निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीको विकासक्रम भने त्यति लामो होइन । हुन त आज पनि हाम्रो शिक्षा प्रणाली २०२८ सालको शिक्षा ऐनमा आधारित छ । शिक्षाका नियमावलीहरू पनि अनेकपटक संशोधित भएका छन् । हालैमात्र सरकारले दशौं संशोधन गरिसकेको छ । विसं २०२८ सालको शिक्षा ऐन प्रतिस्थापन गरी नयाँ शिक्षा ऐन जारी गर्न अनेकौं प्रयास भइरहेका छन् । तथापि उक्त शिक्षा ऐन हालसम्म भने विचाराधीन अवस्थामा छ । शिक्षाको रूपान्तरण र जनमुखी शिक्षा निर्माण गर्न शिक्षामा अवधारणाहरूको विकास पनि भइरहेको हामीले स्पष्ट महसुस गर्न सक्दछौं । सोही अवधारणा बमोजिम निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली पनि नवौं योजनाबाट प्रयोगमा आएको देखिन्छ । विसं २०५४ देखि २०५९ सालसम्म एक कक्षादेखि तीन कक्षासम्म निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली प्रयोग भएको थियो । यसको प्रभावकारिताले नै दशौं योजनामा विक्रम सम्वत् २०५९ देखि ६४ सालसम्म कक्षा ५ सम्मका विद्यार्थीलाई निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली योजनामै समेटिएको थियो । तत्पश्चात् नेपालमा १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली का आधारमा मूल्यांकन गर्ने वा क्षमता अभिवृद्धि गर्ने कार्यमा सामुदायिक विद्यालय अग्रसर भएको पाइन्छ ।
हामी प्रविधि र सञ्चारको युगमा छौं । हाम्रो पाठ्यक्रम, शिक्षण सिकाइ पद्धति र सिक्ने विद्यार्थीको हुटहुटीलाई प्रविधिमैत्री बनाउन सकिएन भने उत्कृष्ट कहलिएका मूल्यांकन प्रणालीको पनि कुनै मूल्य रहने छैन । सोही अर्थमा पनि मूल्यांकन प्रणालीले शिक्षाका नवप्रवर्तन क्षेत्रहरूलाई आफ्नो मूल्यांकनको र सिकाइको साधन मान्नुपर्दछ । कृत्रिम बुद्धिमत्ताले ल्याएका सकारात्मक परिवर्तनलाई शिक्षाको स्रोत र संशाधन मान्न सक्नुपर्दछ ।
यो अवधारणाको विकास भने बीसौं शताब्दीको मध्यतिर सुधारमुखी मूल्यांकनको अवधारणाको रूपमा संयुक्त राज्य अमेरिका र बेलायतले प्रारम्भ गरेको पाइन्छ । सन् १९६७ मा शिक्षाविद माइकल स्राइभनले फर्म्याटिभ एसेस्मेन्टको अवधारणा स्पष्ट पारेका थिए । बेन्जामिन ब्लुमले शिक्षण सिकाइ सुधार गर्ने प्रभावकारी माध्यमको रूपमा यस अवधारणालाई स्पष्ट विकास गरेका थिए । यही अवधारणाबाट कन्टिन्युस एसेस्मेन्ट प्रणाली अर्थात् निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली (सिएएस)को विकास भएको पाइन्छ । यस अवधारणालाई संयुक्त राज्य अमेरिका, बेलायत, फिनल्याण्ड, भारत, सिंगापुर र नेपालजस्ता देशहरूले व्यापक रूपमा प्रयोगमा ल्याएका छन् । हाल नेपालमा विद्यमान रहेका निजी विद्यालयहरूमा पनि यसको प्रयोग व्यापक भएको पाइन थालेको छ । शिक्षाको क्षेत्रमा अनेकौं प्रणाली विकास हुँदै गर्दा प्रणाम भने पर्याप्त हासिल गर्न सकिएको छैन । नेपालको शिक्षा प्रणालीलाई प्रभावकारी र गतिशील बनाउन यस अगाबै पनि स्कुल सेक्टर रिफर्म प्लान एस एस आर पि र स्कुल सेक्टर डेभलपमेन्ट प्रोग्राम एस एस डि पि कार्यक्रम निरन्तरतामा रहेका थिए ।
मुख्यतः निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीको शैक्षिक र नैतिक सिद्धान्त भनेको निरन्तरता, समग्रता, विद्यार्थीको केन्द्रितता, नियमित प्रतिपृष्टि, सुधारमुखी मूल्यांकन, सहभागिता, निष्पक्षता र विश्वसनीयताको वृद्धि विकास गर्नुहो । यो मूल्यांकन प्रणालीले विद्यार्थीहरूको क्षमता, लगनशीलता, अनुशासन र विद्यार्थीको शैक्षिक पर्यावरण सँग गहिरो अर्थबोध गर्दै विद्यार्थीलाई परिणाममुखी र उत्पादनमुखी बनाउन सहज भूमिका निर्वाह गर्दछ । निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली केवल आधारभूत तहमा मात्र सीमित छैन । यसको क्रमिक विकासक्रम अझै बाँकी रहेकाले माध्यमिक तहसम्म यसको नीतिगत तहबाट प्रयोग गरिएको छैन । तथापि व्यावहारिक दृष्टिकोणका हिसाबले यसको प्रयोग माध्यमिक तथा उच्च तहमा पनि अभ्यासरत रहेको पाइन्छ । यसको बृहत् अर्थमा यसलाई क्रियटिभिटी, एक्टिभिटी र सर्भिसको रूपमा पनि लिने गरिन्छ । अर्थात् यो सिर्जनशीलता गतिविधि र सेवामा आधारित पनि छ । अन्तर्राष्ट्रिय क्षेत्रमा यसलाई शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउन, सिर्जनशील र आत्मविश्वासी बनाउन विद्यार्थीहरूलाई पठनपाठनका अलवा अतिरिक्त क्रियाकलापमा समावेश गरी खेलकुद, योग, साधना, रक्तदान, वातावरण तथा पर्यावरण संरक्षण, सरसफाई, नित्यजस्ता अतिरिक्त क्रियाकलाप र सेवामार्फत विद्यार्थीहरूमा उत्प्रेरणाको स्रोत पालितपोषित गर्दै मूल्यांकन गर्ने परम्परा छन् ।
तसर्थ निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली आजको शिक्षा क्षेत्रमा अति आवश्यक पद्धतिको रूपमा विकास भइरहेको छ । यसलाई जवाफदेही र प्रयोगात्मक बनाउन हरेक विद्यालयले शिक्षण सिकाइका स्रोत र संशाधन पहिचान गरी शैक्षिक उन्नयनको पाटोलाई सबल र बलियो बनाउन हरेक शिक्षक अभिभावक तथा सरोकारवाला निकायहरू तदारुक्ताका साथ अघि बढ्नुको विकल्प छैन । परिवर्तित समाजको रूपरेखा, राष्ट्र र अन्तर्राष्ट्रिय तहमा आएका शैक्षिक परिवर्तनसँगै हाम्रा पाठ्यक्रमहरूको विकास र शिक्षण सिकाइको सन्दर्भमा हामी निरन्तर अध्यावधिक भइरहनुपर्नेछ । यसले गुणस्तर शिक्षामात्र प्रदान नगरेर आवश्यकता र समय सान्दर्भिक शिक्षा प्रणालीको निरन्तर प्रक्रियासमेतलाई जोड दिने गर्दछ ।
निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीले विद्यार्थीको प्रतिभा, क्षमता, रुचि, समदक्षता आदि इत्यादि कुरालाई निर्क्योल गरी उसको भविष्य निर्माणमा सुधारुन्मुख कार्य गर्न मद्दत पुर्याउँदछ । शिक्षामा समानता, समान पहुँच, साक्षरताको मापन, सहभागिता जस्ता विषयवस्तुलाई यसले सुरक्षित र पहिचानमुखी बनाउनसक्दछ । तसर्थ पनि निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली हाम्रो समाजमा सामुदायिक विद्यालय होस् वा निजी विद्यालय होस् यसको प्रभावकारि प्रयोगमा सबै दत्तचित्त भएर लाग्नुपर्ने अवस्था देखिएको छ ।
निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली सिएएसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै नेपालको शिक्षा विकासमा योगदानमुखी र प्रतिफलमुखी बनाउन सरोकारवाला निकाय, अभिभावक, शिक्षक शिक्षिका र विद्यार्थीबीचको पारस्परिक सम्बन्ध स्थापित गर्दै परिणाममुखी शिक्षा हासिलमा सबै एकजुट भएर लाग्नुपर्ने आजको आवश्यकता हो ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लागू भएपछि मूल्यांकन पद्धतिको रूपमा रुब्रिक्स प्रणाली पनि लागू भएको थियो । पाठ्यक्रम विकास केन्द्रले रुब्रिक्स पद्धतिलाई शैक्षिक मूल्यांकनको रूपमा विकास गरिरहेको छ । रुब्रिक्स पद्धतिमा विश्लेषणात्मक रुब्रिक्स र समग्र रुब्रिक्स महत्त्वपूर्ण मूल्यांकनका स्रोत संशाधन हुन् । यसले विद्यार्थीको अपेक्षा, निष्पक्षता र विश्वसनीयता, सिकाई सुधारका मापदण्डलाई आत्मबोध गर्दै विद्यार्थी र शिक्षकबीचको सदासयतालाई चित्रण, पहिचान गर्नुका साथै प्रभावकारिता र मूल्यांकनको दायरालाई फराकिलो पार्दछ । तसर्थ शिक्षा क्षेत्रमा विकसित हुने विभिन्न पद्धति हामीले प्रयोग गर्दै आएका छौं । तर, डिजिटल युगको प्रारम्भ भएयता शिक्षण सिकाइका डिजिटल प्ल्याटफर्महरूलाई उपभोगमा ल्याउन नसक्नु वा प्रयासरत रहनु हाम्रोमात्र कमीकमजोरी नरहेर शिक्षा मन्त्रालय र सरकारको कमजोरी रहनगएको छ । सामुदायिक विद्यालय होस् वा निजी विद्यालय समान शिक्षाको अधिकार प्रत्यायोजन हुनसकेन भने यसले विद्यार्थी अभिभावक र शिक्षकको मनोवृत्ति विकासमा दखल पुर्याउनसक्दछ । तसर्थ पनि सरकारका सरोकारवाला निकाय होस् वा सम्बन्धित निकाय नेपालको गुणस्तरीय शिक्षा विकासलाई प्रभावकारी बनाउन नीतिगत, आर्थिक, वस्तुगत र संरचनागत सुधारप्रति जिम्मेवार रहन आवश्यक छ ।
हामी प्रविधि र सञ्चारको युगमा छौं । हाम्रो पाठ्यक्रम, शिक्षण सिकाई पद्धति र सिक्ने विद्यार्थीको हुटहुटीलाई प्रविधिमैत्री बनाउन सकिएन भने उत्कृष्ट कहलिएका मूल्यांकन प्रणालीको कुनै मूल्य रहने छैन । सोही अर्थमा मूल्यांकन प्रणालीले शिक्षाका नवप्रवर्तन क्षेत्रहरूलाई आफ्नो मूल्यांकनको र सिकाइको साधन मान्नुपर्दछ । कृत्रिम बुद्धिमत्ताले ल्याएका सकारात्मक परिवर्तनलाई शिक्षाको स्रोतसंशाधन मान्न सक्नुपर्दछ । यसको प्रयोगात्मक पद्धति विद्यार्थीको जीवनमा उतार्न सक्नुपर्दछ । तबमात्र विद्यार्थी र शिक्षकबीचको अनन्याश्रित सम्बन्ध स्थापित हुनसक्दछ । विज्ञान प्रविधिको समुचित उपभोग गर्दै शिक्षा क्षेत्रलाई गुणस्तरयुक्त शिक्षा र आवश्यकतायुक्त शिक्षा परिभाषित गर्न सक्नु नै आजको हामी सबैको दायित्व हो ।
निष्कर्षमा निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली सिएएसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै नेपालको शिक्षा विकासमा योगदानमुखी र प्रतिफलमुखी बनाउन सरोकारवाला निकाय, अभिभावक, शिक्षक शिक्षिका र विद्यार्थीबीचको पारस्परिक सम्बन्ध स्थापित गर्दै परिणाममुखी शिक्षा हासिलमा सबै एकजुट भएर लाग्नुपर्ने आजको आवश्यकता हो । माथि उल्लेख भए झैँ विद्यार्थीको मानसिक, शारीरिक, भौतिक, प्राविधिक, सीपयुक्त विकास र शैक्षिक विकासलाई अभिमुखीकरण र उत्प्रेरित गर्न निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली (क्याश) अनुकुलीय पद्धतिको रूपमा सबैको साझा आवश्यकता बन्न सक्नुपर्दछ ।
(लेखक कविता खनाल निजी विद्यालयमा शिक्षक पेशाको रूपमा कार्यरत हुनुहुन्छ ।)







मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा