सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद्ले साहित्य, भाषा तथा पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका तीन स्रष्टालाई विभिन्न पुरस्कार प्रदान गर्दै सम्मान गरेको छ। परिषद्को आयोजनामा सम्पन्न पुरस्कार अर्पण तथा पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ कवि दिनेश अधिकारी, आख्यानकार रमेश क्षितिज र लेखक–पत्रकार कृष्ण समर्पणलाई नगद राशिसहित सम्मान गरिएको हो।
यस वर्षको ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२’ वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीलाई प्रदान गरिएको छ। नेपाली कविता तथा गीत साहित्यमा उहाँले पुर्याउनुभएको दीर्घकालीन योगदानको कदर गर्दै ५० हजार रुपैयाँ नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको परिषद्ले जनाएको छ।
त्यसैगरी, ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ आख्यानकार रमेश क्षितिजको चर्चित कृति ‘एउटा मायी नगरमा’ लाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि पनि ५० हजार रुपैयाँ रहेको छ।
स्थानीयस्तरमा साहित्य, पत्रकारिता तथा सामाजिक चेतनाको विकासमा पुर्याउनुभएको योगदानको सम्मानस्वरूप लेखक तथा पत्रकार कृष्ण समर्पणलाई ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८२’ प्रदान गरिएको छ। पुरस्कारअन्तर्गत उहाँलाई २५ हजार रुपैयाँ नगद राशिसहित सम्मानपत्र अर्पण गरिएको थियो।
कार्यक्रममा कथाकार देवराज पौडेलद्वारा लिखित लघुकथा सङ्ग्रह ‘मेरो पाठशाला’ को पनि विमोचन गरिएको छ। मीना शर्मा न्यौपानेद्वारा प्रकाशित उक्त कृतिले समकालीन नेपाली लघुकथा साहित्यमा नयाँ विमर्श र दृष्टिकोण थप्ने विश्वास वक्ताहरूले व्यक्त गरेका थिए।
परिषद्का अध्यक्ष अच्युत अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी प्रमुख अतिथि तथा जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष दिपक अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको प्रारम्भमा मीनबहादुर पूर्वछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन साहित्यकार विवश पौडेलले गर्नुभएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले भाषा, साहित्य र पत्रकारितामा सक्रिय स्रष्टाहरूको सम्मानले सिर्जनशील वातावरणलाई थप ऊर्जा प्रदान गर्ने तथा नयाँ पुस्तालाई साहित्य, भाषा र संस्कृतिप्रति आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर