रङले बोल्न सक्छ, शब्दले चित्र कोर्न सक्छ र स्वरले भावनाको आकृति बनाउन सक्छ भन्ने सत्यलाई आफ्नो सिर्जनात्मक जीवनबाट प्रमाणित गर्ने युवा स्रष्टा हुनुहुन्छ जीवित खड्का मगर । एक कुशल चित्रकार, गीतसंगीतका साधक र संवेदनशील कविका रूपमा उहाँले नेपाली कला-साहित्यको आकाशमा आफ्नै विशिष्ट परिचय निर्माण गर्नुभएको छ । प्रतिभा, परिश्रम र निरन्तर साधनाको त्रिवेणीले उहाँलाई समकालीन सिर्जनात्मक जगत्का बहुआयामिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ । उच्चकोटिका चित्रकारका रूपमा परिचित जीवित खड्का मगरले चित्रकलाका विविध माध्यममा उल्लेखनीय साधना गर्नुभएको छ । तथापि, विख्यात तथा विशिष्ट व्यक्तित्वहरूको मुहारचित्र (पोर्ट्रेट) सिर्जनामा उहाँले हासिल गर्नुभएको अद्वितीय दक्षताले उहाँलाई विशेष उचाइमा पुर्याएको छ । उहाँका कुचीबाट जन्मिएका पोर्ट्रेटहरू केवल अनुहारका प्रतिरूप होइनन्, ती व्यक्तित्वका भावना, स्वभाव र जीवन्त उपस्थितिका कलात्मक दस्तावेज हुन् । त्यसैले उहाँका सिर्जनाले दर्शकलाई मन्त्रमुग्धमात्र बनाएका छैनन्, आफ्नै मुहारलाई उहाँको कुचीमा अमर बनाउन चाहने नेपाली सेलिब्रेटीहरूको लामो पंक्ति पनि सिर्जना गरेका छन् । बहुप्रतिभाशाली स्रष्टा जीवित खड्का मगर अहिले संयुक्त अरब इमिरेट्समा कार्यरत हुनुहुन्छ । परदेशमा कर्म गरिरहे पनि उहाँको मन भने सधैं मातृभूमिको भाषा, साहित्य र संस्कृतिसँग गाँसिएको छ । जीविकोपार्जनका लागि चित्रकला उहाँको पेशा बने पनि कविता उहाँको आत्माको स्वर हो र नेपाली भाषा-साहित्यको प्रवर्द्धन उहाँको जीवन-दर्शन । उहाँका प्रकाशन, साहित्यिक सक्रियता र सिर्जनात्मक प्रतिबद्धताले यही सत्यलाई उजागर गर्छन् । कवि जीवित खड्का मगरको पछिल्लो काव्यकृति ‘धागो’ पाठकमाझ छ । यो उहाँको तेस्रो कवितासंग्रह हो । यसअघि प्रकाशित ‘अनुभूतिका चर्चाहरू’ (विसं २०६०) र ‘ईश्वरको खेती’ (विसं २०७१)ले उहाँलाई समकालीन नेपाली कविताको संवेदनशील र मौलिक स्वरका रूपमा परिचित गराइसकेका छन् । ‘धागो’ले पनि जीवन, प्रेम, पीडा, स्मृति, समय र मानवीय सम्बन्धका सूक्ष्म अनुभूतिलाई गहिरो कलात्मक चेतनासहित अभिव्यक्त गरेको छ । चित्रकारमात्र होइन, हार्मोनियमका कुशल साधक पनि भएकाले उहाँका सिर्जनामा रङ, शब्द र स्वर एकअर्काका परिपूरक बनेर उपस्थित हुन्छन् । उहाँका कवितामा प्रकाश र छायाँको चित्रात्मकता, रङहरूको मनोविज्ञान, संगीतको लयात्मकता र बिम्बहरूको सौन्दर्य अद्भूत सामञ्जस्यका साथ झल्किन्छ । त्यसैले उहाँका कविता केवल पढिने होइनन् हेरिने, सुनिने र भित्रैसम्म अनुभूत गरिने कलात्मक अनुभव बन्छन् । जीवित खड्का मगरका सिर्जनाहरूले प्रमाणित गर्छन्, साँचो कलाकार कुनै एक विधामा सीमित हुँदैन, ऊ रङमा कविता लेख्छ, कवितामा चित्र कोर्छ र संगीतमा आत्माको स्पन्दन सुन्न सिकाउँछ । चित्र आँखाले हेर्ने कविता हो, र कविता मनले हेर्ने चित्र भएको धारणा राख्नुहुने स्रष्टा जीवित खड्का मगरसँग हिमालय टाइम्सको हिँड्दा-हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अशःं-
यहाँको हालै सार्वजनिक कविताकृति ‘धागो’ जसरी चर्चामा छ, यो धागोलाई मुष्ट रूपमा गाँसीसक्न कति समयावधि लाग्यो ?
मलाई ‘धागो’लाई मुष्ट रूपमा गाँस्न करिब एक दशक जस्तो समय लाग्यो ! किनभने म योजना बनाएर कविता लेख्नै सक्दिनँ । कहिलेकाही मस्तिष्कमा अकस्मात् बेतोड तुफान चल्छ, भित्रभित्र अशान्त मच्याउँछ, अन्तर्यमा बिचित्र तरिकाले बहुरूपी भावानुभूति सवार हुन्छ । त्यसबखत म स्वयं शब्दहरूमा परिणत हुन्छु र आफैंलाई एकएक गरेर कवितामा बटुल्छु । यसैकारण मेरो लेखनको यात्रा अलिक सुस्त हुनेगर्छ ।
नग्न आँखाले हेर्दा कविताले समाजलाई झट्ट परिवर्तन गरेको देखिँदैन र त्यस्तो सम्भव पनि छैन । यद्यपि कविताले परिवर्तनका लागि यथेष्ट आधार निर्माण गर्न विशेष भूमिका खेल्छ । कविता चेतनाको उपल्लो उपज हो र हरेक परिवर्तनको जग नै चेतना हो । यसर्थ सामाजिक धागोहरू जोड्न साथै त्यसमा भएका छिद्रहरू पुर्नका लागि कविताको भूमिकाले विशेष अर्थ राख्छ । अर्को कुरा समाजको धागो द्वन्द्वले चुँडिने हो । द्वन्द्व अज्ञानताले जन्मिने भएको हुनाले त्यहाँ कविताको उपस्थिति अर्थपूर्ण हुन्छ । किनकि कविताको स्रोत नै ज्ञान हो ।
एउटा कविको आँखाबाट नियाल्दा ठीक यतिखेर हामीले बाँचिरहेको समाजको धागो जोडिँदै गइरहेको देखिन्छ कि चुटिँदै गइरहेको ?
आजको समाजको धागो एकनासको छैन । जो चुटिँदैछ र जोडिँदै पनि । र, मानव सभ्यता रहँदासम्म यहीँ अवस्था रहिरहन्छ । प्रश्न, यो अवस्था हाम्रो कुन चेतना या कस्तो प्रवृत्तिसित जोडिएको छ ? भन्नेमा निहित छ । हामीसँग द्वेस, स्वार्थ, घृणा र अहंकारमात्रै छ भने त्यहाँनेर सामाजिक सद्भावको धागो चुँडिन्छ । यदि करुणा, सहअस्तित्व र विश्वास छ भने त्यही धागो फेरि अटुट गरी गाँसिन्छ ।
चुटिँदै गइरहेको समाजको धागोलाई पुनः सही ढंगले जोड्न अर्थात् सामाजिक परिवर्तनमा कविताको भूमिकाले अर्थ राख्छ कि राख्दैन ?
नग्न आँखाले हेर्दा कविताले समाजलाई झट्ट परिवर्तन गरेको देखिँदैन र त्यस्तो सम्भव पनि छैन । यद्यपि कविताले परिवर्तनका लागि यथेष्ट आधार निर्माण गर्न विशेष भूमिका खेल्छ । कविता चेतनाको उपल्लो उपज हो र हरेक परिवर्तनको जग नै चेतना हो । यसर्थ सामाजिक धागोहरू जोड्न साथै त्यसमा भएका छिद्रहरू पुर्न कविताको भूमिकाले विशेष अर्थ राख्छ । अर्को कुरा समाजको धागो द्वन्द्वले चुँडिने हो । द्वन्द्व अज्ञानताले जन्मिने भएको हुनाले त्यहाँ कविताको उपस्थिति अर्थपूर्ण हुन्छ । किनकि कविताको स्रोत नै ज्ञान हो ।
संग्रहभित्र थुप्रै ठाउँमा ईश्वरप्रति धारिलो कटाक्ष गर्नुभएको पाइयो नि ?
मैले मानिसहरूले ईश्वरको नाममा निर्माण गरेका भ्रम, पाखण्ड र त्यसले सिर्जना गरेको असमानताहरूमाथि प्रश्न गरेको हुँ । मेरो कटाक्ष प्रवृत्तिहरूमाथि हो, जसले थरीथरीका काल्पनिक ईश्वर निर्माण गरेर समाजमा अज्ञात भय फैलाउँदै आफ्नो स्वार्थ र प्रभुत्व बचाइरहेका छन्, तिनै कुराहरूबाट ग्रस्त हुन सदा अभिसप्त छौं हामी ।
सीमान्तकृत वर्ग, समुदाय र भूइँ मान्छेको दारुण कथालाई तपाइँ फूल जसरी कवितामा उन्नुहुन्छ र सत्तातिर फर्किएर हुँकार गर्नुहुन्छ । राज्यसत्तासँग एउटा कविको भावनात्मक दूरी किन सधैं टाढा हुन्छ ?
कविहरूको हेर्ने आँखा दृष्टिकोणमा हुन्छ । सुन्ने कान हृदयमा हुन्छ । बोल्ने आवाज र भाषा कवितामा हुन्छ । जसले सधैं सत्यको वकालत गर्छ । जो सधैं न्यायको पक्षमा हुन्छ । म आफैं पनि अन्यायमा पारिएका वर्ग समुदायको कवि हुनुको अर्थमा जहिले मैले भूइँ मान्छेको दारुण कथाहरूलाई कविताको विषय बनाए, सीमान्तकृत आवाजलाई कविताको मुद्दा बनाए । अफसोस ! सत्ताको इन्द्रीय अर्थात् संरचना अर्कै छ । मनोविज्ञान र उद्देश्य अर्कै छ । जसले सधैं शक्तिहीनहरूलाई निसाना बनाएर आफ्नो मकसत पूरा गर्ने हो । निमुखाहरूको आंसुमा राजनीति गरेर आफूलाई टिकाइराख्ने हो । निरंकुशता लादिरहने हो । यिनै ज्याजतीहरूको विरुद्धमा उभिने जोसुकै कविहरूसँग राज्यसत्ताको बीचको दूरी यसरी नै बढेर जाने हो ।
कविमात्रै नभएर तपाइँ एक सिद्धहस्त चित्रकार हुनुहुन्छ, हृदयको अभिव्यक्तिलाई आममानिसमा सुस्पष्ट बुझाउँन कविता कि चित्रकारिताको माध्यममार्फत सजिलो लाग्छ ?
चित्रकलाले आममानिसलाई तत्काल प्रभाव पार्छ, तर मनको गहिरो तहमा पुगेर संवेदना जगाउने र लामो समयसम्म प्रतिध्वनित भइरहने शक्ति भने कवितामै हो कि ? त्यसो हुनाले मेरा लागि चित्र आँखाले हेर्ने कविता हो, र कविता मनले हेर्ने चित्र ।
कविता र चित्रकारितामध्ये तपाइँ कुन विधामा बढी सन्तुष्ट हुनुहुन्छ ?
दुबै विधामा सन्तुष्ट छैन । धेरै साधना गर्न बाँकी छ । गर्न सकिरहेको छैन ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर