चितवन । वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले ट्राफिक नियमको कडाइका साथ पालना गर्न चालकहरूलाई आग्रह गरेको छ।
आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा करिब ३० जना घाइते भएका थिए। दुर्घटनापछि केही समय सडक अवरुद्ध हुनुका साथै लामो सवारीजामसमेत भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार मुग्लिनतर्फ जाँदै गरेको बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। उहाँले ओभरटेक नै सडक दुर्घटना र जामको प्रमुख कारण बन्दै गएको बताउनुभयो।
“ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै लामो सवारीजाम हुन्छ। एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीसाधनलाई बाटो बनाउन कठिन हुन्छ र उद्धार कार्यसमेत प्रभावित हुन्छ,” एसपी पौडेलले भन्नुभयो। उहाँका अनुसार आजको दुर्घटनामा पनि सवारीजामका कारण उद्धारमा ढिलाइ भएको थियो।
बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो। आइतबार बिहान ५ः३० बजे सडक खुलाएपछि चालकहरूले हतारमा ओभरटेक गर्दा दुर्घटना र जामको अवस्था सिर्जना भएको प्रशासनको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना गरे दुर्घटना र सवारीजाम दुवैलाई उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो। उहाँले नियम पालनाबाट चालक र यात्रु दुवैले प्रत्यक्ष लाभ प्राप्त गर्ने उल्लेख गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा सवारी सञ्चालन रोक्नु बाध्यता भएको स्पष्ट पार्दै सडक खुलेपछि आफ्नो लेनमै सवारी चलाउन र अनावश्यक ओभरटेक नगर्न आग्रह गर्नुभयो।
उहाँले सुरक्षित र सहज यातायात व्यवस्थापनका लागि प्रशासन, चालक र यात्रु सबैको समान जिम्मेवारी रहेको बताउँदै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिनुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर