हेटौंडा । बागमती प्रदेश सरकारमा नेकपा एमालेका ६ जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता साझेदारी अन्त्य भएसँगै प्रदेश सरकारबाट पनि एमाले बाहिरिने निर्णय गरिएको हो ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीको निर्णयअनुसार सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको जानकारी दिनुभयो । उहाँकाअनुसार राजीनामा आज वा भोलि बुझाउने भन्ने विषय सम्बन्धित मन्त्रीहरूको निर्णयमा निर्भर रहनेछ ।
उहाँले भन्नुभयो, "मैले राजीनामा दिन निर्देशन दिएको छु । अब उहाँहरूले आज बुझाउनुहुन्छ कि भोलि, त्यो उहाँहरूको विषय हो ।"
यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए । तर पार्टीको केन्द्रीय निर्देशन नआएकाले उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको थियो । पछिल्लो राजनीतिक निर्णयसँगै प्रदेश सरकारबाट बाहिरिने प्रक्रिया अघि बढाइएको एमाले स्रोतले जनाएको छ ।
हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ सहभागी हुनुहुन्छ ।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने वा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने विषय आगामी राजनीतिक छलफल र दलहरूको निर्णयले टुंगो लगाउने छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर