बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक मार्ग खुलेको २३ वर्षपछि स्तरोन्नति गरिएको छ । काठेखोला गाउँपालिका–६ सुलडाँडा लेखानी हुँदै गलकोटको चौराह स्थित लोकमार्ग जोड्ने सडक स्तरोन्नति गरिएको हो ।
वि.सं. २०६० सालमा लेखानीवासीले जनश्रमदान र रकम संकलन गरेर खुलाइएको सडक दुई दशकपछि स्तरीय बनाइएको काठेखोला गाउँपालिका–८ का अध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिनुभयो । यस वर्ष संघीय सरकारले विनियोजन गरेको रु ११ करोड लागतमा छ किलोमिटर सडक स्तरीय बनाइएको उहाँको भनाइ छ ।
सुलडाँडादेखि भुदीखोलासम्म पहिलो, भुदीखोलादेखि उपलथरसम्म दोस्रो र भूमिचौर–गौडा हुँदै सिंङडाँडासम्म तेस्रो खण्डमा ठेक्का लगाएर स्तरोन्नति गरेको उहाँले बताउनुभयो । सडक फराकिलो बनाउने, ठाउँ ठाउँमा ढलान गर्ने र नाली निर्माणको काम सकिएको अध्यक्ष कँडेलले बताउनुभयो । यो सडक संचालनमा आएपछि लोकमार्गको यात्रा सात किलोमिटर छोटो हुने उहाँको भनाइ छ ।
अध्यक्ष कँडेलले भन्नुभयो – “सडक स्तरोन्नति भएपछि सबैभन्दा बढी किसानलाई राहत भएको छ, गाउँमा धेरै किसानले तरकारी, दुध र फलफूल उत्पादन गर्नुहुन्छ, सडक अप्ठ्यारो हुँदा उहाँहरुलाई बजारीकरणमा निकै समस्या थियो, पहिले बागलुङ बजार पुग्न डेढ घण्टा लाग्थ्यो, अहिले आधा घण्टामै पुग्न सकिने भएको छ ।”
स्थानीय पिम्ला कँडेलले सडक व्यवस्थित भएपछि सामान ढुवानी र यात्रा गर्न सहिज भएको बताउनुभयो । पहिले अप्ठ्यारो सडक देखाएर यातायात व्यवसायीले महङ्गो भाडा लिने गरेको भन्दै अहिले कम भएको उहाँको भनाइ छ । गाउँको सडक व्यवस्थित भएसँगै गाउँलेको जीवनस्तरसमेत बदलिदै गएको कँडेल बताउनुहुन्छ ।
“हिँदको समयमा गाडी चले पनि बर्खामा ठप्प हुने अवस्था थियो, अहिले सरकारले बाटो राम्रो बनायो, बर्खामा पनि गाडी गुड्न थालेका छन्” उहाँले भन्नुभयो – “अब बारी तरकारी कुहिएर खेर जाला भन्ने डर भएन, जतिबेला पनि गाडी चल्ने भए पनि उत्पादनले बजार पाउँदैन कि भन्ने डर कम भयो ।”
अर्का स्थानीय प्रेमप्रसाद कँडेलले सडक राम्रो हुँदा गाउँमा कोही आकस्मिक बिरामी परे तुरुन्त गाडीमार्फत अस्पतालमा पठाउन सकिने विश्वास व्यक्त गर्नुभयो । अघिल्लो वर्षसम्म बर्खामा सडक ठप्प हुँदा बिरामीलाई बोकेरै अस्पताल पुर्याउनु परेको स्मरण गर्नुभयो । भुदीखोलामा वर्षा हुँदा समस्या हुने गरेको भन्दै त्यसलाई पनि गाउँपालिकाले दीर्घकाली समाधान गर्न थालेको उहाँको भनाइ छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर