चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गत आर्थिक वर्षमा पर्यटक आगमन उल्लेखनीय रूपमा वृद्धि भएको छ। निकुञ्ज प्रशासनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा पर्यटक संख्या बढ्दै जाँदा राजस्व सङ्कलनमा पनि सकारात्मक प्रभाव परेको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटकले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्षमा भने दुई लाख ३१ हजार ३२९ पर्यटकले उक्त क्षेत्रको अवलोकन गरेका थिए।
गत आवमा भ्रमण गर्ने पर्यटकमध्ये सार्क राष्ट्रका २२ हजार ८८३ तथा अन्य मुलुकका ८८ हजार ६६५ पर्यटक रहेका छन्। बाँकी पर्यटक स्वदेशी रहेको निकुञ्जले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, जङ्गली हात्ती तथा विभिन्न दुर्लभ चराचुरुङ्गीका कारण पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बनेको छ। वन्यजन्तु अवलोकन, जंगल सफारी, हात्ती प्रजनन केन्द्र तथा प्राकृतिक सौन्दर्यले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ।
निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षमा पर्यापर्यटन गतिविधिबाट मात्रै २७ करोड ६३ लाख ३९ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस्तै काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवाना तथा अन्य शीर्षकबाट ३१ करोड १ लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ।
पर्यटक आगमनमा भएको वृद्धिले स्थानीय पर्यटन व्यवसाय, होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटनसँग सम्बन्धित क्षेत्रलाई समेत लाभ पुगेको सरोकारवालाहरूले बताएका छन्। निकुञ्ज प्रशासनले आगामी वर्षहरूमा पर्यापर्यटन प्रवर्द्धन र वन्यजन्तु संरक्षणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर