काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले बृहत् एकता महाधिवेशनको म्यान्डेटअनुसार आईसीसीलाई पूर्णता दिइएको र अब संघले आफ्ना प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुने बताउनुभएको छ।
शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा अध्यक्ष शर्माले गत मार्चमा सम्पन्न बृहत् एकता महाधिवेशनपछि सुरुमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूबीच एकता कायम गर्न प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। उहाँका अनुसार केही ढिलाइ भए पनि अमेरिकासहित अधिकांश एनसीसीहरू अहिले एकताको दिशामा अघि बढिसकेका छन्।
उहाँले आईसीसीको पूर्णता र एनसीसीहरूबीच समझदारी कायम भएसँगै संघ अब संस्थागत प्रतिबद्धता कार्यान्वयनमा पूर्ण रूपमा केन्द्रित हुने स्पष्ट पार्नुभयो।
अध्यक्ष शर्माका अनुसार आगामी अगस्ट महिनामा चीन र आयरल्यान्डमा आयोजना हुने क्षेत्रीय सम्मेलन संघका प्रमुख कार्यक्रम हुनेछन्। ती सम्मेलनमार्फत गैरआवासीय नेपालीहरूको नागरिकताको निरन्तरता र नेपालमा सामूहिक लगानी प्रवर्द्धन जस्ता विषयमा राज्यसमक्ष सकारात्मक दबाब सिर्जना गर्ने रणनीति संघले लिएको छ।
संस्थालाई थप मर्यादित, समावेशी र व्यावसायिक बनाउन यसपटक पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको मनोनयनमा नयाँ र कडा मापदण्ड अपनाइएको पनि उहाँले बताउनुभयो।
उहाँका अनुसार दोस्रो पुस्ताका युवा, विभिन्न क्षेत्रका दक्ष विज्ञ तथा नयाँ अनुहारलाई विशेष प्राथमिकता दिइएको छ। संस्थामा दलगत राजनीतिको प्रभाव कम गर्न भ्रातृ संगठनका बहालवाला पदाधिकारीलाई मनोनयन नगरिएको र निष्पक्षता कायम गर्न वर्तमान पदाधिकारीका निकट परिवारका सदस्यलाई पनि समावेश नगरिएको उहाँले जानकारी दिनुभयो।
त्यसैगरी, विवाद तथा प्रहरी मुद्दामा परेका वा संघप्रति तिर्नुपर्ने बक्यौता रकम नतिरेका व्यक्तिलाई मनोनयन सूचीमा नराखिएको अध्यक्ष शर्माले उल्लेख गर्नुभयो। नयाँ नेतृत्वलाई अवसर दिने नीतिअनुसार यसअघि मनोनित भइसकेका व्यक्तिहरूलाई नदोहोर्याइएको र बृहत् एकताको भावनाअनुसार सबै पक्षलाई समेट्ने प्रयास गरिएको उहाँको भनाइ छ।
अध्यक्ष शर्माका अनुसार सल्लाहकार समितिमा करिब ४० प्रतिशत विज्ञ तथा सामाजिक व्यक्तित्व र ६० प्रतिशत संस्थामा लामो समय योगदान दिएका अभियन्तालाई समेटिएको छ। त्यस्तै, मनोनित आईसीसी सदस्यमध्ये ५० प्रतिशत स्थान महिला, दोस्रो पुस्ताका युवा तथा विज्ञहरूका लागि सुनिश्चित गरिएको उहाँले बताउनुभयो।
उहाँले संघको विधान, आईसीसीको ११५औँ बैठकको म्यान्डेट तथा संस्थाको लामो अनुभवका आधारमा निर्णय गरिएको उल्लेख गर्दै कार्यान्वयनका क्रममा कुनै कमजोरी देखिए आवश्यकताअनुसार सुधार गर्न सकिने पनि स्पष्ट पार्नुभयो।
मनोनयनका क्रममा विभिन्न मापदण्ड र सन्तुलन मिलाउनुपर्ने अवस्थाका कारण संस्थामा योगदान दिएका केही योग्य व्यक्तिहरू यसपटक छुट्न गएको स्वीकार गर्दै अध्यक्ष शर्माले आगामी दिनमा उहाँहरूलाई संघका अन्य उपयुक्त र गरिमामय जिम्मेवारीमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर