काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सभापति थापाले उक्त व्यवस्था अनुपयुक्त रहेको विषयमा आफूहरूले सुरुदेखि नै प्रश्न उठाउँदै आएको स्मरण गराउनुभएको छ।
उहाँले निजी विद्यालय र अस्पताल रोज्ने सबै नागरिक आर्थिक रूपमा सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी सेवा विलासिता नभई बाध्यता भएको बताउनुभएको छ।
“निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान गर्दैन,” उहाँले उल्लेख गर्नुभएको छ।
सभापति थापाले समता शुल्कलाई समानताको नीति नभई असमानता बढाउने व्यवस्था भएको टिप्पणी गर्दै सरकारले आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गरी उक्त निर्णय फिर्ता लिएको बताउनुभएको छ।
उहाँले सरकारको निर्णय सही भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि विधिसम्मत रूपमा पूरा गर्न आग्रह गर्नुभएको छ।
साथै, उहाँले बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन सरकारलाई सुझाव दिनुभएको छ।
सभापति थापाले आमनागरिकको भावना, आवश्यकता र आर्थिक अवस्थालाई केन्द्रमा राखेर नीति तथा निर्णय निर्माण गर्न सरकार सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर