पाल्पा । कुनै समय युद्धका हतियार सहित सशस्त्र जनयुद्धमा होमिएका माओवादी नेताहरु यति बेला कृषि कर्ममा लागेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी पाल्पाका नेताहरू बाँझो जग्गालाई लिजमा लिएर कृषि कर्ममा जुटेका हुन् ।
उनीहरु सशस्त्र युद्धबाट होइन, कृषि क्रान्तिबाट साम्यवादको सपना पुरा हुने भन्दै कृषि क्षेत्रमा सक्रिय बन्दै गइका छन् । रोजगारी सिर्जना, बाँझो जमिनको सदुपयोग तथा व्यावसायिक खेतीमार्फत आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले उनीहरूले सामूहिक कृषि कर्मलाई प्राथमिकता दिएका हुन् । पार्टीका जिल्ला इन्चार्ज मिन सी, सेक्रेटरी सुकुमार सी, प्रदेश कमिटी सदस्य तथा उत्पादन विभागका प्रमुख आकास सी र संघर्ष सीको नेतृत्वमा यहाँ व्यवसायिक कृषि हुँदै आएको छ ।
राजनीतिक गतिविधिसँगै व्यावसायिक कृषि उत्पादनमा उनीहरू सक्रिय छन् । विगत तीन वर्षदेखि उनीहरु धान, गहुँ, आलु जस्ता व्यावसायिक कृषिमा लागेको देखिन्छ । यस अघि गहुँ र आलु भित्र्याइसकेका उनीहरु यति बेला रिब्दीकोट गाउँपालिका–२ लघुवा फाँटमा धान रोपाइँमा व्यवस्त छन् । उनीहरु परिवारसहित रोपाइँमा खटिएका छन् । प्रायः औपचारिक कार्यक्रमका भाषण र आन्दोलनका अग्रमोर्चामा देखिने ति नेताहरु अहिले हातमा कोदाली लिएर खेतामा हिलोसँगै रमाएको देख्न सकिन्छ ।
उनीहरुले वर्षौदेखि बाँझो रहेको स्थानीयहरुको ८० रोपनी जग्गा लिजमा लिएका छन् । त्यही जग्गामा उनीहरुले धान, गहुँ र आलु लगाउने गरेका छन् । किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाइ आत्मनिर्भर हुने उद्देश्यसहित पाल्पामा कृषि क्रान्तिको अभियान चलाइएको नेकपा (माओवादी) पाल्पाका इन्चार्ज मीन सीले बताउनुभयो । उहाँले उत्पादनविना राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नु सरह भएको भन्दै आफुहरु उत्पादनतर्फ लागेको उल्लेख गर्नुभयो । सीले भन्नुभयो‚“ नेता कार्यकर्ताहरु आत्मनिर्भर भए पार्टी आत्मनिर्भर हुने र कसैसँग चन्दा उठाउन नपर्ने बनाउन हामी लागेका हौं ।” मुलुक कृषि प्रधान देश भए पनि कृषिमा आत्मनिर्भर हुन नसकेको उहाँको भनाई छ । आयातित तरकारी सहित खाद्यन्नमा कमिसन खाने पुँजीवादीहरूका कारणले यहाँका जनता मारमा परेको उहाँले बताउनुभयो । आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता बनाउन आफुहरु अहिले कृषिमा लागेको सीले उल्लेख गर्नुभयो । उहाँले पार्टीले पाल्पामा मात्र नभई देशैभर ३ सय विघामा खेती गर्दै आएको जानकारी दिनुभयो । जिल्लाको तिनाउ गाउँपालिका – २ मा पार्टीको नाममा रहेको २३ रोपनी, तानसेन नगरपालिका–५ धरमपानीमा ६ रोपनी र रिब्दीकोटको देउरालीमा समेत कृषि गर्दै आएको उहाँले बताउनुभयो ।
जन कमिटीको अधिनमा रहेर खेती गर्दै आएको पार्टीका सेक्रेटरी सुकुमार सीले बताउनुभयो । सी कृषि फर्म दर्ता गरेर व्यवसाय थालेको उहाँले बताउनुभयो । चन्दा उठाएर खानुभन्दा नेता कार्यकर्ता श्रममा जोडिनु राम्रो भएकाले उत्पादनमा सिङ्गो पार्टी लागेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “सिङ्गो पार्टी उत्पादनमा लागेको छ । देशभरिमा जमिन लिजमा लिएर कृषि उत्पादनमा लागेका छौँ । यसो गर्दा कसैसँग चन्दा माग्नु पनि परेन । नेता कार्यकर्ताहरू श्रमसँग जोडिएका छौँ । उत्पादन पार्टीमातहत बिक्रीवितरण गरेका छौँ ।” गत वर्ष १५० मुरी धान, ६० मुरी गहुँ, २० क्विन्टल आलु, उत्पादन गरिएको प्रदेश कमिटी सदस्य तथा उत्पादन विभाग पाल्पाका प्रमुख आकाश सीले बताउनुभयो । यहाँ उत्पादित बस्तु बिक्रीका लागि कुनै समस्या नभएको उहाँको भनाई छ । उहाँका अनुसार खेतबाटै धान, गहुँ लगायतका उत्पादन बिक्री हुने गरेको छ । उत्पादन भएको बस्तुबाट प्राप्त केही आम्दानी श्रम गर्नेले राख्छौं र बाँकी रहेको केही रकम पार्टीको संस्थागत विकासमा राख्ने गरेको उहाँले सुनाउनुभयो । लघुवामा स्थानीय १२ घर परिवारको बाँझो जग्गालाई उनीहरुले हराभरा बनाएका छन् । धेरै वर्ष यहाँको जग्गा बाँझो थियो, घाँस उम्रिएर जंगल जस्तै बनेको अवस्थामा उहाँहरु आएर खेती गर्न थालेपछि हराभरा भएको स्थानीय किसान दीपक कुँवरले बताउनुभयो ।
उहाँले अरु किसानलाई पनि खेती गर्नु पर्छ भन्ने सन्देश उहाँहरुले दिनु भएको उल्लेख गर्नुभयो । ३७ वर्ष भारतमा बसेर नेपाल फर्किनुभएका उहाँले अहिले त्यही देखेर आफ्नै साढे २२ रोपनी जमिनमा खेती गर्दै आएको बताउनुभयो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर