यस वर्ष श्रावणको आरम्भसँगै गुरु बृहस्पति (असार ३२ गते) अस्त भएका छन् । यसरी श्रावण महिनामा बृहस्पति अस्त भएको समयमा श्रावणका सोमवार गरिने व्रतका विषयमा पनि जिज्ञासा हुनु स्वाभाविक नै हो । मूलतः यसवर्षको श्राणमा सोमवासरीय व्रत बस्ने कि नबस्ने अनि नयाँ व्रतालुले व्रतआरम्भ गर्ने कि नगर्ने भन्ने विषयमा पनि प्रश्न उठ्न सक्छन् । यसैगरी बृहस्पति अस्त भएका समयमा के कस्ता कार्य गर्नशास्त्रले निषेध गरेको छ र के कस्ता कार्य गर्नु शास्त्रोक्त हो भन्ने विषयमा यो आलेखमा विमर्श रहनेछ ।
बृहस्पति अस्त रहँदा काम्य विशेष कर्म विवाह, व्रतबन्ध, विशेष यज्ञ अनुष्ठान आदि निषेध गरिएको छ । कर्म तीन प्रकारका हुन्छ : नित्य, नैमित्तिक र काम्य । मातापिताको गरिने श्राद्ध, दशैँ, तिहार, एकादशी जस्ता निश्चित दिन गरिने कार्य नित्य हुन् । नित्य कर्मका निम्ति कुनै साइत जुराउनु पर्दैन अर्थात् बृहस्पति अस्त हेरिरहनु पर्दैन । यसैगरी नैमित्तिक कर्म पनि यस समयमा गर्न सकिन्छ ।
गुरु/बृहस्पति अस्त भनेको के हो ?
हाम्रो दृष्टिबाट हराउनु अस्त हुनु हो । ग्रह हरेक दिन हाम्रो क्षितिजबाट उदित र अस्त भइरहेका हुन्छन् तर यो दैनिक उदयास्तलाई वास्ता नगरी सूर्यको निश्चित कालांशभित्र (सूर्यसिद्धान्त अनुसार ११ कालांशभित्र) बृहस्पति रहेको अवस्थामा अस्त मानिन्छ । सूर्य र बृहस्पति एउटै राशिमा अर्थात् पृथ्वीको कुनै स्थानबाट आकाशमा एउटै कोणीय अन्तर पर्दा यस्तो स्थितिको सिर्जना हुन्छ । अन्यग्रह अस्त हुँदा पनि सूर्यसँगको कोणीय अन्तर न्यून रहन्छ । बृहस्पतिको स्थान सूर्यभन्दा पनि निकै टाढा रहेको छ । आकाशमा जब सूर्यले बृहस्पतिको बिम्ब छेक्छ उक्त निश्चित समयमा बृहस्पति अस्त हुनपुग्छन् । अर्थात् हाम्रो भूअवस्थितिबाट आकाश मण्डलमा बृहस्पति देखिँदैनन् । हाम्रो दृष्टिपथमा नआएका ग्रह सामान्यतः अस्त अवस्थामा रहने गर्दछन् । ग्रहहरू उदय अस्त, वक्र मार्ग हुनु नियमित प्रक्रिया हो । हाम्रा धार्मिक कार्यसम्पादनमा बृहस्पति र शुक्रको अस्तले भने विशेष महत्त्व राख्ने गर्दछ ।
हाल वर्तमानको अवस्थामा पनि बृहस्पति अस्त रहेका छन् । सूर्य र बृहस्पति दुवै ग्रहको कोणीय अन्तर न्यून छ । दुवै ग्रह कर्कट राशिमा छन् । कोणीय अन्तर ११ अंशभित्र छ । सामान्यतः बृहस्पति अस्तको स्थिति वर्षमा एकपटक पर्ने गर्दछ । किनकि सूर्यले एक वर्षमा ३६० अंश (डिग्री) पार गर्दछन् भने बृस्पतिले एक वर्षमा लगभग एक राशि अर्थात् ३० अंश (डिग्री) मात्र पार गर्दछन् । यसरी हेर्दा बृहस्पति र सूर्यको भेट हुने एक वर्षमा एकपटक सम्भावना रहन्छ । सूर्य र बृहस्पति नजिकिएको अवस्था बृहस्पति अस्तको हो । विशेषतः सूर्य र बृहस्पतिको ११ कालांशको अन्तरसम्मको समयलाई बृहस्पति अस्त मानिएको छ (सूर्यसिद्धान्त, ९।६) ।
बृहस्पति अस्तमा कस्ता कार्य निषेध गरिएको छ ?
बृहस्पति अस्त रहँदा काम्य विशेष कर्म विवाह, व्रतबन्ध, विशेष यज्ञ अनुष्ठान आदि निषेध गरिएको छ । कर्म तीन प्रकारका हुन्छ ः नित्य, नैमित्तिक र काम्य । मातापिताको गरिने श्राद्ध, दशैँ, तिहार, एकादशी जस्ता निश्चित दिन गरिने कार्य नित्य हुन् । नित्य कर्मका निम्ति कुनै साइत जुराउनु पर्दैन अर्थात् बृहस्पति अस्त हेरिरहनु पर्दैन । यसैगरी नैमित्तिक कर्म पनि यस समयमा गर्न सकिन्छ । नैमित्तिक भनेको निमित्तवशात् परिआएका कर्म हुन् । जस्तै बालक जन्मिएको एघारौँ दिनमा नामकरण संस्कार गर्नुपर्दछ । यसैगरी अन्नप्राशनलाई पनि नैमित्तिक कार्यमा राखिएको छ । मृत्युपश्चात् गरिने शुद्धशान्तिका कार्य नैमित्तिक हुन् । यसैगरी विशेष फलको कामना राखी अभीष्ट सिद्धिका निम्ति गरिने कार्य काम्य कर्म हुन् । जस्तै रुद्री, गृहप्रवेश, विवाह, व्रतबन्ध आदि । यसरी गरिने काम्य कर्मलाई भने शास्त्रले गुरु शुक्र अस्तको समयमा निषेध गरेको छ ।
अस्तका समयमा कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तक कर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षामन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्न्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूर्त्तचिन्तामणिमा बताइएको छ :
‘वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठेव्रताऽऽरम्भोत्सर्गबधूप्रवेशनमहादानानि सोमाष्टके ।
गोदानाग्रयण-प्रपा-प्रथमकोपाकर्म वेदव्रतम् । नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् ।।
दीक्षा-मौञ्जि-विवाहमुण्डनमपूर्वं देवतीर्थेक्षणम् ।
सन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाऽभिषेकौ गमम् ।
चातुर्मास्यसमावृती श्रवणयोर्वेधं परीक्षां त्यजेद् ।
वृद्धत्वास्तशिशुत्व इज्य-सितयोर्न्यूनाधिमासे तथा ।।’ (मुहूर्त्तचिन्तामणि, १।४६।४७) ।
बृहस्पति अस्त भएको बेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्म अन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदैआएका व्रत उपासना पनि रोकिँदैनन् । यसैगरी नैमित्तिक कर्मअन्तर्गत अइपर्ने नामकरण, और्ध्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । अन्नप्राशन पनि नैमित्तिक अन्तर्गत पर्ने भएकाले गर्न कुनै बाधा पर्दैन । शान्ति कर्मका निम्ति पनि छुट दिएको पाइन्छ :
‘शान्तिकर्मणि कुर्वीत रोगे नैमित्तके तथा ।
गुरुभार्गवमौढ्येऽपि दोषस्तत्र न विद्यते ।।’
यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पनि छुट दिइएको छ ।
गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ : ‘न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ । अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः । तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।।’ (वायुपुराण) अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्राबाहेक अन्य यात्रा नगर्नू भनिएको छ । यसैगरी बृहस्पति अस्तमा सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन कार्य पनि गर्नु हुन्छ दोष लाग्दैन भनी बताइएको छ ः ‘सीमान्तजातकादीनि प्राशनान्नानि यानि वै ।
न दोषो मलमासस्य मौढ्यस्य गुरुशुक्रयोः ।।’
(मुहूर्त्तचिन्तामणि पीयूषधाराटीका) नित्य कर्म, ग्रहशान्ति, नैमिीत्तक कर्म अन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्ति कर्म, गयाश्राद्धादि कार्य बृहस्पतिअस्त भए पनि गर्दा कुनै दोष नलाग्ने कुरा शास्त्रले बताएको पाइन्छ ।
बृहस्पति अस्त प्रकृतिको सामान्य चक्र हो । हरेक वर्ष बृहस्पति अस्त हुने गर्दछन् । यस वर्ष श्रावण महिनामा बृहस्पति अस्त भएका छन् । बृहस्पति अस्त भए पनि नित्य रूपमा लिँदै आएको सोमवासरीय व्रत यस वर्ष पनि लिनुपर्ने शास्त्रीय निर्देश पाइन्छ । विशेषतः गुरु शुक्र अस्तको समयमा नयाँ व्रतको आरम्भ गर्ने, व्रतको उद्यापन गर्ने कार्य भने शास्त्रले निषेध गरेको पाइन्छ ।
बृहस्पति अस्तमा श्रावणका सोमबारको व्रत
शिवउपासनाका निम्ति उत्तम समय श्रावण महिना र त्यसमा पनि सोमवार हो । ज्योतिषशास्त्र अनुसार श्रवण नक्षत्रका दिन पूर्णिमा पर्ने महिना श्रावण हो ।
‘श्रवणर्क्षं पौर्णमास्यां ततोऽपि श्रावणः स्मृतः ।
यस्य श्रवणमात्रेण सिद्धिदः श्रावणेऽप्यतः ।।’
(स्कन्दपुराण, श्रावणमाहात्म्य, ईशसनत्कुमार-संवाद, १।१८) अर्थात् पूर्णिमाका दिन श्रवण नक्षत्र पर्ने भएकाले यो महिनालाई श्रावण भनिएको छ । वर्षा ऋतुको पवित्र महिनाका रूपमा पनि श्रावणलाई लिइएको छ । आकाश एवं धर्ती स्वच्छ रहने भएकाले पनि यो समयलाई पवित्र मानिन्छ । श्रावण महिनामा सूर्य कर्कट राशिमा रहन्छन् । सूर्य साक्षात् शिवजीका नेत्र अर्थात् आँखा हुनुहुन्छ । यसैगरी कर्कट राशिका स्वामी चन्द्रमा हुन् (लघुजातकम्, राशिप्रभेदाध्यायः श्लो. ८) ।
यसैगरी चन्द्रमाका स्वामी साक्षात् शिवजी हुनुहुन्छ : ‘चन्द्रः सूर्यः शनिः केतुग्रहो ग्रहपतिर्वरः ।’ (महाभारत, अनुशासनपर्व, शिवसहस्रनामस्तोत्रम्, श्लो. ३८) यसरी साक्षात् शिवजीको महिना श्रावण (कर्कटमा सूर्य रहने) भएकाले पनि यो महिना शिव उपासनाका निम्ति विशेष रहेको हो । सूर्य साक्षात् शिवजीका आँखा हुन् । कर्कट चन्द्रमाको राशि हो । चन्द्रमाका मालिक साक्षात् शिवजी हुनुहुन्छ । यही शिवजीको राशिमा सूर्य एकमहिना रहने भएकाले श्रावण महिना शिवउपासनाका निम्ति विशेष उत्तम रहेको हो । सोमप्रदोषको व्रत बसी शिवजीको आराधना गर्नाले अभीष्ट सिद्धि हुने कुरा पुराणमा फल वर्णन पाइन्छ ।
यसवर्ष बृहस्पति अस्त भएकाले श्रावणको सोमवासरीय व्रत लिने कि नलिने भन्ने सन्दर्भमा यो व्रत नित्यकर्मअन्तर्गत रहने भएकाले लिनुपर्दछ । हरेक वर्षको श्रावणको सोमवारको व्रत लिनेका निम्ति यो वर्षको व्रत पनि नित्य हुन्छ यसैले लिनु पर्दछ तर यसवर्षबाट आरम्भ गर्ने गरी व्रत लिनु उपयुक्त नहुने कुरा व्रतराजमा यसरी बताइएको छ :
‘अस्तगे च गुरौ शुक्रे बाले वृद्धे मलिम्लुचे ।
उद्यापनमुपारम्भं व्रतानां नैव कारयेत ।।’ (व्रतराज, पृ.२) ।
अर्थात् बृहस्पति र शुक्र अस्त, बाल्य, वृद्ध भएको समयमा, मलमासमा व्रतको उद्यापन, आरम्भ गर्नु हुँदैन । यसरी अस्तको समयमा शास्त्रले निषेध गरेका कार्य प्रमादवश गरेमा अनिष्ट फल भोग्नुपर्ने कुरा मुहूर्त्तचिन्तामणिको पीयूषधारा टीकामा उल्लेख गरिएको छ । बृहस्पति अस्त प्रकृतिको सामान्य चक्र हो । हरेक वर्ष बृहस्पति अस्त हुने गर्दछन् । यस वर्ष श्रावण महिनामा बृहस्पति अस्त भएका छन् । बृहस्पति अस्त भए पनि नित्य रूपमा लिँदैआएको सोमवासरीय व्रत यस वर्ष पनि लिनुपर्ने शास्त्रीय निर्देश पाइन्छ । विशेषतः गुरु शुक्र अस्तको समयमा नयाँ व्रतको आरम्भ गर्ने, व्रतको उद्यापन गर्ने कार्य भने शास्त्रले निषेध गरेको पाइन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर