पिट्सबर्ग, पेन्सिलभेनिया । बालबालिका र किशोरकिशोरीका लागि गर्मीयाम धेरैजसो खेलकुद, घुमफिर र विश्रामको समय हो । तर, पिट्सबर्गमा यसपटक त्यो समयलाई स्वीकारोक्ति फाउन्डेसनले नेतृत्व, अनुशासन, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको अभ्यासमा रूपान्तरण गर्यो । ‘स्वीकारोक्ति फ्युचर लिडर्स क्याम्प २०२६’ नाम दिइएको पाँचदिने कार्यक्रम जुलाई १५ देखि १९, २०२६ सम्म सञ्चालन भयो, जसले समुदायका बालबालिका र किशोरकिशोरीलाई सिकाइ, अभिव्यक्ति र आत्मविकासको साझा मञ्च दियो ।
‘खेलकुद, नेतृत्व, र विकास’ भन्ने मूल नारासहित सम्पन्न क्याम्पमा विभिन्न उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरूको उत्साहजनक सहभागिता थियो । आयोजकका अनुसार कार्यक्रमको उद्देश्य केवल मनोरञ्जन वा एकपटकको प्रशिक्षण मात्र थिएनः यसको लक्ष्य युवालाई व्यवहारिक सीप, सकारात्मक सोच, सहकार्य, समस्या समाधान र जिम्मेवार नागरिकतर्फ उन्मुख गराउनु थियो ।
कार्यक्रमको समापन समारोह विशेष अतिथि, अभिभावक, प्रशिक्षक र सहभागी बालबालिकाको उपस्थितिले अझ अर्थपूर्ण बन्यो । प्रमुख अतिथि रूप नारायण पोखरेल, विशेष अतिथि साहित्यकार सञ्चमान खालिङ, विकास राई र जीवन सुब्बासहित विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूले युवाको नेतृत्व विकास र समाजप्रतिको उत्तरदायित्वबारे प्रेरणादायी विचार राख्नुभयो । उहाँहरूको भनाइमा यस्तो अभियानले नयाँ पुस्तालाई सही दिशा दिने मात्र होइन, उनीहरूभित्र संस्कार, अनुशासन र सेवाभाव पनि विकास गर्छ ।
रूप नारायण पोखरेलले यस्तो अभियानले भविष्यका पुस्तालाई विनाश होइन, प्रगति, सद्भाव, शिष्टाचार र अनुशासनजस्ता मूल्य प्रदान गर्ने बताउनुभयो । उहाँका अनुसार, नेतृत्व भनेको अरूमाथि हावी हुनु होइनः समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी वहन गर्नु हो । सञ्चमान खालिङले गजल वाचनमार्फत नयाँ पुस्ताको उज्ज्वल भविष्य, शिक्षा र संस्कारको आवश्यकता उजागर गर्नुभयो । उहाँका शब्दमा सिर्जनशीलता र नेतृत्व एकअर्कासँग गहिरो सम्बन्ध राख्छन् ।
क्याम्पका सहभागी बालबालिकाले पनि आफ्ना अनुभव प्रस्तुत गरेर कार्यक्रमलाई जीवन्त बनाए । डेज्माङ राईले पाँच दिनको प्रशिक्षणले आत्मविश्वास, अनुशासन र टोलीमा काम गर्ने क्षमता बढाएको बताउनुभयो । थोमस खतिवडा, सालिना खतिवडा, सुर्य तामाङ र एडिन राईले शितो–रियो करातेको काता प्रस्तुत गर्नुभयो भने कविता, नृत्य, गीत र वाद्यवादनका प्रस्तुतिले समापन समारोहलाई उत्सवमय बनायो ।
कार्यक्रमको संरचना बहुआयामिक थियो । नेतृत्व विकास, टोलीगत कार्य, प्रभावकारी सञ्चार, निर्णय क्षमता, व्यक्तिगत विकास, समय व्यवस्थापन, रचनात्मक सोच र आत्मअनुशासनजस्ता विषयमा प्रशिक्षण दिइयो । टी.आर. याम्फु राईका अनुसार सहभागीहरूले यी विषयमा केवल सैद्धान्तिक ज्ञान मात्र होइन, व्यावहारिक अभ्यास पनि गरे । यसले उनीहरूलाई समूहमा काम गर्ने, आफ्नो कुरा स्पष्ट रूपमा राख्ने र जिम्मेवारीबोधका साथ अघि बढ्ने सन्देश दियो ।
जीवन प्रधानले सहभागीहरूको समग्र मनोविज्ञान र व्यक्तित्व विकासबारे प्रशिक्षण दिँदै नेतृत्वलाई पदसँग होइन, जिम्मेवारी र सेवासँग जोड्नुपर्ने बताउनुभयो । प्रकाश राई र अर्जुन प्रधानले मेन्टरका रूपमा व्यक्तिगत मार्गदर्शन, समूह समन्वय र सहकार्यका अभ्यासमा सहजीकरण गर्नुभयो । उहाँहरूको उपस्थितिले क्याम्पलाई अझ नजिकको, भरोसायोग्य र सहानुभूतिपूर्ण वातावरण प्रदान गर्यो ।
क्याम्पको अर्को महत्वपूर्ण पक्ष योग र मानसिक स्वास्थ्यसम्बन्धी सत्र थियो । कुञ्जाङ भण्डारीद्वारा सञ्चालित योग प्रशिक्षणले शारीरिक स्वास्थ्यसँगै मानसिक सन्तुलन, एकाग्रता, अनुशासन र आत्मनियन्त्रणको महत्वबारे अभ्यास गरायो । डा. अशोक गुरुङले सञ्चालन गरेको मानसिक स्वास्थ्य कार्यशालाले तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, आत्मसम्मान र खुला संवादको आवश्यकतामाथि जोड दियो । यस्तो प्रशिक्षणले बालबालिका र किशोरकिशोरीलाई बाह्य रूपमा मात्र होइन, आन्तरिक रूपमा पनि सुदृढ बनाउने उद्देश्य राखेको थियो ।
हरेक दिन हुने मार्गदर्शन, प्रतिपुष्टि, आत्मचिन्तन र सामाजिक सचेतनाका सत्रहरूले क्याम्पको प्रभाव अझ गहिरो बनायो । सेन्साइ टी.आर. याम्फु राई र जीवन प्रधानले सहजीकरण गरेका ती सत्रहरूमा सहभागीहरूले दिनभरको सिकाइको समीक्षा गर्नुभयो, आफ्ना अनुभव बाँडनुभयो, सुधारका क्षेत्र पहिचान गरे र सामाजिक जिम्मेवारीबारे छलफल गर्नुभयो । यसले क्याम्पलाई औपचारिक प्रशिक्षणभन्दा माथि उठाएर आत्मविकासको यात्रामा परिणत गर्यो ।
क्याम्पमा चित्रकला पनि एउटा महत्वपूर्ण माध्यम बन्यो । भुटानी शरणार्थी शिविरको इतिहास, पुनर्वासपछिको जीवनयात्रा र सुखद भविष्यको परिकल्पनालाई चित्रमार्फत प्रस्तुत गर्ने अभ्यासले बालबालिकालाई आफ्नो समुदायको विगत र भविष्यसँग जोड्यो । अम्बी राई र राम राईले चित्रकलालाई केवल कला अभिव्यक्तिको माध्यम नभई आफूलाई चिन्ने, भावना व्यक्त गर्ने र संसारलाई फराकिलो दृष्टिकोणबाट बुझ्ने प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, पेशागत रूपमा सफल व्यक्तित्व तथा अतिथि वक्ताहरूको सहभागिता पनि उल्लेखनीय रह्यो । उनीहरूले आफ्ना जीवन अनुभव, संघर्ष, सफलता र नेतृत्वसम्बन्धी दृष्टिकोण बाँड्दै सहभागीलाई प्रेरणा दिए । आयोजकका अनुसार यसले युवाहरूलाई फरक–फरक जीवनपथमा सफल व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्यो ।
अभिभावकहरूले पनि क्याम्पप्रति सकारात्मक प्रतिक्रिया दिए । टिका निरौला, टंक सुबेदी, डीबी राई, वच्छली साम्पाङ राई र प्रकाश राईले आफ्ना बालबालिकामा छोटो अवधिमै सकारात्मक परिवर्तन देखिएको अनुभव सुनाउनुभयो । उहाँहरूका अनुसार यस्तो कार्यक्रमले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, सहकार्यको भावना र सामाजिक जिम्मेवारी विकासमा महत्वपूर्ण भूमिका खेल्छ । बालबालिकाले आफ्ना कमजोरी स्वीकार्न र त्यसलाई सुधारको अवसरका रूपमा लिन थालेकोमा उनीहरू विशेष रूपमा उत्साहित देखिए ।
कार्यक्रमको स्थानीय साझेदारका रूपमा किरात राई यायोख्या, पिट्सबर्ग र ट्रान्सअमेरिकन एसोसिएसन अफ शितो- र्रियो कराते यूएसए रहेका थिए । ग्लोबलपोस्टइन्फो र कम्युनिटी कनेक्ट सर्कल, पिट्सबर्गले पनि सहकार्य तथा सहयोग प्रदान गरे । यस्तो साझेदारीले क्याम्पलाई एउटा संस्थाको कार्यक्रमभन्दा माथि उठाएर समुदायको साझा प्रयास बनायो ।
स्वीकारोक्ति फाउन्डेसनका अध्यक्ष डेन्जोम साम्पाङ (राई) का अनुसार आजको पुस्तालाई केवल शैक्षिक ज्ञानले मात्र सक्षम नेतृत्वकर्ता बनाउन सकिँदैन । व्यवहारिक सिकाइ, अनुशासन, आत्मविश्वास, सहकार्य र सकारात्मक सोचको विकासलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार समुदायका युवालाई सक्षम, जिम्मेवार, नैतिक र समाजप्रति उत्तरदायी नेतृत्वकर्ताका रूपमा तयार पार्नु नै फाउन्डेसनको दीर्घकालीन उद्देश्य हो ।
ट्रान्सअमेरिकन एसोसिएसन अफ शितो–रियो कराते यूएसएका अध्यक्ष टी.आर. याम्फु राईले पनि कार्यक्रमका माध्यमबाट बालबालिकाले नेतृत्व क्षमता, टोलीगत कार्य, सञ्चार कला, निर्णय क्षमता, व्यक्तिगत विकास, समय व्यवस्थापन, खेलकुद, सामाजिक उत्तरदायित्व, रचनात्मक सोच तथा आत्मअनुशासनसम्बन्धी अभ्यास गर्ने अवसर पाएको बताउनुभयो । उहाँका अनुसार, यस्ता अभ्यासले बालबालिकालाई केवल आजका लागि होइन, भविष्यका चुनौतीका लागि पनि तयार पार्छ ।
समग्रमा हेर्दा, स्वीकारोक्ति फ्युचर लिडर्स क्याम्प २०२६ एउटा साधारण गर्मीयामको गतिविधि थिएन । यो समुदायका बालबालिका र किशोरकिशोरीलाई आत्मविश्वास, सहकार्य, संस्कार र नेतृत्वको अर्थ बुझाउने एउटा महत्वपूर्ण अभ्यास थियो । खेल, कला, योग, मानसिक स्वास्थ्य, साहित्य, कराते र समूहगत सिकाइलाई एउटै सूत्रमा बाँधेर कार्यक्रमले नेतृत्व भनेको पद होइन, सेवा र जिम्मेवारी हो भन्ने सन्देश दियो ।
पिट्सबर्गको यो क्याम्पले समुदायलाई एउटा स्पष्ट संकेत दिएको छ- बालबालिकालाई सही वातावरण, प्रेरणा र अभ्यास दिइयो भने उनीहरूभित्रको क्षमता केवल उजागर हुँदैन, त्यसले समाजलाई पनि बलियो बनाउँछ। स्वीकारोक्ति फाउन्डेसनको यो प्रयासले त्यसैको प्रमाण प्रस्तुत गरेको छ ।
स्वीकारोक्ति फाउन्डेसन एक सामाजिक संस्था हो, जसले बालबालिका र युवाको नेतृत्व विकास, व्यक्तित्व निर्माण, मानसिक स्वास्थ्य, शिक्षा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्दै आएको छ । प्रशिक्षण, क्याम्प र विभिन्न सचेतनामूलक कार्यक्रममार्फत आत्मविश्वासी, अनुशासित र जिम्मेवार नागरिक तयार पार्नु नै संस्थाको मुख्य उद्देश्य हो।त्यसमा पनि ‘अस्तित्वहरूको न्यायिक सम्बोधन’ फाउन्डेसनको मूल सिद्धान्त आत्मस्वीकार, सकारात्मक सोच, इमानदारी, नेतृत्व, अनुशासन, सेवा र सहकार्यमा आधारित छ। प्रत्येक व्यक्तिमा रहेको क्षमता पहिचान गरी त्यसलाई समाजको हितमा प्रयोग गर्न प्रेरित गर्नु नै यसको मूल दर्शन हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर