काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी र संसदीय प्रक्रियाहरू उपलब्ध हुँदाहुँदै वर्तमान सरकारको सुरुआत हिंसा, षड्यन्त्र र असंवैधानिक गतिविधिसँग जोडिएको आरोप लगाउनुभयो।
“लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी र संसदीय बाटाहरू हुन्छन्। हिंसा, आगजनी, तोडफोड र कब्जाजस्ता गतिविधि लोकतान्त्रिक अभ्यास होइनन्,” उहाँले भन्नुभयो, “अहिलेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने र षड्यन्त्र गराउने घटनाबाट भएको हो।”
अध्यक्ष ओलीले वर्तमान राजनीतिक अभ्यासमा लोकप्रियताको नाममा ‘पपुलिज्म’ को भद्दा प्रयोग भइरहेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार केही राजनीतिक शक्तिहरूले जनतालाई प्रभावित पार्न तथ्यभन्दा भावनामा आधारित राजनीति गरिरहेका छन्।
उहाँले सामाजिक सञ्जालको प्रयोगलाई पनि आलोचना गर्दै उत्तरदायित्व र जवाफदेहिताविहीन गतिविधिका कारण समाजमा भ्रम, गलत सूचना र विकृति फैलिएको बताउनुभयो। सामाजिक सञ्जाल स्वस्थ बहसको माध्यम बन्न सक्ने भए पनि निराधार र असत्य सूचना फैलाउने प्रवृत्तिले समस्या सिर्जना गरेको उहाँको भनाइ थियो।
“कोही दर्ता हुन नपर्ने, कोही जवाफदेही नहुने, तर निराधार र असत्य सूचना फैलाउने काम भइरहेको छ,” ओलीले भन्नुभयो, “यसले समाजमा भ्रम फैलाउने र राजनीतिक विकृति बढाउने काम गरेको छ।”
अध्यक्ष ओलीले वैदेशिक रोजगारीका विषयमा पनि धारणा राख्दै अघिल्लो वर्ष युवाहरू विदेश गइरहेको विषयलाई लिएर व्यापक आलोचना भएको स्मरण गर्नुभयो। अहिले वैदेशिक रोजगारीमा जानेको संख्या अझ बढी भए पनि त्यसबारे चर्चा कम भएको उहाँको भनाइ थियो।
“पोहोर यही समयमा विदेश जाने युवाको विषयमा अत्यधिक हल्ला गरिएको थियो। अहिले संख्या अझ बढी छ, तर त्यसलाई स्वाभाविक भनिएको छ,” उहाँले भन्नुभयो।
ओलीले तथ्य बङ्ग्याएर राजनीतिक लाभ लिन खोज्ने प्रवृत्ति बढेको आरोप लगाउँदै यस्ता भ्रम चिर्न र सही सूचना जनतासमक्ष पुर्याउन संसद् प्रभावकारी माध्यम बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले सांसदहरूलाई तथ्य, तर्क र जनहितका आधारमा संसद्मा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर