काठमाडौं । शिक्षासेवी, अध्येता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्राडा भिपी अग्रवालको नाममा स्थापना भएको भिपी अग्रवाल साइन्स फाउण्डेसनले देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने उत्कृष्ट पाँच जना शिक्षकलाई जनही दुर्ई लाख २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार र सम्मान गरेको छ । फाउण्डेसनले सोमबार एक कार्यक्रमबीच नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान विषयमा अध्यापन गराउने देशभरका सामुदायिक विद्यालयका शिक्षकमध्येबाट छनोट गरी उत्कृष्ट पाँच जनालाई पुस्कृत गरेको हो ।
पुरस्कृत हुने शिक्षकमा नेपाली विषयमा काठमाडौंको कीर्तिपुरमा रहेको मंगल माविकी शिक्षिका अञ्जना महर्जन, अंग्रेजी विषयमा सोही विद्यालयकी शिक्षिका शर्मिला प्रधान, गणित विषयमा नारायणी नमुना मावि भरतपुर चितवनका राजकुमार कँडेल, सामाजिक अध्ययन विषयमा काठमाडौं टुसालस्थित श्रम राष्ट्रिय माविका प्रकाश आचार्य र विज्ञान विषयमा सोही माविका मुकुन्दप्रसाद काफ्ले रहनुभएको छ । पुरस्कृत शिक्षकलाई फाउण्डेसनका अध्यक्ष दिलीप अग्रवाल तथा उपाध्यक्षसमेत रहनुभएकी प्राडा अग्रवालकी श्रीमती ललिता अग्रवाललगायतले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।
सो अवसरमा फाउण्डेसनका अध्यक्ष दिलीप अग्रवालले स्वर्गीय प्राडा विश्वनाथप्रसाद (भिपी) अग्रवालले शिक्षामा सुधार नभई देशको विकास र व्यक्तिको जीवनस्तर सहज नहुने भएकाले उहाँको सम्झनामा फाउण्डेसन स्थापना गरी शिक्षाको ज्योति छर्न अहोरात्र खटिने उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भिपी अग्रवाल मानव जातिको पहिलो रोजाइ शिक्षा हुनुपर्छ भन्नुहुन्थ्यो ।
आफन्त, चिनेजानेका, नातेदार, छिमेकीमात्रै होइन, दुःखी र गरिबलाई पनि आफूले सकेसम्म सहयोग गरेर पढाउने गर्नुहुन्थ्यो । घरमै ल्याएर पनि धेरै जनालाई पढाउनुभयो । शिक्षा प्राप्त गरेको मानिसले मात्रै जीवनमा राम्रो प्रगति गर्न सक्छ, धेरै उपलब्धि हासिल गर्न सक्छ र शिक्षा प्राप्त गर्न असल र राम्रो शिक्षक चाहिन्छ । शिक्षाप्रतिको उहाँको समर्पण र योगदानलाई सम्मान गर्न र असल शिक्षकलाई प्रोत्साहन गर्न फाउण्डेसनले सानै भए पनि यो पुरस्कार र सम्मान कार्यक्रम राखेको हो ।’ अध्यक्ष अग्रवालले शिक्षकलाई पुरस्कृत र सम्मान गर्ने कार्यलाई फाउण्डेसनले निरन्तरता दिने पनि बताउनुभयो । शिक्षक पुरस्कृत गर्न फाउण्डेसनले देशभरबाट आवेदन आह्वान गरेको थियो । त्यसरी प्राप्त आवेदनबाट फाउण्डेसनले तयार पारेको मापदण्डका आधारमा शिक्षक छनोट गरी पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक केदारबहादुर अधिकारीले बताउनुभयो ।
अधिकारी नेपाल सरकारका अवकाशप्राप्त सचिव हुनुहुन्छ । उहाँले सार्वजनिक सूचना प्रकाशन गरिएको, छनोट प्रक्रिया सुरु हुनुभन्दा अघि नै मापदण्ड बनाइएको, शिक्षकहरूले पठाएको मापदण्डमा विद्यार्थी पास संख्यालगायतका विषयमा शिक्षा विभागसँग सम्परीक्षण गरिएको र निष्पक्षता कायम गर्न सबै उपाय अपनाइएको जानकारी दिनुभयो । फाउण्डेसनका महासचिव मनोज अग्रवालले विज्ञान र समाजबीचको पुल अझ प्रगाढ बनाउन प्रतिष्ठान स्थापना गरी शिक्षकलाई पुरस्कार र सम्मान गर्न सुरु गरिएको बताउनुभयो । पुरस्कृत शिक्षकतर्फबाट बोल्दै शिक्षिका अञ्जना महर्जनले पुरस्कारले आफूलाई जिम्मेवारीबोधमा अझ गम्भीर बनाएको र फाउण्डेसनले आफूमार्फत् सम्पूर्ण शिक्षकको सम्मान गरेको अर्थमा बुझेको बताउनुभयो ।
पुरस्कृत अर्का शिक्षक राजकुमार कँडेलले फाउण्डेसनले सामुदायिक विद्यालयका शिक्षकलाई सम्मान गरेर देशभरका सामुदायिक विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायत सम्पूर्ण शिक्षा क्षेत्रलाई सम्मान गरेको बताउनुभयो । नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयमा प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका माध्यमिक तहका शिक्षकलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनले देशभरका शिक्षकबाट पुरस्कारका लागि आवेदन आह्वान गरेको थियो ।







पर्यटकको बसाइ लम्ब्याउन सुविधासम्पन्न होटल
सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय
टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी