काठमाडौं । राप्रपाका संस्थापक वरिष्ठ नेता, पूर्वमन्त्री, अग्रज राजनीतिक व्यक्तित्व फत्तेह सिंह थारुको ८७ वर्षको उमेरमा निधन भएको छ । नेपालगञ्जको घरवारीटोलस्थित निवासमा ह्दयघात भइ उपचारका लागि वेस्टर्न अस्पताल लगिएकोमा उहाँको बिहिबार निधन भएको हो ।
उहाँको अन्तिम दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाट गरिएको थियो । उहाँका दुई श्रीमती, चार छोराछोरी हुनुहुन्छ । स्व. थारु बाँके जिल्ला मात्र नभएर नेपालकै राजनीतिको एक चीरपरिचित व्यक्तित्व हुनुहुन्थ्यो ।
पञ्चायतकालमा उहाँ २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुनुभयो भने बहुदलीय व्यवस्थामा २०५१ मा बाँके ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो । पञ्चायत र बहुदलीय कालमा गरि उहाँ शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग र वाणिज्य लगायत सातपटक मन्त्री हुनुभयो । नेपालगञ्जका साहित्यकार खगेन्द्र गिरि कोपिलाका अनुसार पश्चिम नेपालको थारु समुदायबाट एमए डिएफए गर्ने र तराईमुलको समुदायबाट नेपालको रक्षामन्त्री हुने पहिलो व्यक्ति पनि हुनुहुन्थ्यो ।
उहाँले पञ्चायतकालमा २०२३ मा बाँकेको हस्नापुर गाउँ पञ्चायतको प्रधानपञ्च भएर राजनीति आरम्भ गर्नुभएको थियो । तीन पटक बाँके जिल्ला पञ्चायतको सभापति र एक पटक गाउँफर्क राष्ट्रिय अभियान केन्द्रिय समितिको सदस्य पनि हुनुभएको थियो । विक्रम संवत् १९९६ सालमा बाँकेको थपुवा गाउँ हाल बैजनाथ गाउँपालिकामा थारु जमिनदार परिवारमा उहाँको जन्म भएको थियो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर