काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जापानबाट सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भइरहेको प्रचारप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले आफूलाई लक्षित गरेर भ्रामक सूचना, चरित्रहत्या र अफवाह फैलाइएको दाबी गर्दै फेसबुक लाइभमार्फत प्रतिक्रिया जनाउनुभएको हो।
कर्णाली प्रवासी संघको निमन्त्रणामा जापान भ्रमणमा रहनुभएका शाहीले भ्रमणअघि प्रतिनिधिसभामा सरकारको आलोचना गर्दै कर्णालीमा भीरमा अड्किएका एक युवाको उद्धार हुन नसक्दा भएको मृत्युको विषय उठाउनुभएको थियो। सो क्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति आलोचनात्मक टिप्पणी गर्नुभएको थियो।
त्यसपछि सामाजिक सञ्जालमा उहाँविरुद्ध विभिन्न टिप्पणी र प्रचारहरू सुरु भएको बताइएको छ। केही वर्षअघि दुबईमा एक महिला समर्थकसँग खिचिएको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा गरिएको दाबीप्रति प्रतिक्रिया दिँदै शाहीले त्यस्ता गतिविधिले निर्दोष व्यक्तिको प्रतिष्ठा र व्यक्तिगत जीवनमा असर पार्ने बताउनुभयो।
त्यसैबीच, जापानको ओसाकामा शाहीलाई प्रवासी नेपालीहरूले विरोध गरेको भन्ने दाबीसमेत सामाजिक सञ्जालमा फैलिएको थियो। तर शाहीले आफू ओसाका नै नपुगेको स्पष्ट पार्दै उक्त प्रचारलाई असत्य बताउनुभएको छ।
जापानमै आयोजित एक कार्यक्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँग एउटै मञ्चमा उपस्थित हुनुभएका शाहीले आफ्नो संसदीय भूमिकाबारे टिप्पणी गर्दै सरकारसँग कडा रूपमा प्रश्न उठाउने गरेको बताउनुभएको थियो। त्यसयता सामाजिक सञ्जालमा उहाँविरुद्ध थप आलोचना भएको देखिएको छ।
शनिबार फेसबुक लाइभमार्फत बोल्दै शाहीले आफूले संसदमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकार र सम्बन्धित पक्षलाई चुनौती दिनुभएको थियो। उहाँले सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई जवाफ दिने क्रममा केही विवादास्पद अभिव्यक्ति पनि प्रयोग गर्नुभएको थियो, जसलाई लिएर विभिन्न राजनीतिक वृत्तमा प्रतिक्रिया आएको छ।
शाहीको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै रास्वपाका सांसद राजु पाण्डेले सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो पदको मर्यादा र जिम्मेवारीलाई ध्यानमा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक मूल्य, जनताको निर्णय र राष्ट्रिय स्थिरताको सम्मान गर्न सबै राजनीतिक नेताहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
यता राप्रपाले भने शाहीको बचाउ गरेको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै संसदभित्र जनताका मुद्दा उठाइरहेका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र प्रमुख सचेतक खुस्बु ओलीविरुद्ध भइरहेको व्यक्तिगत आक्रमण, चरित्रहत्या र सामाजिक सञ्जालमा फैलाइएका सामग्री निन्दनीय रहेको बताउनुभएको छ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमा बढ्दो राजनीतिक आरोप–प्रत्यारोप र व्यक्तिगत आक्रमणले राजनीतिक बहसलाई थप तिक्त बनाइरहेको विश्लेषण भइरहेका बेला शाहीको अभिव्यक्ति र त्यसपछि आएका प्रतिक्रियाले नयाँ बहस जन्माएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर