भोजपुर । भोजपुर प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा गाँजा खेती तथा कारोबारविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत पाँचवटा मुद्दा दर्ता गर्दै १४ जनालाई पक्राउ गरेको जनाएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले लागूऔषध नियन्त्रण ऐनअनुसार नेपालमा गाँजा खेती अवैध रहेकाले जिल्लाभर गाँजा नष्ट अभियानलाई निरन्तरता दिइएको जानकारी दिनुभयो।
उहाँका अनुसार गत आर्थिक वर्षमा प्रहरीले एक लाख ३९ हजार १३५ बोट गाँजा फडानी गरेको छ। साथै एक हजार ५५६ किलो ४६ ग्राम तयारी गाँजा बरामद गरी नष्ट गरिएको छ।
डीएसपी लामाले आर्थिक वर्ष २०८१/८२ मा भोजपुर प्रहरीले केवल १६ किलो बेवारिसे गाँजा बरामद गरेको उल्लेख गर्दै यस वर्ष गाँजा नियन्त्रण अभियान प्रभावकारी बनेको दाबी गर्नुभयो।
उहाँका अनुसार पक्राउ परेकामध्ये तीन जना गाँजा उत्पादन, प्रशोधन (प्याकिङ) तथा बिक्रीमा संलग्न रहेका छन् भने ११ जना ओसारपसार र भण्डारणमा सहयोग गरेको आरोपमा पक्राउ परेका हुन्। सबैलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
डीएसपी लामाले लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा उत्पादन तथा खेती अवैध भएकाले कृषकलाई वैकल्पिक खेतीतर्फ आकर्षित हुन आग्रह गर्नुभयो।
भोजपुरको हतुवागढी र आमचोक गाउँपालिका क्षेत्रमा गाँजा खेती हुने गरेको भन्दै प्रहरीले ती क्षेत्रमा विशेष निगरानीका साथ गाँजा फडानी अभियानलाई अझ तीव्र बनाएको जनाएको छ। साथै आगामी दिनमा पनि अभियानलाई निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर