विद्यालयमा पढ्दा गुरुजीले भन्नुहुन्थ्यो, ‘ज्ञान नै सबैभन्दा ठूलो सम्पत्ति हो ।’ हामी सानो मुखले दोहोर्याउँथ्यौं, ‘ज्ञान नै सबैभन्दा ठूलो सम्पत्ति हो ।’ यो वाक्य कण्ठस्थ थियो, परीक्षामा लेखिन्थ्यो, नम्बर आउँथ्यो । तर पछि थाहा भयो, त्यो वाक्य परीक्षाको उत्तरपुस्तिकामा मात्र सत्य थियो । उत्तरपुस्तिकामा बुझाएर बाहिर निस्किएपछि ? त्यो वाक्य उल्टिन्छ, कलाबाजी खान्छ, र नयाँ रूपमा प्रकट हुन्छ, ‘पैसा नै सबैभन्दा ठूलो सम्पत्ति हो ।’ र यो नयाँ वाक्यलाई न परीक्षामा लेख्नुपर्छ, न गुरुजीले सिकाउनुपर्छ, समाजले आफैं सिकाउँछ, दिनरात, घरदेखि गल्लीसम्म, चियापसलदेखि विवाह भोजसम्म ।
विवाह भोजको कुरा आयो भने एउटा चिरपरिचित दृश्य आँखाअघि आउँछ । दुई मान्छे छन्, एउटा डाक्टर, अर्को ठेकेदार । डाक्टरको हातमा वर्षौंको पढाइ छ, रातदिनको परिश्रम छ, मान्छे बचाउने सीप छ । ठेकेदारको हातमा, नोटको गड्डी छ, मोबाइलमा जग्गाको तस्वीर छ र मुखमा ठूलो हाँसो छ । भोजमा कसलाई अगाडिको कुर्सी मिल्छ ? कसलाई ‘आउनुस न सर’ भनिन्छ ? कसको वरिपरि मान्छे झुम्मिन्छन ? ठेकेदारको । डाक्टर ? ऊ एक छेउमा चिया लिएर बसेको छ, एक्लै, चुपचाप, र मनमनै सोच्दैछ ‘हजुर, यही भयो ।’
जब समाजले गाडीको फोटोभन्दा विचारको गहिराइलाई बढी ध्यान दिन थाल्छ- तब मात्र यो चक्र तोडिने छ । तर, त्यो दिन कहिले आउला ? थाहा छैन । किनकि त्यो दिन ल्याउने काम पनि ज्ञानीले नै गर्नु पर्छ र, ज्ञानीलाई अहिले फुर्सद छैन, ऊ या त आलोचना सुनिरहेको छ, या विदेश उड्दैछ ।
यथार्थ : ‘विद्या ददाति विनयम्’ यो संस्कृत श्लोक हो । तर यो देशमा यसको अलग्गै अनुवाद छ, ‘विद्याले दिन्छ विनय, पैसाले दिन्छ विजय ।’ विजयको कुरा आउँदा समाजको एउटा तीतो सत्य छर्लंग हुन्छ, यहाँ सम्मान किनिन्छ, तर कमाइन्न । जसको गाडी ठूलो छ, ऊ ज्ञानी मानिन्छ । जसको घर पक्की छ, ऊ बुद्धिमान मानिन्छ । जसको खल्तीमा पैसा छ, उसको मुखबाट निस्किने प्रत्येक वाक्य ‘ज्ञान’ मानिन्छ । चाहे त्यो वाक्यले खुला आकाशलाई हरियो भनोस्, चाहे पानीलाई आगो भनोस् ताली बज्छ, टाउका हल्लिन्छन्, र ‘बिल्कुल ठीक सर’ भनिन्छ । र उही कुरा एउटा गरिब ज्ञानीले बोल्यो भने? ‘अँ, के था यसलाई ।’ यो समाजको तराजु हो, एउटा पल्लामा पैसा राखिन्छ, अर्कोमा ज्ञान- पैसा सधैं तल झर्छ, ज्ञान सधैं माथि उड्छ ।
माथि उड्ने ज्ञानको अर्को दुःखद यात्रा हुन्छ, आलोचनाको मार्ग । जसले साँच्चिकै केही जान्दछ, जसले विश्लेषण गर्नसक्छ, जसले समस्या देख्न र समाधान सुझाउनसक्छ, त्यो मान्छेको भाग्यमा प्रशंसा छैन, आलोचनामात्र छ । ‘यो धेरै बोल्छ’, ‘यसलाई आफ्नो ढिँडो देखाउनु छ’, ‘किताब पढेर के हुन्छ र व्यवहारमा ?’ यी टिप्पणीहरू ज्ञानीको नित्य साथी हुन्छन् । र उही समाज, उही भिड, पैसावालाको गलत निर्णयमा पनि ताली बजाउँछ । किनकि पैसावालाको गलत निर्णय पनि ‘अनुभव’ हो, ज्ञानीको सही निर्णय ‘किताबी’मात्र हो ।
यथार्थ : नोबेल पुरस्कार विजेताहरूको जीवनी पढ्दा एउटा साझा सूत्र भेटिन्छ- उनीहरूमध्ये धेरैलाई आफ्नो कालमा समाजले अस्वीकार गर्यो, उपहास गर्यो । पैसाले होइन, समयले उनको ज्ञानको मूल्य तोक्यो । तर तबसम्म उनीहरू थिएनन्-बाँकी थियोमात्र इतिहास । इतिहासले ज्ञानीलाई न्याय दिन्छ, तर प्रायः ज्ञानी बाँचेको बेला होइन, मरेपछि । जिउँदो छँदा, उपहास, मृत्युपछि-उपाधि । जिउँदो छँदा बेवास्ता, मृत्युपछि सम्मान । यो समाजको सबैभन्दा क्रूर विडम्बना हो । तर पैसावालाको हालत हेरौं पैसा छँदासम्म सम्मान, पैसा नभएपछि ? ’बेचारा !’ यो एउटा वाक्यमा समाजको सम्पूर्ण दर्शन छ- न ज्ञानको मूल्य, न चरित्रको मूल्य छ त केवल पैसाको, र पैसा गयो कि मूल्य पनि जान्छ ।
मूल्य जाने कुरामा एउटा चियापसलको दृश्य सम्झौं, जहाँ जिन्दगीका सबैभन्दा गहिरा दर्शन जन्मिन्छन् । टोलको एउटा पढेलेखेको युवा बस्छ, इन्जिनियरिङ पढेको, राम्रो विश्लेषण गर्छ, सामाजिक समस्याको जरो देख्छ । ऊ बोल्छ- कसैले सुन्दैन, अथवा सुने पनि ‘हम्म’ भनेर फोनतिर फर्किन्छन् । त्यसपछि टोलकै एउटा पैसावाला आउँछ- जसले जीवनमा कुनै किताब पूरा पढेको छैन, जसको तर्क ‘मैले सुन्याँ थिँए’बाट सुरु हुन्छ र ‘त्यसैले हो’ मा पुगेर टुंगिन्छ । ऊ बोल्छ सबैले मोबाइल राख्छन्, टाउको हल्लाउँछन्, हाँस्छन्, ‘हो हो’ भन्छन् । यो दुई दृश्यको बीचमा समाजको सम्पूर्ण रोगको निदान छ ।
प्रसंगः ‘खाली भाँडो धेरै बज्छ’ यो उखान ज्ञानीलाई सुनाइन्छ । तर साँचो त यो हो कि भरिएको भाँडोले बज्न छोड्दैन, समाजले सुन्न छोड्छ । सुन्न छोड्ने समाजको मनोविज्ञान बुझ्न आफैं एउटा सरल प्रयोग गर्नुस्- सामाजिक सञ्जालमा हेर्नुस् । एउटा गहिरो, सोचाउने लेख राखिन्छ, पाँच जनाले हेर्छन्, दुई जनाले ‘लाइक’ गर्छन् । त्यहीबेला एउटा पैसावालाले आफ्नो नयाँ गाडीको फोटो राख्छ, पाँच सय लाइक आउँछन्, सय कमेन्ट आउँछन् ‘वाह सर !’, ‘बधाई छ दाइ !’, ‘मज्जाले चलाउनुस् हजुर !’ ज्ञानले लेखेको विचारलाई पाँच लाइक, गाडीलाई पाँच सय- यो अनुपातमै समाजको प्राथमिकता लुकेको छ । एल्गोरिदम दोषी होइन, आखिर एल्गोरिदम त मान्छेको व्यवहार हेरेर बन्छ- मान्छेले के हेर्छ, के ‘लाइक’ गर्छ, त्यही देखाउँछ । दोष एल्गोरिदमको होइन, दोष त्यो औंला चलाउने मानसिकताको हो ।
माानसिकताको यो रोग जब व्यक्तिबाट समाजमा फैलिन्छ, तब के हुन्छ हेरौं । एउटा विद्यालयमा एकदिन दुईजना अभिभावक आउँछन्- एकजना किसान, अर्का व्यापारी । किसानको छोराले कक्षामा पहिलोस्थान पायो, व्यापारीको छोराले अन्तिम । तर विद्यालयको वार्षिकोत्सवमा व्यापारीलाई ‘मुख्य अतिथि’ बनाइयो । अनि किसान ? ऊ पछाडिको बेञ्चमा बस्यो । किनकि व्यापारीले विद्यालयको भवन बनाउन ‘सहयोग’ गरेको थियो । सहयोग ! यो शब्दको पछाडि एउटा गहिरो सत्य छ, जहाँ पैसा जान्छ, सम्मान त्यहीँ जान्छ । ज्ञान र योग्यता पछाडिको बेञ्चमा बस्छन्– विनम्रतापूर्वक, मौनतापूर्वक, वर्षपछि वर्ष हुँदै ।
जिज्ञासाः ‘बुद्धिमान मान्छेले सोच्छ, मूर्ख मान्छेले सुनाउँछ ।’ र यो समाजमा सुनाउनेलाई पुरस्कार छ, सोच्नेलाई उपेक्षा। त्यसैले अब सोच्ने मान्छेले पनि सिकिसकेको छ- सुनाऊ, सम्मान पाऊ । सम्मान पाउने र नपाउनेबीचको यो खाडलले समाजलाई कहाँ लग्छ भन्ने प्रश्न गहिरो छ । जब ज्ञानीले सम्मान पाउँदैन, तब ऊ एउटै काम गर्छ-या त चुप बस्छ, या त देश छोड्छ । चुप बस्नेको ज्ञान व्यर्थ जान्छ-ऊ सहीजनको गल्ती देख्छ, तर बोल्दैन । देश छोड्नेको ज्ञान अर्को देशको काम लाग्छ-अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानाडाका विश्वविद्यालयहरूमा नेपाली प्रतिभा छन् जो यहाँ ‘बेकाम’ थिए । त्यहाँ उनीहरूको ज्ञानको मूल्य छ- किनकि ती देशहरूले ज्ञानलाई तराजुमा तौल्छन्, नकि नोटलाई । र यहाँ ? यहाँ जो गए उनको ठाउँ खाली छ, र त्यो खाली ठाउँ भर्न अर्को कोही छैन-किनकि जो यहाँ बसे, उनीहरूको वर्षौंको उपेक्षाले सिकाइसकेको छ, ‘चुप बस ।’
उड्दैछ- तर सबै उड्दैनन् । केही यहीँ बस्छन् : हठले, माटोको मायाले, र एउटा सानो आशाले कि एक दिन यो देशमा ज्ञानले पनि नोटजत्तिकै तौल पाउला । त्यो आशा झिनो छ, धमिलो छ, तर छ । र, जबसम्म त्यो आशा छ, तबसम्म लेखिनेछ, भनिनेछ, भले समाजले सुनोस् वा नसुनोस् । किनकि साँचो कुरा भन्नु पनि एउटा ज्ञान हो, र, त्यो ज्ञान बेच्न पैसा चाहिँदैन, बेच्न पाइँदैन पनि ।
‘चुप बस’ भन्ने आदेश समाजले मुखले दिँदैन-व्यवहारले दिन्छ । जब हरेक कोसिसमा आलोचना मिल्छ, जब हरेक नयाँ विचारमा ‘यो हुँदैन’ भन्ने सुनिन्छ, जब हरेक सफलतामा ‘भाग्यले मिलेको’ भनिन्छ–तब मान्छे सिक्छ । ऊ सिक्छ कि यहाँ ज्ञान देखाउनु खतरनाक छ । ऊ सिक्छ कि यहाँ सक्षम हुनु अपराध हो । ऊ सिक्छ कि यहाँ बाँच्नु छ भने– या त पैसा कमाऊ, या त चुप बस । यो ‘सिकाइ’ कुनै विद्यालयको पाठ्यक्रममा छैन-तर यो समाजको सबैभन्दा प्रभावकारी शिक्षाविधि हो । बच्चाले अक्षर सिक्छ विद्यालयमा, तर यो पाठ सिक्छ समाजमा- र यो पाठ उसले जीवनभर बिर्सिँदैन ।
यथार्थः ‘जहाँ पैसा छ, त्यहाँ इज्जत छ- जहाँ ज्ञान छ, त्यहाँ बहस छ ।’ यो हाम्रो समाजको अलिखित संविधानको सबैभन्दा मुख्य धारा हो । यो धाराले देशको विकासमा के असर पार्छ भनी अब कुनै विज्ञानशास्त्र, अर्थशास्त्र, समाजशास्त्र अनि दर्शनशास्त्रको किताब खोल्नु पर्दैन- आँखा खोले पुग्छ । जुन देशमा ज्ञानको मूल्य छैन, त्यो देशमा नवाचार हुँदैन । जुन समाजमा योग्यतालाई इज्जत छैन, त्यो समाजले राम्रो निर्णय गर्न सक्दैन । जुन व्यवस्थामा पैसाले सबथोक किन्छ-न्याय पनि, पद पनि, सम्मान पनि-त्यो व्यवस्थाभित्रैबाट खोक्रो हुदै जान्छ । काठको खम्बाजस्तो-बाहिरबाट ठीक देखिन्छ, भित्रबाट दीमकले खाइसकेको । दीमक यहाँ पैसाको अहंकार हो, अज्ञानताको गर्व हो, र ज्ञानप्रतिको अवमानना हो ।
उपेक्षाको यो सामाजिक रोगको उपचार कहाँ खोज्ने ? फार्मेसीमा पाइँदैन । यो उपचार त मानसिकतामा छ–एउटा पुस्ताले जब सोच्न थाल्छ कि सम्मान गाडीले हुँदैन, ज्ञानले हुन्छ, जब आमाबाबुले छोराछोरीलाई भन्न थाल्छन्- ‘पैसा कमाऊ, तर पहिले सिक’, जब समाजले गाडीको फोटोभन्दा विचारको गहिराइलाई बढी ध्यानदिन थाल्छ तबमात्र यो चक्र तोडिने छ । तर, त्यो दिन कहिले आउला ? थाहा छैन । किनकि त्यो दिन ल्याउने काम पनि ज्ञानीले नै गर्नुपर्छ र, ज्ञानीलाई अहिले फुर्सद छैन, ऊ या त आलोचना सुनिरहेको छ, या विदेश उड्दैछ ।
उड्दैछ तर सबै उड्दैनन् । केही यहीँ बस्छन्, हठले, माटोको मायाले र एउटा सानो आशाले कि एकदिन यो देशमा ज्ञानले पनि नोटजत्तिकै तौल पाउला । त्यो आशा झिनो छ, धमिलो छ, तर छ । र, जबसम्म त्यो आशा छ, तबसम्म लेखिनेछ, भनिनेछ-भले समाजले सुनोस् वा नसुनोस् । किनकि साँचो कुरा भन्नु पनि एउटा ज्ञान हो-र त्यो ज्ञान बेच्न पैसा चाहिँदैन, बेच्न पाइँदैन । पैसाले किन्न सकिने सबथोक किनिनेछ-तर ज्ञानको आत्मा किन्न सकिँदैन । र, यही एउटा कुरो छ जसमा ज्ञानी, पैसावालाभन्दा धनी छ-सधैं, हरेक युगमा ।
(लेखक ई.गौतम एरोस्पेस इन्जिनियर, प्रविधि विशेषज्ञ र स्वतन्त्र विश्लेषक हुनुहुन्छ ।)







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर