काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को तयारीलाई तीव्र बनाउँदै पोखरा एभेन्जर्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर अजन्था विन्स्लो मेन्डिस बलापुवाडुगेलाई टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । फ्रेन्चाइजले आगामी सिजनका लागि प्रतिस्पर्धात्मक र सन्तुलित टोली निर्माण गर्ने उद्देश्यका साथ मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा रहस्यमयी स्पिन बलिङका लागि परिचित मेन्डिसको आगमनले टोलीको प्राविधिक तथा रणनीतिक पक्ष थप सुदृढ हुने विश्वास गरिएको छ ।
श्रीलंकाका सफल स्पिन बलरमध्ये एक मानिने मेन्डिसले आफ्नो अन्तर्राष्ट्रिय करियरमा टेस्ट, एकदिवसीय र टी-२० गरी तीनवटै प्रारूपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नुभएको थियो । उहाँको उत्कृष्ट नियन्त्रण, नवीन बलिङ शैली र विश्वस्तरीय ब्याटरहरूलाई समेत दबाबमा राख्ने क्षमताले उहाँलाई अन्तर्राष्ट्रिय क्रिकेटमा विशिष्ट परिचय दिलाएको थियो ।
सन् २००८ को एसिया कपमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुनुभएका मेन्डिसले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिनुभएको थियो । पोखरा एभेन्जर्सले उहाँको अनुभव, ज्ञान र नेतृत्व क्षमताले खेलाडीहरूको व्यक्तिगत तथा टोलीगत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ ।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले मेन्डिसको नेतृत्व, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय अनुभवले टोलीको प्रदर्शनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मेन्डिसको उपस्थितिले अनुभवी तथा युवा खेलाडीको क्षमता अभिवृद्धिसँगै टोलीको प्रतिस्पर्धात्मक स्तर पनि थप मजबुत हुने बताउनुभयो ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि मेन्डिसले पोखरा एभेन्जर्स परिवारसँग आबद्ध हुन पाउँदा आफू गौरवान्वित भएको प्रतिक्रिया दिनुभयो । खेलाडी, प्रशिक्षक तथा व्यवस्थापनसँग सहकार्य गर्दै उत्कृष्ट टोली निर्माण गर्न उत्साहित रहेको उल्लेख गर्दै उहाँले नेपालमा पछिल्ला वर्षहरूमा क्रिकेटले उल्लेखनीय प्रगति गरेको र यहाँ प्रशस्त प्रतिभा रहेको बताउनुभयो । टोलीलाई एनपिएलमा उच्चस्तरको प्रतिस्पर्धा गराउँदै सफलता दिलाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहने उहाँको भनाइ छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर