कहिलेकाहीँ एउटा व्यक्तिको मृत्युले एउटा परिवारमात्र होइन, एउटा समुदाय नै मौन बनाइदिन्छ । अमेरिकाको ओहायो राज्यमा बसोवास गर्दै आउनुभएका भुटानी मूलका नेपाली सञ्चारकर्मी, उद्यमी तथा समुदायसेवी हरि सुवेदीको निधनले यस्तै शून्यता सिर्जना गरेको छ । उहाँ अब हामीबीच हुनुहुन्न तर उहाँले छोडेर जानुभएको आवाज, योगदान र सम्झना लामो समयसम्म समुदायमा जीवित रहनेछन् ।
जुलाई ६, २०२६ देखि सम्पर्कविहीन रहनुभएका सुवेदी मृत अवस्थामा फेला पर्नुभएको थियो । परिवारले उहाँको पहिचान गर्दै हिन्दु परम्परानुसार अन्त्येष्टि सम्पन्न गरिएको छ । घटनाको कारण र मृत्युको प्रकृतिबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ओहायोको ह्यामिल्टनस्थित डिक्सी हाइवेमा रहेको उहाँले सञ्चालन गर्दै आएको अन्नपूर्णा ग्रोसरीज एलएलसी रहेको भवनमा आगलागी भएपछि अग्निनियन्त्रकहरूले भवनभित्र एक व्यक्तिको शव फेला पारेका थिए । पछि उक्त शव हरि सुवेदीकै भएको पुष्टि भयो । यो समाचार सार्वजनिक भएसँगै अमेरिकाभरि रहेका भुटानी नेपाली समुदाय शोकमा डुब्यो ।
सञ्चार क्षेत्रमा सक्रिय रहँदै उहाँले सञ्चालन गर्नुभएको ‘हाम्रो आवाज’ नेपाली रेडियो कार्यक्रम ओहायोमात्र होइन, अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीभाषी समुदायबीच लोकप्रिय बन्यो । समुदायका समस्या, उपलब्धि, सांस्कृतिक गतिविधि र प्रेरणादायी व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउने उहाँको प्रयासले धेरैलाई आफ्नो आवाज अभिव्यक्त गर्ने अवसर प्रदान गर्यो ।
सन् १९७८ मा भुटानको गेयलेफुगस्थित दानाबारीमा जन्मिनुभएका हरि सुवेदी कमलापति सुवेदी र वसुन्धरा सुवेदीका आठ सन्तानमध्ये तेस्रो हुनुहुन्थ्यो । बाल्यकालदेखि नै अध्ययनशील र जिज्ञासु स्वभावका उहाँले नेपालमा रहँदा त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान विषय अध्ययन गर्नुभएको थियो । भुटानी शरणार्थी पुनर्वास कार्यक्रमअन्तर्गत सन् २००८ मा अमेरिका पुग्नुभएका उहाँ सुरुमा न्यू मेक्सिकोमा बसोबास गर्नुभयो र पछि सन् २०१६ मा ओहायो सर्नुभयो, जहाँ उहाँले व्यवसाय, सञ्चार र सामुदायिक सेवाको यात्रा अघि बढाउनुभयो ।
अमेरिकामा बसोवास सुरु गरेपछि पनि उहाँले शिक्षालाई निरन्तरता दिनुभयो । मास कम्युनिकेशन अध्ययनपछि सञ्चार क्षेत्रमा सक्रिय रहँदै उहाँले सञ्चालन गर्नुभएको ‘हाम्रो आवाज’ नेपाली रेडियो कार्यक्रम ओहायोमात्र होइन, अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीभाषी समुदायबीच लोकप्रिय बन्यो । समुदायका समस्या, उपलब्धि, सांस्कृतिक गतिविधि र प्रेरणादायी व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउने उहाँको प्रयासले धेरैलाई आफ्नो आवाज अभिव्यक्त गर्ने अवसर प्रदान गर्यो ।
उहाँको श्रीमतीको क्यान्सर उपचारका कारण केही समय उक्त कार्यक्रम स्थगित गर्नुपरेको थियो । कार्यक्रमलाई नयाँ स्वरूपमा पुनः सञ्चालन गर्ने तयारी भइरहेका बेला उहाँको असामयिक निधन भयो । त्यो अधुरो योजना अब सम्झनाको एउटा पीडादायी पाटो बनेको छ । हरि सुवेदीलाई केवल सञ्चारकर्मीका रूपमा मात्र सीमित गर्नु अपूरो हुन्छ । उहाँ एक सफल उद्यमी पनि हुनुहुन्थ्यो । व्यवसायमार्फत परिवारको भविष्य सुनिश्चित गर्नुका साथै समुदायका लागि रोजगारी र सेवा सिर्जना गर्ने प्रयास उहाँले गर्नुभयो । सञ्चार र व्यवसाय दुवै क्षेत्रमा जिम्मेवारीपूर्वक अघि बढ्ने उहाँको क्षमता प्रेरणादायी थियो ।
उहाँको सबैभन्दा ठूलो विशेषता भनेको समुदायलाई जोड्ने क्षमता थियो । अमेरिका जस्तो व्यस्त जीवनशैली भएको देशमा पनि नेपाली भाषा, कला, संस्कृति र पहिचानलाई जोगाउन उहाँले निरन्तर काम गर्नुभयो । विभिन्न व्यक्तित्वसँग अन्तर्वार्ता सञ्चालन गरी उनीहरूको अनुभव, संघर्ष र सफलतालाई समुदायसम्म पुर्याउने उहाँको प्रयासले नयाँ पुस्तालाई पनि आफ्नो जरोसँग जोडिराख्न मद्दत पुर्यायो । उहाँको निधनपछि सामाजिक सञ्जालमा व्यक्त भएका सयौं श्रद्धाञ्जलि सन्देशहरूले उहाँप्रतिको सम्मान स्पष्ट देखाउँछन् । कसैले उहाँलाई असल मित्रका रूपमा सम्झिए, कसैले सहयोगी दाजुका रूपमा, त कसैले समुदायका लागि सधैं उपलब्ध सञ्चारकर्मीका रूपमा । यी अभिव्यक्तिहरूले देखाउँछन्- उहाँले केवल चिनजान होइन, मन जित्नुभएको थियो ।
मृत्युअघि सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको एक स्ट्याटस तथा साथीभाइ र आफन्तका नाममा लेखिएको पत्रमा उहाँले आफ्ना व्यावसायिक साझेदार भीम दुलाल र रमेश कतानीप्रति गम्भीर आरोप लगाउनुभएको उल्लेख छ । ती सामग्रीमा आफू व्यवसायमा धोका, आर्थिक अन्याय र लापरबाहीको सिकार भएको दाबी गर्दै परिवारका लागि न्यायको माग गरिएको छ । यद्यपि, यी आरोपहरू हालसम्म सम्बन्धित निकायबाट प्रमाणित भइसकेका छैनन् र आरोपित पक्षको प्रतिक्रिया सार्वजनिक रूपमा आएको छैन । त्यसैले यी विषय अनुसन्धानकै क्रममा रहेका दाबीका रूपमा हेर्न आवश्यक छ ।
हरि सुवेदीको जीवनले संघर्ष, परिश्रम र समुदायप्रतिको समर्पणको पाठ सिकाउँछ । उहाँले आफ्नो कर्मबाट धेरैलाई जोड्नुभयो, प्रेरित गर्नुभयो र बोल्न नसक्नेहरूको आवाज बन्नुभयो । आज उहाँ स्वयं मौन हुनुभएको छ, तर उहाँका काम र योगदानले उहाँलाई सधैं जीवित राख्नेछन् ।
हाल उहाँको मृत्यु र आगलागीसम्बन्धी घटनाबारे ह्यामिल्टन फायर डिपार्टमेन्ट तथा ओहायोका सम्बन्धित निकायहरूले अनुसन्धान जारी राखेका छन् । घटनाको वास्तविक कारण, मृत्युको प्रकृति तथा सार्वजनिक गरिएका आरोपबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा आधिकारिक निष्कर्ष आउन बाँकी छ ।
हरि सुवेदीको जीवनलाई धेरैले विस्थापित भुटानी नेपाली समुदायको संघर्ष, पुनःस्थापना, आत्मनिर्भरता र पहिचानको यात्राको प्रतिनिधि उदाहरणका रूपमा सम्झिरहेका छन् । शरणार्थी जीवनबाट अमेरिका पुगेर सञ्चार, उद्यमशीलता र सामुदायिक सेवामार्फत आफूलाई स्थापित गर्ने उहाँको यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको थियो । उहाँका दाजु कृष्ण सुवेदीका अनुसार हरि सुवेदी अध्ययनशील, जिम्मेवार र सहयोगी स्वभावका व्यक्ति हुनुहुन्थ्यो । उहाँको निधनले परिवारसँगै सम्पूर्ण समुदायलाई अपूरणीय क्षति पुगेको छ । वास्तवमा केही व्यक्तिहरूको अभाव संख्या होइन, प्रभावले मापन गरिन्छ- हरि सुवेदी त्यस्तै व्यक्तित्व हुनुहुन्थ्यो ।
यस घटनाले विदेशमा रहेका नेपाली तथा भुटानी मूलका समुदायले भोगिरहेका आर्थिक, सामाजिक र मानसिक चुनौतीबारे गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ । समुदायभित्र एकअर्कालाई समयमै बुझ्ने, साथदिने र मानसिक स्वास्थ्यबारे खुला संवाद गर्ने संस्कृतिको आवश्यकता झन् बढेको देखिन्छ । हरि सुवेदीको जीवनले संघर्ष, परिश्रम र समुदायप्रतिको समर्पणको पाठ सिकाउँछ । उहाँले आफ्नो कर्मबाट धेरैलाई जोड्नुभयो, प्रेरित गर्नुभयो र बोल्न नसक्नेहरूको आवाज बन्नुभयो । आज उहाँ स्वयं मौन हुनुभएको छ, तर उहाँका काम र योगदानले उहाँलाई सधैं जीवित राख्नेछन् ।
हरि दा, तपाईंको आवाज अब रेडियोका तरंगमा सुनिने छैन । तपाईंका प्रश्न, अन्तर्वार्ता र मुस्कान अब सम्झनामा मात्र रहनेछन् । तर, तपाईंले निर्माण गर्नुभएको सम्बन्ध, पुर्याउनुभएको योगदान र छोडेर जानुभएको प्रेरणा कहिल्यै मेटिने छैन । यसैबीच सुवेदीको परिवार र सन्तानको सहयोगका लागि ‘गो फण्ड मि’ अभियान पनि सुरु गरिएको छ, जसमा समुदायका सदस्यहरूले आर्थिक सहयोग जुटाइरहेका छन् । सुवेदी परिवारले स्वर्गीय हरि सुवेदीको स्मृतिमा आयोजना गरिने १३औं दिनको पुण्यतिथि कार्यक्रम तथा तीनदिने श्रीमद्भागवत धार्मिक अनुष्ठानमा सहभागी भई श्रद्धाञ्जलि अर्पण गर्न सम्पूर्ण आफन्त, इष्टमित्र तथा समुदायका सदस्यलाई हार्दिक अनुरोध पनि गरेको थियो ।
जुलाई १८ मा पुण्यतिथि कार्यक्रम भएको छ भने जुलाई १९ देखि २१ सम्म श्रीमद्भागवत अनुष्ठान सञ्चालन भइरहेको छ । परिवारले यस दुःखद् घडीमा विभिन्न माध्यमबाट साथ, सान्त्वना र सहानुभूति व्यक्त गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ । प्राप्त माया र समर्थन जीवनभर स्मरणीय रहने उल्लेख गर्दै आगामी कार्यक्रममा उपस्थितिका लागि आग्रह गरिएको छ । अलविदा हरि दा । तपाईंको आत्माले चिरशान्ति पाओस् । तपाईंको योगदान सधैं सम्मानका साथ सम्झिइनेछ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर