काठमाडौं । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संघीय संसद्मा पार्टी र आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी, रचनात्मक तथा जनमुखी बनाउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा आइतबार आयोजना गरिएको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्था, संसद्मा खेल्नुपर्ने भूमिका र आगामी रणनीतिका बारेमा विस्तृत रूपमा प्रष्ट पारेका छन् ।
एमाले संसदीय विभागले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा विशेषगरी संसद्मा सांसदहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी, संसदीय अभ्यासका नियमहरू तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनका विषयमा छलफल भएको थियो । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई स्पष्ट मार्गनिर्देशन गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।
सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्ने ओलीको उद्घोष
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले अहिले सडक र संसद् दुवै मोर्चाबाट संघर्षको मैदानमा रहेको बताउनुभएको छ । उहाँले देशको वर्तमान राजनीति दिशाहीन, नीतिविहीन र थितिविहीन अवस्थामा पुगेको भन्दै यसलाई सही बाटोमा ल्याउन एमालेले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वर्तमान सरकारको गठन प्रक्रियाप्रति कडा आलोचना गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक र संसदीय बाटो हुने भए पनि अहिलेको अवस्था त्यस्तो नरहेको जिकिर गर्नुभयो । उहाँले वर्तमान सरकार हत्याहिंसा, तोडफोड, आगजनी र कब्जाको आधारबाट बनेको गम्भीर आरोपसमेत लगाउनुभएको छ ।
गत भदौ महिनापछि मुलुकको राजनीति पूर्णरूपमा दिशाहीन भएको भन्दै उहाँले सडक आन्दोलनमा केही धक्का महसुस भए पनि मनोबल गिराउन नहुने बताउनुभयो । सडक आन्दोलनको मोर्चामा अलिकति खस्किएको अवस्था रहे पनि धक्का खाएपछि पीर पर्नु स्वाभाविक भएको उहाँको भनाइ थियो । सडक र सदन एक-अर्काका परिपूरक भएको बताउँदै उहाँले अब यी दुवै मोर्चालाई सशक्त बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । सरकारको बेलगाम अराजकता र भद्दा प्रयासविरुद्ध एमाले सशक्त भएर संघर्ष गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी, अध्यक्ष ओलीले बढ्दो युवा पलायनको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै यस विषयमा समाजमा देखिएको दोहोरो मापदण्डप्रति असन्तुष्टि जनाउनुभएको छ । अघिल्लो वर्ष युवाहरू विदेश जाँदा निकै ठूलो होहल्ला भएको स्मरण गर्दै उहाँले अहिले त्योभन्दा धेरै संख्यामा युवाहरू बाहिरिँदा पनि सबैतिर चुपचाप रहेको बताउनुभयो । अहिले विदेश जाने कुरालाई युवाहरूको अधिकारको रूपमा व्याख्या गरेर परिस्थितिलाई बंग्याउने काम भइरहेको उहाँको भनाइ छ । जनताको हितविपरीत र आफ्नो संकीर्ण स्वार्थका लागि कुरा बंग्याउने प्रवृत्ति बढेको भन्दै उहाँले यसलाई सच्याउनुपर्ने मुख्य दायित्व सांसदहरूको रहेको बताउनुभयो । कानुन निर्माण गर्ने बहुमत आफ्नो पक्षमा नभए पनि संसद् जनताको आवाज उठाउने सबैभन्दा ठूलो र महत्त्वपूर्ण मञ्च भएकाले त्यहाँबाट सशक्त रूपमा कुरा उठाउन उहाँले आफ्ना सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
जनताको विश्वास जित्नेगरी काम गर्नुहोस् : पोखरेल
प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अस्वाभाविक रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भविष्य र यसले ल्याएको राजनीतिक तरंगका विषयमा विश्लेषण गर्नुभयो । उहाँले पपुलिज्म, एनार्किजम र अपर्च्युनिजमको मिश्रणबाट निर्माण भएको शक्ति लामो समयसम्म जनताका अपेक्षा पूरा गरेर स्थिर रूपमा टिक्न नसक्ने ठोकुवा गर्नुभयो । रास्वपा जति छिटो उदाएको छ, त्यति नै छिटो त्यसको अवसान हुने जोखिम रहेको उहाँको विश्लेषण छ । तर, महासचिव पोखरेलले यस्ता शक्तिहरू असफल हुँदैमा ढुक्क भएर बस्न सकिने अवस्था नरहेको तर्फ सांसदहरूलाई सचेत गराउनुभयो । उहाँले वर्तमान पपुलिष्ट शक्ति असफल भएपछि त्यो जनमत स्वतः मूलधारका राजनीतिक दलहरूतर्फ फर्किन्छ भन्ने कुनै ग्यारेण्टी नभएको तर्फ गम्भीर ध्यानाकर्षण गराउनुभयो । एउटा पपुलिष्टको ठाउँ अर्को पपुलिष्टले लिनसक्ने जोखिम रहेकाले मूलधारका दलहरूले जनताको विश्वास जित्नेगरी काम गर्नुपर्ने र उनीहरू सधैँ चनाखो रहनुपर्ने उहाँले स्पष्ट पार्नुभएको छ ।
यसका साथै, महासचिव पोखरेलले सांसदहरूलाई प्रविधिमैत्री बन्न र सोही अनुसारको सहयोगी टिम निर्माण गर्न विशेष निर्देशन दिनुभएको छ । सांसदहरूले आफ्नो स्वकीय सचिव छनोट गर्दा घरायसी काम गर्ने सहयोगीका रूपमा नभई संसदीय गतिविधिलाई प्रभावकारी बनाउन सक्ने राजनीतिक चेत भएको दक्ष व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । सूचना प्रविधिको द्रुत विकास भइरहेको वर्तमान युगमा स्वकीय सचिवहरू सूचना प्रविधिमा पूर्णरूपमा दक्ष हुनुपर्ने र कृत्रिम बुद्धिमता (एआई) को समेत प्रयोग गर्न जान्ने हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भर्चुअल दुनियाँको प्रतिस्पर्धामा पार्टी केही पछाडि परेको स्वीकार गर्दै उहाँले संसद्मा प्रस्तुत गरिने धारणा र गतिविधिहरूलाई डिजिटल माध्यमबाट जनमानसमा प्रभावकारी रूपमा पुर्याउनु आजको आवश्यकता रहेको बताउनुभयो । सबै सांसदहरूको रुचि र विज्ञता एउटै नहुने भएकाले जसलाई जुन विषयमा गहिरो ज्ञान र दक्षता छ, पदीय मर्यादाक्रमलाई बिर्सिएर त्यही विषयमा नेतृत्व गर्नेगरी संसद्मा उनीहरू प्रस्तुत हुन सकेमा पार्टीको प्रभावकारिता अझ बढ्ने उहाँको सुझाव छ ।
सांसदहरूलाई तथ्य र तथ्यांकका आधारमा संसद्मा प्रस्तुत गराउन पार्टीले नयाँ र व्यवस्थित संयन्त्रको विकास गरिरहेको जानकारी पनि कार्यक्रममा गराइएको छ । एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सांसदहरूको भूमिकालाई थप रचनात्मक र परिणाममुखी बनाउन निकट भविष्यमै विषयगत र क्लस्टरगत रूपमा थप छलफल तथा प्रशिक्षणहरू आयोजना गरिने जानकारी दिनुभएको छ । संसद्मा बोल्दा तथ्यपरक विषयवस्तु आवश्यक पर्ने कुरालाई मनन गर्दै पार्टीले आवश्यक सामग्री संकलन र व्यवस्थापन गर्न मुद्दा संकलन केन्द्र (इस्यु कलेक्सन सेन्टर) स्थापना गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । यसबाट सांसदहरूले प्रामाणिक र सत्यतथ्यमा आधारित सूचना प्राप्त गरी सदनमा आफ्ना कुराहरू तर्कपूर्ण ढंगले राख्नसक्ने विश्वास लिइएको छ ।
सोही कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको कार्यप्रणाली, अधिकार क्षेत्र, संसदीय समितिहरूको काम, कर्तव्य र अधिकारका साथै समितिहरूमा उठाउनुपर्ने महत्त्वपूर्ण प्राविधिक विषयहरूमा सांसदहरूलाई विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो । एमालेको यो कदमले आगामी दिनमा संघीय संसद्मा प्रतिपक्षी दलको भूमिकालाई थप तथ्यपरक, प्रविधिमैत्री र जनमुखी बनाउने अपेक्षा गरिएको छ । जनताका आवाजलाई सदनसम्म पुर्याउन र सरकारलाई जवाफदेही बनाउन यो प्रशिक्षणले सांसदहरूलाई महत्त्वपूर्ण ऊर्जा थपेको सहभागी नेताहरूले बताएका छन् ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर