काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको जनाएको छ। उपल्लो जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
विभागकी बाढीविद् सरस्वती विष्टका अनुसार उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने देखिएको छ।
“आज साँझसम्म कोशी नदीको जलसतह ४ दशमलव ७८ मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ,” उहाँले भन्नुभयो, “आज राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले ६ मिटरको सतर्कता तह पार गर्न सक्छ।”
उहाँका अनुसार नदीको जलसतह ६ मिटर पुगेमा सतर्कता तह र ७ मिटर पुगेमा खतरा तह पार गरेको मानिनेछ। त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिनुभयो।
उहाँले बाढीको अवस्थाको निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार पूर्वतयारी तथा प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताउनुभयो।
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाउँदै बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। विभागले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
सम्बन्धित निकायहरूले नदीको बहाव, मौसमको अवस्था र सम्भावित जोखिमबारे नियमित जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर