नेपालगञ्ज । नेपालका निर्मल लम्सालले मलेसियाको ठूलो एवं प्रतिष्ठित स्कोर म्याराथन पूरा गर्नुभएको छ । नेपालगञ्ज म्याराथनका तर्फबाट भाग लिनुभएका निर्मलले तीन घण्टा ३५ मिनेटमा ४२.१९५ किलोमिटर दूरी पूरा गर्नुभएको हो । फिनिसिङ लाइन पुग्नु तीन किलोमिटर पहिले स्वास्थ्य अचानक बिग्रिएपछि दौड पूरा गर्नतर्फमात्र केन्द्रित भएको निर्मलले बताउनुभयो । वर्ल्ड एथ्लेटिक्सको रोड रेस लेबल मान्यताप्राप्त म्याराथनमा दौड्ने अवसर पाउनु नै आफ्ना लागि ठूलो उपलब्धि भएको बताउँदै निर्मलले खुसी व्यक्त गर्नुभयो ।
मलेसियाको राजधानी क्वालालम्पुरदेखि नजिकै पुत्रजयामा भएको स्कोर म्याराथनमा करिब ६० हजार जनाले भाग लिएको बताइएको छ । ४२.१९५ किलोमिटर र हाफ म्याराथन आइतबार आयोजना भयो भने शनिबार पाँच किलोमिटर र १० किलोमिटरका इभेन्ट सञ्चालन भएका थिए ।
कतिपय धावकले अघिल्लो दिनमा पाँच वा दश किलोमिटर दौडिएर भोलिपल्ट हाफ वा फुल म्याराथन दौडिएका थिए । वर्ल्ड रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का बोर्ड अफ डाइरेक्टर एवं बाङ्सेन २१ का सिइओ रुटले अघिल्लो दिन दश किलोमिटर पूरा गरेर भोलिपल्ट आइतबार २१ किलोमिटर दूरी दुई घण्टा २२ मिनेटमा पूरा गरेको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
संसारभर दौडको आकर्षण अनपेक्षित बढ्दै गएको बताउँदै उहाँले दौड्न सुरु नगरेका हरेकलाई आजैदेखि दौड्न सुरु गर्न आग्रह पनि गर्नुभयो । शनिबार भएको पाँच किलोमिटरमा नेपालगञ्जका गगन थापा र सुरोज थापाले दौडिएर दूरी पूरा गर्दै अनुभव बटुल्नुभएको थियो । मलेसियाको स्कोर म्याराथन र नेपालको धारा नेपालगञ्ज म्याराथनबीच भगिनी सम्बन्ध छ ।
धावक, स्वयंसेवकलगायतलाई अवसर र अनुभवका लागि नेपालगञ्ज म्याराथनले थाइल्याण्ड, मलेसियालगायतका अन्तर्राष्ट्रियस्तरका म्याराथन आयोजकसँग भगिनी सम्बन्ध स्थापित गर्दै आएको छ । नेपालगञ्ज म्याराथन भर्खरै नर्वेको ट्रम्सोमा वर्ल्ड रनिङको निकै सम्मानित एम्स सोसल अवार्डबाट पुरस्कृत भएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर