चितवन । विश्वमै दुर्लभ मानिने एकसिङ्गे गैँडा मार्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेको आशङ्कामा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगर रहेका छन्। दुवै जनालाई आज सार्वजनिक गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार उनीहरूलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानघाट क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूको साथबाट कार्टोस बन्दुक एक थान र त्यसमा प्रयोग हुने गोलीगठ्ठा बरामद गरिएको निकुञ्जले जनाएको छ। साथै, चौधरीको घरमा गरिएको खानतलासीका क्रममा बाघको दाँतजस्तो देखिने सात थान आखेटोपहार, माउजर बन्दुक एक थान, गोलीगठ्ठा तथा भारतीय ५०० दरका १३६ थान नोट फेला परेको जानकारी दिइएको छ।
निकुञ्ज प्रशासनका अनुसार दुवै जनाविरुद्ध संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा मार्ने उद्योग तथा संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद–बिक्री सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
उनीहरूविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(५घ) र दफा २६(१) बमोजिम कारबाहीको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर