काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज र भोलि (आइतबार) कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना छ। साथै देशका अधिकांश हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुने अनुमान गरिएको छ।
प्राधिकरणले अत्यधिक वर्षासँगै आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको सवारी सञ्चालन गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ। उहाँले जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न तथा पूर्वसूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र खोला किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गर्दै विपद्सम्बन्धी सूचना तथा आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायका हटलाइन सेवाको उपयोग गर्न अनुरोध गरेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि आग्रह गरिएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर