिया दिँदै मेस्सीले भन्नुभयो, “हामी आफ्नो सम्पूर्ण शक्ति लगाउनेछौँ।”
पत्रकार होइन, विश्वप्रसिद्ध खेलाडीले नै सोधे प्रश्न
यसपटकको कार्यक्रममा अर्को विशेषता भनेको पत्रकारको सट्टा विश्वप्रसिद्ध खेलाडीहरूले नै प्रश्न सोध्नु थियो।
टम ब्राडीले स्पेनका युवा स्टार लामिन यामाल सानो हुँदा मेस्सीले नुहाइदिएको चर्चित तस्बिरबारे प्रश्न गर्नुभयो । त्यसको जवाफमा मेस्सीले मुस्कुराउँदै, “कस्तो अनौठो तस्बिर !” भन्नुभयो।
नोभाक जोकोभिचले अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीसँग ठूलो प्रतियोगिताको दबाब कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रश्न गर्नुभयो। त्यसपछि उहाँले मेस्सीसँग पनि सोही विषयमा जिज्ञासा राख्नुभयो। मेस्सीको जवाफपछि जोकोभिचले “ग्रासियास, लियो” भन्दै धन्यवाद दिनुभयो ।
त्यसपछि जोकोभिचले स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्ते र कप्तान रोड्रीसँग निर्णायक क्षणमा कसरी शान्त रहने भन्ने विषयमा प्रश्न गर्नुभयो । यस्तै, केभिन डुरान्टले अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजसँग लगातार दोस्रो विश्वकप जित्नुको महत्त्वबारे जिज्ञासा राख्नुभयो।
रोड्रीले गर्नुभयो मेस्सीको प्रशंसा
स्पेनका कप्तान रोड्रीले मेस्सीको प्रशंसा गर्दै भन्नुभयो, “अर्जेन्टिनाका लागि मेस्सीको महत्त्व शब्दमा बयान गर्न सकिँदैन। मेरो विचारमा उहाँ सर्वकालीन महान् खेलाडी हुनुहुन्छ।”
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फाइनलसम्म पुग्ने क्रममा कठिन यात्रा तय गरेको छ। अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गरेको थियो। सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध पनि पुनरागमन गर्दै टोली फाइनलमा पुगेको हो।
टोलीको संघर्षबारे मेस्सीले भन्नुभयो, “हामी कहिल्यै लड्न छाड्दैनौँ।”
मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पनि फाइनललाई सामान्य खेलकै रूपमा लिनुपर्ने बताउनुभयो।
“हाम्रो लागि यो अर्को एउटा खेल मात्रै हो। विश्वकप फाइनल हो भन्ने सोचमै धेरै अल्झिनु हुँदैन,” उहाँले भन्नुभयो।
इतिहास रच्ने अवसर
कार्यक्रमको अन्त्यमा मेस्सी मञ्चबाट बाहिरिने क्रममा विश्वकप ट्रफीतर्फ केही क्षण हेर्नुभएको दृश्यले उपस्थित समर्थकको ध्यान तानेको थियो। अब आइतबार न्यु जर्सीको इस्ट रदरफोर्डमा अर्जेन्टिना र स्पेनबीच विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।
यदि अर्जेन्टिनाले उपाधि जितेमा सन् १९५८ र १९६२ पछि लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्ने अवसर पाउनेछ। साथै, मेस्सीले आफ्नो गौरवपूर्ण करियरमा अर्को ऐतिहासिक उपलब्धि थप्ने अवसर पनि प्राप्त गर्नुहुनेछ।
अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले टोली देशलाई पुनः विश्वकप उपहार दिन पूर्ण रूपमा तयार रहेको बताउनुभयो।
“हामीसँग देशलाई खुसी दिन दिनरात मेहनत गर्ने खेलाडी र प्रशिक्षकहरूको समूह छ। मेस्सी र सम्पूर्ण टोलीसँग मिलेर विश्वकप फेरि अर्जेन्टिनामा ल्याउन तथा समर्थकसँग खुसी साट्न हामी आफ्नो शतप्रतिशत दिनेछौँ,” उहाँले भन्नुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर