सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालयमै रंगेहात पक्राउ गरेको हो ।
स्रोतकाअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुमै पाँच लाख रुपैयाँ घुस मागेका थिए । घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात मागिएको आरोप छ ।
अडिटका क्रममा कार्यालयले कर, जरिवाना तथा अन्य शीर्षकमा करिब दुई करोड रुपैयाँ कर दायित्व देखाएको थियो । कम्पनीले थप कागजात पेस गरेपछि कर दायित्व ३० देखि ३५ लाख रुपैयाँसम्म थप बढ्न सक्ने बताइएको थियो ।
यसैबीच कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सम्पूर्ण समस्या समाधान गरिदिने प्रस्ताव राखेका थिए । कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर पाँच लाख रुपैयाँमा सहमति गर्न खोजिएको आरोप छ ।
घुस लेनदेनका लागि कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसोदेखि प्रतीक्षामा राखिएको थियो । साँझ कर अधिकृत पालले फोनमार्फत आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिँदै भोलिपल्ट बिहान भेट्ने र एक बिचौलियाको सम्पर्क नम्बर पठाएका थिए । पछि बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन आग्रह गरे पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन भनेका थिए ।
कार्यालयमै पाँच लाख रुपैयाँ घुस बुझ्दै गरेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत पाललाई रंगेहात पक्राउ गरेको अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.