अबको करिब दश महिनापछि वर्तमान स्थानीय सरकारको पाँचवर्षे कार्यकाल समाप्त हुनेछ । नेपालको संविधान अनुसार त्यसपछि स्थानीय तहको निर्वाचन अनिवार्य सम्पन्न गर्नुपर्नेछ । त्यसैले आगामी स्थानीय निर्वाचनको चर्चा, समीक्षा र तयारी सुरु हुनु स्वाभाविक हो । लोकतान्त्रिक व्यवस्थामा चुनाव कुनै एकदिनको घटनामात्र होइन, यो निरन्तर चलिरहने राजनीतिक प्रक्रिया हो । भनिन्छ, चुनाव सकिएको भोलिपल्टदेखि अर्को चुनावको तयारी सुरु गर्नुपर्छ तर नेपालको राजनीतिक अभ्यास फरक देखिन्छ । हाम्रा अधिकांश राजनीतिक दलहरू उम्मेदवार छनोटमा कहिल्यै समयमै तयार देखिँदैनन् । दर्ता गर्ने अन्तिम दिनसम्म कसलाई उम्मेदवार बनाउने भन्नेमा अन्योल कायम रहने, अन्तिम समयमा गुटगत भागबण्डा मिलाउने र योग्यताभन्दा शक्तिको आधारमा निर्णय गर्ने प्रवृत्ति विगतदेखि दोहोरिँदै आएको छ । यसले दलभित्रको लोकतन्त्र कमजोर भएको मात्र होइन, मतदाताप्रतिको उत्तरदायित्व कमजोर रहेको देखाउँछ ।
यदि वर्तमान जनप्रतिनिधिको कार्यसम्पादन सन्तोषजनक छैन भने दलहरूले नयाँ र योग्य व्यक्तिको खोजी गर्नुपर्छ । त्यो व्यक्ति दलभित्रकै भए राम्रो, तर ऊ जनतामा भिजेको, सामाजिक रूपमा स्वीकार्य, इमानदार र काम गर्नसक्ने हुनुपर्छ । यदि दलभित्र यस्तो व्यक्तिलाई गुटबन्दीका कारण अवसर दिन सकिँदैन भने समाजमा प्रतिष्ठा कमाएका स्वतन्त्र व्यक्तिलाई समेत उम्मेदवार बनाउन सक्ने उदारता दलहरूले देखाउनुपर्छ भन्ने मत पनि धेरैले व्यक्त गरे ।
स्थानीय निर्वाचनको विशेषता भनेको यो राष्ट्रिय निर्वाचनभन्दा फरक हुनु हो । प्रतिनिधिसभा वा प्रदेशसभाको चुनावमा मतदाताले दल, विचारधारा र राष्ट्रिय राजनीतिलाई बढी महत्त्व दिनसक्छन् तर स्थानीय निर्वाचनमा मतदाताको प्राथमिकता फरक हुन्छ । उनीहरूले आफ्नो घर, टोल, गाउँ वा नगरको विकाससँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तिलाई खोजिरहेका हुन्छन् । त्यसैले स्थानीय चुनावमा उम्मेदवारको व्यक्तिगत चरित्र, इमानदारी, कार्यक्षमता, जनसम्पर्क, लोकप्रियता, अनुभव र सेवाभावलाई मतदाताले दलभन्दा माथि राख्नेगरेका छन् ।
दुर्भाग्यवस, राजनीतिक दलहरूले यस मनोविज्ञानलाई अझै गम्भीर रूपमा बुझेको देखिँदैन । योग्य, लोकप्रिय र जनतासँग घुलमिल भएका व्यक्तिभन्दा गुटगत सन्तुलन मिलाउने, नेताको निकटता हेर्ने वा आन्तरिक शक्ति समीकरणका आधारमा टिकट वितरण गर्ने परम्परा अझै कायम छ । परिणामस्वरूप धेरै स्थानमा जनताले चाहेका उम्मेदवारले अवसर पाउँदैनन् भने कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढ्ने गरेको छ । यही पृष्ठभूमिमा २०८४ को स्थानीय निर्वाचनलाई विगतका कमजोरी सुधार्ने अवसरका रूपमा लिन सकिन्छ । राजनीतिक दलहरूले यसपटक कम्तीमा एउटा कुरा बुझ्नुपर्छ स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । त्यसैले उम्मेदवार छनोट गर्दा जनताको चाहना र विश्वासलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
यसै सन्दर्भमा यो स्तम्भकारले विभिन्न स्थानका केही मतदातासँग कुराकानी गरेर उनीहरूको धारणा बुझ्ने प्रयास गरेको थियो । फरक फरक पृष्ठभूमिका मतदातासँग गरिएको संवादबाट केही साझा निष्कर्ष प्राप्त भए । अधिकांश मतदाताको पहिलो सुझाव थियो हाल कार्यरत जनप्रतिनिधिहरूको निष्पक्ष कार्यसम्पादन मूल्यांकन गरिनुपर्छ । उनीहरूलाई पुनः उम्मेदवार बनाउने कि नबनाउने भन्ने निर्णय केवल दलभित्रका नेताहरूको चाहनाका आधारमा होइन, उनीहरूले पाँच वर्षमा गरेको कामको वस्तुगत समीक्षा र सेवाग्राहीको सन्तुष्टिका आधारमा हुनुपर्छ । यदि जनप्रतिनिधिले इमानदारीपूर्वक काम गरेका छन्, जनताको विश्वास जितेका छन् र विकास निर्माणसँगै सुशासन कायम गर्न सफल भएका छन् भने उनीहरूलाई पुनः उम्मेदवार बनाउन कुनै हिच्किचाहट हुनु हुँदैन ।
मतदाताहरूको भनाइमा, कुनै व्यक्ति एउटै कार्यकालमा राम्रो काम गरिरहेको छ भने केवल गुटगत असन्तुष्टिका कारण उसको टिकट काट्नु न दलको हितमा हुन्छ, न जनताको तर हाम्रो राजनीतिक संस्कृतिमा निर्णय धेरै पटक गुटगत समीकरणबाट प्रभावित हुने गरेका छन् । त्यसैले दलहरूले यो कमजोरी सच्याउन सक्लान् कि नसक्लान् भन्नेमा धेरै मतदाता अझै आशावादीभन्दा बढी शंकालु देखिन्छन् । दोस्रो सुझाव अझ महत्त्वपूर्ण थियो । यदि वर्तमान जनप्रतिनिधिको कार्यसम्पादन सन्तोषजनक छैन भने दलहरूले नयाँ र योग्य व्यक्तिको खोजी गर्नुपर्छ । त्यो व्यक्ति दलभित्रकै भए राम्रो, तर ऊ जनतामा भिजेको, सामाजिक रूपमा स्वीकार्य, इमानदार र काम गर्नसक्ने हुनुपर्छ । यदि दलभित्र यस्तो व्यक्तिलाई गुटबन्दीका कारण अवसर दिन सकिँदैन भने समाजमा प्रतिष्ठा कमाएका स्वतन्त्र व्यक्तिलाई समेत उम्मेदवार बनाउनसक्ने उदारता दलहरूले देखाउनुपर्छ भन्ने मत पनि धेरैले व्यक्त गरे ।
यद्यपि, नेपालको वर्तमान राजनीतिक संस्कृतिमा यस्तो सम्भावना कति व्यावहारिक होला भन्नेमा धेरैले शंका पनि व्यक्त गरे । किनभने यहाँ पार्टीभन्दा व्यक्तित्वलाई प्राथमिकता दिने संस्कार अझै पूर्ण रूपमा विकसित भइसकेको छैन । दलहरू अझै आफ्नो संगठनभित्रको शक्ति सन्तुलन मिलाउन बढी व्यस्त देखिन्छन् । राय संकलनका क्रममा केही मतदाताले त खुलेरै केही जनप्रतिनिधिको नाम उल्लेख गर्दै उनीहरूलाई पुनः उम्मेदवार बनाउनुपर्ने धारणा व्यक्त गरे । उदाहरणका रूपमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल तथा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको नाम पटकपटक सुनियो । उल्लेखनीय कुरा के थियो भने उनीहरूको नाम लिनेहरू केवल आफ्नै क्षेत्रका मतदातामात्र थिएनन् । अन्य जिल्लाका मतदाताले समेत उनीहरूको कामको प्रशंसा गरेका थिए ।
यसबाट एउटा स्पष्ट सन्देश प्राप्त हुन्छ राम्रो कामको चर्चा सीमाना नाघेर फैलिन्छ । जनताले विकास र सुशासनको उदाहरण जहाँ देख्छन्, त्यसलाई स्वीकार गर्न कन्जुस्याइँ गर्दैनन् । लोकप्रियता प्रचारबाट मात्र प्राप्त हुँदैन, त्यो जनताको अनुभवबाट निर्माण हुन्छ । जहाँसम्म यो स्तम्भकारको अनुभव छ, विकासलाई केवल सडक बनाउने, बिजुली पुर्याउने वा भवननिर्माण गर्ने काममा सीमित गर्न मिल्दैन । ती आवश्यक पूर्वाधार अवश्य हुन् तर विकासको व्यापक अर्थ त्यसभन्दा धेरै ठूलो छ । वास्तविक विकास भनेको प्रत्येक नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनु हो । प्रत्येक बालबालिकाले राम्रो शिक्षा प्राप्त गर्नसक्नु हो । समाजको भाषा, साहित्य, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण हुनु हो । वातावरण संरक्षण, सामाजिक समावेशिता, सुशासन र सार्वजनिक सेवाको प्रभावकारिता विकासकै महत्त्वपूर्ण सूचक हुन् ।
यी सबै पक्षलाई समेटेर हेर्दा गोकर्णेश्वर नगरपालिकाको अनुभव उल्लेखनीय देखिन्छ । यस नगरपालिकाले हालसम्म दुईजना मेयर पाएको छ पहिला सन्तोष चालिसे र हाल कार्यरत दीपक रिसाल । यी दुवैले आआफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, भाषा, साहित्य तथा सांस्कृतिक संरक्षणलाई स्थानीय विकासको महत्त्वपूर्ण आधार बनाउने प्रयास गरेका छन् भन्ने धारणा धेरै स्थानीयवासीले व्यक्त गरेका छन् । यो मूल्यांकन पूर्णरूपमा सबैको एउटै नहुनसक्छ तर उल्लेखनीय संख्यामा नागरिकले यसलाई सकारात्मक उदाहरणका रूपमा लिएका छन् ।
वास्तवमा स्थानीय निर्वाचन दलहरूको प्रतिष्ठाभन्दा जनताको जीवनसँग जोडिएको विषय हो । एउटा राम्रो मेयर, अध्यक्ष वा वडाध्यक्षले हजारौं नागरिकको दैनिक जीवन सहज बनाउनसक्छ । एउटा अयोग्य नेतृत्वले पाँच वर्षसम्म विकासलाई अवरुद्ध गर्नसक्छ । त्यसैले उम्मेदवार छनोटलाई सामान्य राजनीतिक प्रक्रिया नभई जनताको भविष्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिन आवश्यक छ ।
यही कारणले गोकर्णेश्वरका धेरै मतदाताले वर्तमान मेयरलाई पुनः उम्मेदवार बनाउनु सम्बन्धित दलकै लागि पनि राजनीतिक रूपमा लाभदायक हुनसक्ने धारणा राखेका छन् । यदि दलले केवल आन्तरिक गुटगत समीकरणका कारण लोकप्रिय र काम गर्ने नेतृत्वलाई पाखा लगायो भने त्यसको परिणाम विगतका केही निर्वाचनमा भोग्नुपरे जस्तै फेरि पनि भोग्नुपर्ने अवस्था आउनसक्छ । हालैको संघीय निर्वाचनका क्रममा धेरै स्थानमा दलहरूले जनभावना विपरीत उम्मेदवार चयन गर्दा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको उदाहरण अझै ताजै छ ।
वास्तवमा स्थानीय निर्वाचन दलहरूको प्रतिष्ठाभन्दा पनि जनताको जीवनसँग जोडिएको विषय हो । एउटा राम्रो मेयर, अध्यक्ष वा वडाध्यक्षले हजारौं नागरिकको दैनिक जीवन सहज बनाउनसक्छ । त्यस्तै एउटा अयोग्य नेतृत्वले पाँच वर्षसम्म विकासलाई अवरुद्ध गर्न सक्छ । त्यसैले उम्मेदवार छनोटलाई सामान्य राजनीतिक प्रक्रिया नभई जनताको भविष्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिन आवश्यक छ । राजनीतिक दलहरूले पनि समय परिवर्तन भएको कुरा बुझ्नुपर्छ । अहिलेका मतदाता पहिलेभन्दा धेरै सचेत छन् । सामाजिक सञ्जाल, सञ्चारमाध्यम र नागरिक समाजको सक्रियताले जनप्रतिनिधिको काम लुकाएर राख्न सकिने अवस्था छैन । राम्रो काम गरे प्रशंसा हुन्छ, नराम्रो गरे आलोचना हुन्छ । त्यसैले अब केवल चुनावी भाषणले मात्र मतदाता प्रभावित हुने अवस्था क्रमशः घट्दै गएको छ ।
२०८४ को स्थानीय निर्वाचनले नेपाली लोकतन्त्रलाई अझ परिपक्व बनाउने अवसर प्रदान गर्नसक्छ । त्यसका लागि दलहरूले उम्मेदवार छनोटको प्रक्रियालाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउनुपर्छ । कार्यसम्पादनको निष्पक्ष मूल्यांकन गर्ने, जनमतलाई सम्मान गर्ने, योग्य र लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने तथा गुटगत स्वार्थभन्दा माथि उठ्ने साहस देखाउन सकेमात्र जनताको विश्वास बलियो बन्नसक्छ । तर, अन्त्यमा फेरि पनि एउटा प्रश्न अनुत्तरित नै रहन्छ । के राजनीतिक दलहरूले वास्तवमै जनताको आवाज सुन्नेछन् ? विगतका अनुभवले यस प्रश्नमा पूर्णआशावादी बन्न सकिने अवस्था छैन । किनभने जनताको मत, सुझाव र अपेक्षालाई बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन । पटकपटक जनताले योग्य नेतृत्व खोजेका छन् तर दलहरूले धेरैजसो आफ्नै आन्तरिक समीकरणलाई प्राथमिकता दिएका छन् ।
यद्यपि लोकतन्त्रको सुन्दर पक्ष नै यही हो कि अन्तिम निर्णय जनताकै हातमा हुन्छ । यदि दलहरूले जनभावनाको सम्मान गरे भने त्यसको लाभ उनीहरूलाई नै हुनेछ । यदि फेरि पुरानै गल्ती दोहोर्याए भने मतदाताले आफ्नो निर्णयमार्फत उचित जवाफ दिन सक्नेछन् । त्यसैले २०८४ को स्थानीय निर्वाचनलाई केवल अर्को चुनावका रूपमा होइन, दलहरूले जनताको आवाज सुन्ने कि नसुन्ने भन्ने लोकतान्त्रिक परीक्षाका रूपमा लिनु उपयुक्त हुनेछ ।
(चालिसे स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)







बाँदरले दुःख दिएपछि सामूहिक मार्सी
सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडाैं सडकमा सवारीको
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको
५३ हजार बढी ग्यास सिलिन्डर
तरकारीको विषादी परीक्षण बढाइँदै