काठमाडौं । नागढुङ्गा सुरुङमार्गबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शनिबार ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ कार्यक्रम आयोजना गरिएको छ।
सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले निर्माण सम्पन्नतर्फ उन्मुख नागढुङ्गा सुरुङमार्गमा दौड तथा पदयात्रा गरेका थिए।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले सुरुङमार्गको महत्व, उपयोगिता र सञ्चालनबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँका अनुसार नागढुङ्गा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ। साउन महिनाभित्रै सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो।
सुरुआती ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ अप्रिल २६ भित्र सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती तथा स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन।
आयोजनाका अनुसार काठमाडौं प्रवेश तथा बाहिरिने प्रमुख नाका नागढुङ्गा–नौबिसे सडकखण्ड हुँदै दैनिक दुई पाङ्ग्रे बाहेक औसत आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे यात्रा सहज, सुरक्षित र छोटो हुने अपेक्षा गरिएको छ। यद्यपि आयोजनाका अनुसार दुई पाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर