पर्सा । पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेललाई गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय पोखरियाले आज वडाध्यक्ष पटेललाई अभद्र व्यवहारसम्बन्धी मुद्दाअन्तर्गत पक्राउ गरेको हो। उहाँलाई आफ्नै वडा हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता चक्र मल्लले जानकारी दिनुभयो।
प्रहरीका अनुसार गत असार २३ गते कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप छ। सो घटनामा वडाध्यक्ष पटेलको संलग्नता रहेको भन्दै अनुसन्धान अघि बढाइएको थियो।
घटनापछि कालिकामाई गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै विरोध जनाउँदै आएका थिए। कर्मचारीहरूले कार्यालयभित्रै भएको कुटपिट घटनाले कार्यस्थलको सुरक्षा र मर्यादामाथि प्रश्न उठाएको बताएका छन्।
डीएसपी मल्लका अनुसार पक्राउ परेका वडाध्यक्ष पटेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरिएको छ। घटनामा संलग्न भनिएका अन्य व्यक्तिको खोजी तथा अनुसन्धानसमेत जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानको निष्कर्षअनुसार आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर