काठमाडौं । नेपाली क्रिकेटर सिद्धान्त लोहनीले घुँडाको गम्भीर चोटका कारण अन्तर्राष्ट्रिय तथा व्यावसायिक क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत् सन्न्यास घोषणा गर्दै लोहनीले आफ्नो क्रिकेट करिअरमा सात पटक घुँडाको शल्यक्रिया गर्नुपरेको र अन्ततः चोटकै कारण खेल जीवन टुंग्याउन बाध्य भएको बताउनुभएको छ ।
सन् २०१५ जुलाई १८ मा आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएका लोहनीले ठ्याक्कै ११ वर्षपछि सोही मितिमा क्रिकेटबाट सन्न्यास लिनुभएको हो । उहाँले घुँडाको चोटपछि पुनरागमनका लागि धेरै प्रयास गरे पनि शल्यक्रियापछि भएको गम्भीर संक्रमणका कारण अन्ततः बायाँ घुँडाको पूर्ण प्रत्यारोपण गर्नुपरेको उल्लेख गर्नुभएको छ ।
‘धेरै शल्यक्रियापछि मैदानमा फर्किने प्रयास गरेँ । तर, संक्रमणले अवस्था झन् बिग्रियो र अन्ततः बायाँ घुँडाको पूर्ण प्रत्यारोपण गर्नुपर्यो । अब मेरो खुट्टा पहिलेको जस्तो कहिल्यै हुने छैन, घुँडा मोड्न पनि जीवनभर सीमितता रहनेछ,’ उहाँले भन्नुभएको छ ।
लोहनी सन् २०२३ मा जनकपुरमा आयोजित महेन्द्रनारायण निधि टी-२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको कप्तानी गर्दै गण्डकी प्रदेशविरुद्धको खेलका क्रममा फिल्डिङ गर्ने क्रममा घाइते हुनुभएको थियो । त्यसयता उहाँले प्रतिस्पर्धात्मक क्रिकेट खेल्न सक्नुभएको छैन ।
उहाँले राष्ट्रिय टोलीबाट डेब्यु खेलमै १६ बलमा दुई चौका र दुई छक्कासहित २७ रन बनाउनुभएको थियो । उक्त खेलमा नेपाल सात विकेटले पराजित भए पनि टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी लोहनी नै हुनुहुन्थ्यो । विशेषगरी उहाँले खेलेको ‘हेलिकप्टर सट’ले त्यसबेला अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको थियो ।
डेब्यु खेलमा उत्कृष्ट सम्भावना देखाए पनि त्यसपछि उहाँको अन्तर्राष्ट्रिय करिअरले निरन्तरता पाउन सकेन । उहाँले सन् २०१८ मा एभरेष्ट प्रिमियर लिग (इपिएल) तथा सन् २०२३ मा नेपाल टी-२० लिगमा पनि सहभागिता जनाउनुभएको थियो ।
लोहनीले अब व्यावसायिक क्रिकेटमा पुनरागमन सम्भव नभएको स्वीकार गर्दै अहिले सामान्य रूपमा हिँड्न सकिरहेकोमा नै आफू भगवान्प्रति आभारी रहेको बताउनुभएको छ । ‘चोटका कारण यति कम उमेरमै क्रिकेट छोड्नुपर्दा मन दुखेको छ । तर, राष्ट्रिय टोलीबाट खेलेका सम्झनाहरू जीवनभर ताजा रहनेछन्,’ उहाँले भन्नुभएको छ ।
सन्न्यास घोषणासँगै उहाँले आफ्नो क्रिकेट यात्रामा साथ दिने परिवार, प्रशिक्षक, फिजियो, साथीभाइ, समर्थक, नेपाल क्रिकेट संघ (क्यान), मोरङ जिल्ला क्रिकेट संघ, कोशी प्रदेश क्रिकेट संघ तथा अवसर प्रदान गर्ने सबै फ्रेन्चाइज टोलीप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले सन्न्यासलाई क्रिकेटबाट पूर्ण बिदाइ नभएको स्पष्ट पार्दै भविष्यमा फरक भूमिकामार्फत् क्रिकेटमै पुनः जोडिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर