काठमाडौँ । निरन्तर वर्षासँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सडक जलमग्न भएका छन्। सडकमा पानी जम्दा सवारीसाधन सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार सडकमा पानी जमेकाले केही स्थानमा सवारीसाधन एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसले सवारी आवागमनमा असहजता ल्याउनुका साथै दुर्घटनाको सम्भावना पनि बढाएको उहाँले बताउनुभयो।
उहाँका अनुसार सार्वजनिक बिदा परेकाले ट्राफिक चाप सामान्य रहे पनि जलमग्न सडकका कारण चालकहरूले विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।
“हाल ट्राफिक व्यवस्थापन सामान्य अवस्थामा छ। सार्वजनिक बिदाका कारण चाप कम भएकाले सहजता भएको छ। तर सडकमा पानी जम्दा सवारी एउटै लेनबाट सञ्चालन गर्नुपर्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ,” उहाँले भन्नुभयो।
प्रहरीका अनुसार माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा आज साँझसमेत सडकमा पानी जमेको थियो। वर्षायाममा यस्ता समस्या दोहोरिने भएकाले दीर्घकालीन समाधानका लागि प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापन आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ।
ट्राफिक प्रहरीले चालकहरूलाई पानी जमेको सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर