काठमाडाै । सरकारी काम कहिले जाला घाम भन्ने गरिन्छ । हुन त काम गर्नेहरूको हकमा सरकारीमै पनि भ्याइनभ्याई हुन्छ । भोक न भकारी भई बाह्रैमास त्यो कोटरी जोतिइरहेकै देखिन्छ । तर त्यहाँ बेगारीले ग्रस्त उडनखटोलाहरू पनि कमी हुन्न । रोजगारभित्रका ती बेरोजगारहरूले चाहिँ घाम ढाल्ने मेलो कसरी सार्दाहुन् भन्ने कुतूहल लामो समयदेखि मनभित्र थियो । कामै नभएसि सार्ने पनि के ? तर बाँचिरहे अनेक देख्न पाइन्छ भन्छन् नि ! मेरो कुतूहलले पनि अन्ततः बिसौनी भेट्टायो ।
चौतारीमा बसी सरकारी कोटधारी एक औतारी संगीहरूलाई बतियाउँदैथिन्- "थाहा छ ? त्यो फलानाको कपी त लोकसेवाका सप्पै जाँचकीहरूकोमा निजको अक्षर पठाएर नम्बर दिन लगाई पास गराएको रे नि ! अझ क्वेस्चन पनि लोकसेवाले घरमै पठाइदेको रे । नत्र त...।" एकादेशमा सुरेली खेल्दै सरकारी सेवामा घुस्न सफलहरूको पनि एउटा जमात् हुन्छ । तर बीचमा लोकसेवा आयोग मेन भिलेन बन्न आइपुग्यो ।
लोकसेवाको जँघार नतरी कुनै पनि सरकारी सेवामा माथि उक्लन वा सेवा परिवर्तन गर्न अब सम्भव रहेन । सुरेली खेल्ने कलाले काम गर्दैन । तिनलाई तनाव छ । लोकसेवाको तयारी थालौँ, घुँडाको छाला जानेगरी पढ्नुपर्छ ।
जिन्दगी यत्तिकै चलेकै हुँदा पढ्ने कुराको सम्झना मात्रले पनि नौनारी गलेर आउँछ । के के पढ्नुपर्ने हो ? सिलेबसै थाहा छैन । यसो दिईहेरौँ न त भन्दा लोकसेवाले फारम भर्न पैसा माग्छ । प्रतियोगितात्मक फारम भर्नु र बाटोमा पैसा मिल्काउनु उही भएपछि त्यो रकम यसो जुल्फी लर्काउन काम लाग्ने दुई/चारवटा कलकत्ते काइँयो किन्न खर्चनु बुद्धिमानी हुँदै हो । त्यसो भएपछि जिन्नगीमा उभ्रने आफलताफल समय कटनीका लागि यसैगरी खाँबो कोपर्नुको विकल्प पनि रहन्न ।
सुनाउनेले यत्रो ह्याउ गर्दै सुनाउन खोजेपछि सुन्नेले सोझै कान थुन्न' नि मिलेन । लोकाचारको पनि कुरा आयो । कुण्ठावश यस्ता कथा कथ्दा सुन्नेलाई लाज होला भन्ने' नि छैन । ह्वाँ देको दियै, लोक सुनेको सुन्यै । सरकारी कोट सिउरेर सार्वजनिक ठाउँमा जडेका त्यस्ता फतौराको अडियो/भिडियो रेकर्डसहितको समाचार कुनै मिडियामा हालिदिए के होला ? लोकसेवाले के भन्ला ? सरकारले लाज ढाक्न के गर्ला ? सम्बन्धित व्यक्तिले गालीबेइज्जती र मानहानीको मुद्दा हालिदिए के होला ? नपरुन्जेल त मजा नै हुन्छ । परेका दिन तीन लोक चौध भुवन घुम्न थाल्छ फनफनी । मेरो कुतूहल मेटिदिने ती उडनखटोला को हुन् भनी जिज्ञासा पलायो ।
उहाँ पर्नुभएछ सो एरियाको चर्चित टिपेक्सवाली । पहिले त कुरो बुझिएन । यसो बुझबुझारथ गर्दा पत्ता चल्यो, वर्षको दुई दिन उहाँको मूल कर्म अरूका कार्यसम्पादन मूल्यांकन फारममा छुस्स टिपेक्स दल्ने र शेष ३६३ दिन ऐजन/ऐजन कथा कथ्ने ।
राजनीति त्यस्तो छ । कर्मचारीतन्त्र यस्तो । सोचेँ, धन्न पशुपतिनाथले नै थेगेका रैछन् देश ।
नोट: यो प्रसंग काल्पनिक हो । कसैको व्यक्तिगत जीवनसँग हुबहु मिल्न गएमा छातीमा हात राख्दै "म", "म" भन्नुहोला ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर