दक्षिण सिक्किमको नाम्चीस्थित बेथाङ गाउँमा सन् १९७७ मा जन्मिनुभएका छविन गुरुङ नेपाली गीतसंगीत क्षेत्रमा सामाजिक चेतनाका गीतमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक हुनुहुन्छ । गीतकार, संगीतकार र गायकको त्रिवेणी प्रतिभा बोक्नुभएका गुरुङले आफ्नै शब्द र संगीतमा तीन दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसक्नुभएको छ । विद्यालय जीवनमै गितार सिक्दै सुरु भएको उहाँको संगीत यात्रा अहिले समाजका आवाजलाई गीतमार्फत बोल्ने अभियानमा रूपान्तरण भएको छ । शिक्षण पेशामा आबद्ध रहँदा पनि संगीतलाई निरन्तरता दिँदै आउनुभएका उहाँ मनोरञ्जनभन्दा समाज परिवर्तनको माध्यमका रूपमा गीतसंगीतलाई हेर्नुहुन्छ । गीतसंगीतलाई समाजको ऐना भएको बताउनुहुने सिक्किमका छविन गुरुङसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
यहाँको बाल्यकाल र पारिवारिक परिवेशबारे कस्तो थियो ?
मेरो जन्म सन् १९७७ मा दक्षिण सिक्किमको नाम्चीस्थित बेथाङ गाउँमा भएको हो । मेरो बाल्यकाल गाउँकै प्राकृतिक वातावरण, सरल जीवनशैली र सामाजिक संस्कारबीच बित्यो । त्यतिबेला अहिलेको जस्तो प्रविधिको पहुँच थिएन । गाउँमा हुने सांस्कृतिक कार्यक्रम, चाडपर्व र सामूहिक जमघट नै मनोरञ्जनका प्रमुख माध्यम थिए । यिनै वातावरणले संगीतप्रतिको रुचि विस्तारै विकास गरायो । हाम्रो समाजमा गीतसंगीत जीवनसँगै जोडिएको हुन्छ । खुशीमा पनि गीत गाइन्छ, दुःखमा पनि गीतले नै मन हलुका बनाउँछ । त्यसैले सानैदेखि संगीतप्रति आत्मीयता थियो । पछि यही रुचि नै मेरो जीवनको मुख्य यात्रामा परिणत भयो ।
कलाकार समाजप्रति उत्तरदायी हुनुपर्छ । प्रेमका गीत पनि आवश्यक छन्, तर समाजका समस्या, असमानता, मानवीय पीडा, चेतना र संस्कृतिका विषयलाई पनि गीतमार्फत उठाउन जरुरी छ । म गीत सुनेर मानिसले केही सोचोस्, केही सिकून् र जीवनप्रति सकारात्मक दृष्टिकोण बनाओस् भन्ने चाहन्छु । त्यसैले सामाजिक यथार्थका गीत लेख्न र गाउन मलाई बढी मनपर्छ ।
संगीततर्फ तपाईंको यात्रा कसरी सुरु भयो ?
म कक्षा आठमा अध्ययन गर्दै थिए । त्यही बेला विद्यालयका एक जना शिक्षकले गितार सिकाउनुभयो । उहाँले सिकाएको पहिलो धुन आज पनि सम्झन्छु । गितारका सामान्य स्वर सिक्दै जाँदा संगीतप्रतिको लगाव झन् बढ्दै गयो । त्यसपछि विद्यालयका सांस्कृतिक कार्यक्रमहरूमा भाग लिन थालेँ । बिस्तारै विभिन्न स्टेज कार्यक्रममा गीत गाउने अवसर मिल्यो । प्रत्येक प्रस्तुतिले नयाँ अनुभव र आत्मविश्वास थप्दै गयो । त्यो समय संगीतलाई पेशा बनाउनेभन्दा रुचिका रूपमा लिएकी थिएँ । तर पछि यही रुचिले मलाई व्यावसायिक यात्रातर्फ डोर्यायो ।
औपचारिक रूपमा संगीत क्षेत्रमा कहिलेदेखि सक्रिय हुनुभयो ?
व्यावसायिक रूपमा भने सन् २००५ देखि सक्रिय भएको हुँ । त्यसबेला हामीले साथीहरूसँग मिलेर ‘रहर’ नामक सामूहिक एल्बम सार्वजनिक गरेका थियौँ । त्यो एल्बम हाम्रो लागि ठूलो उपलब्धि थियो । त्यसले संगीत क्षेत्रमा अझै गम्भीर भएर काम गर्ने प्रेरणा दियो । त्यस समय अहिलेको जस्तो डिजिटल प्लेटफर्म थिएन । एउटा एल्बम तयार गर्न निकै मिहिनेत, समय र आर्थिक लगानी आवश्यक पर्थ्यो । ती कठिनाइका बीच पनि हामीले संगीतप्रतिको लगावलाई कहिल्यै कम हुन दिएनौं ।
त्यसपछि शिक्षण पेशामा पनि लाग्नुभयो । संगीत र शिक्षणलाई कसरी सन्तुलन गर्नुभयो ?
हो, केही समयपछि म शिक्षण पेशामा आबद्ध भए । शिक्षक हुनु आफैंमा ठूलो जिम्मेवारी हो । विद्यार्थीको भविष्य निर्माण गर्ने दायित्वसँगै समय व्यवस्थापन पनि चुनौतीपूर्ण हुन्छ । त्यसैले केही समय संगीतलाई चाहेजति समय दिन सकिनँ । तर, संगीत मेरो आत्मासँग जोडिएको विषय हो । त्यसलाई पूर्णरूपमा कहिल्यै छोडिनँ । विद्यालयको जिम्मेवारी पूरा गरेपछि समय मिलाएर लेख्ने, संगीत गर्ने र रेकर्डिङ गर्ने कामलाई निरन्तरता दिए । मलाई लाग्छ, जुन क्षेत्रमा साँचो माया हुन्छ, त्यो कहिल्यै टुट्दैन ।
तपाईं आफ्नै शब्द, संगीत र स्वरमा गीत सिर्जना गर्नुहुन्छ । यसले कस्तो अनुभव दिन्छ ?
मेरो लागि यो निकै सन्तोषको विषय हो । आफ्ना अनुभूति, समाजका दृश्य र जीवनका भोगाइलाई आफ्नै शब्दमा व्यक्त गर्न पाउँदा छुट्टै आनन्द मिल्छ । त्यसपछि त्यसलाई आफ्नै संगीतमा ढालेर आफैं गाउन पाउँदा त्यो सिर्जना झन् आफ्नै जस्तो लाग्छ । गीत सिर्जना भनेको केवल शब्द जोड्नुमात्र होइन । त्यसमा भावना, अनुभव, समाज र समयको प्रतिबिम्ब हुनुपर्छ । त्यसैले म गीत लेख्दा धेरै सोच्ने गर्छु ।
तपाईंका गीतहरूमा प्रेमभन्दा सामाजिक विषयवस्तु बढी देखिन्छ । यसको विशेष कारण के हो ?
मलाई लाग्छ कलाकार समाजप्रति उत्तरदायी हुनुपर्छ । प्रेमका गीत पनि आवश्यक छन्, तर समाजका समस्या, असमानता, मानवीय पीडा, चेतना र संस्कृतिका विषयलाई गीतमार्फत उठाउन जरुरी छ । म गीत सुनेर मानिसले केही सोचोस्, केही सिकून् र जीवनप्रति सकारात्मक दृष्टिकोण बनाओस् भन्ने चाहन्छु । त्यसैले सामाजिक यथार्थका गीत लेख्न र गाउन मलाई बढी मन पर्छ ।
यहाँका गीतबारे केही बताइदिनुहोस् ?
मेरो ‘मेरो प्यारो सिक्किम’, ‘जबसम्म बाँचिन्छ’, ‘जुनेली रात’, ‘मान्छेको चोला’, ‘चरी उड्यो आकाशमा’लगायत धेरै गीत श्रोताले मन पराइदिनुभएको छ । यी गीतहरूले दिएको माया नै मेरो सबैभन्दा ठूलो पुरस्कार हो । कलाकारका लागि श्रोताको माया र सम्मानभन्दा ठूलो उपलब्धि अरू केही हुँदैन ।
हालसम्मको आफ्नो सांगीतिक यात्रालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
मैले हालसम्म तीन दर्जनभन्दा बढी गीतमा स्वर दिएकी छु । संख्याभन्दा पनि गुणस्तरमा विश्वास गर्छु । प्रत्येक गीतले कुनै न कुनै सन्देश बोकेको होस् भन्ने चाहना रहन्छ । अहिलेसम्मको यात्राबाट सन्तुष्ट छु, तर अझै धेरै गर्न बाँकी छ भन्ने महसुस पनि हुन्छ । कलाकारले सिक्ने प्रक्रिया कहिल्यै रोकिँदैन ।
अहिले नयाँ के काम भइरहेको छ ?
हालै काठमाडौंमा केही गीतको रेकर्डिङ पनि भएको छ । यस्तै, अहिले ‘आमा’ बोलको नयाँ गीत सार्वजनिक गर्ने तयारी भइरहेको छ । यस गीतमा आमाको अथाह माया, त्याग र सन्तानले समयमै आमाको भावना बुझ्न नसक्दाको पीडालाई प्रस्तुत गर्ने प्रयास गरेको छु । आजको व्यस्त जीवनशैलीमा धेरै सन्तानले आफ्ना आमाबुबालाई समय दिन सकिरहेका छैनन् । यही यथार्थलाई गीतमार्फत प्रस्तुत गर्न खोजेको हुँ । मलाई विश्वास छ, यो गीतले धेरैको मन छुनेछ ।
तपाईंका अनुसार गीतसंगीतको वास्तविक उद्देश्य के हो ?
मेरो विचारमा गीतसंगीतका सर्जक समाज देखाउने ऐना हुन् । कलाकारले समाजमा भइरहेको वास्तविकतालाई इमानदारीपूर्वक प्रस्तुत गर्नुपर्छ । गीत केवल मनोरञ्जनका लागि मात्र होइन । यसले चेतना फैलाउन सक्छ, परिवर्तन ल्याउन सक्छ र मानिसको सोच बदल्न सक्छ । एउटा राम्रो गीतले हजारौं भाषणभन्दा बढी प्रभाव पार्न सक्छ ।
तपाईं संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मेरो लागि संगीत अनन्त सागर हो । यसको कुनै सीमा छैन । संगीतले जात, धर्म, भाषा र भूगोलका सीमाहरू पार गरेर मानिसलाई जोड्छ । म संगीतलाई गरिबको आवाज पनि मान्छु, पीडितको आवाज पनि मान्छु । जब कुनै मानिस आफ्ना भावना शब्दमा व्यक्त गर्न सक्दैन, संगीतले उसको मनको कुरा बोलिदिन्छ । स्वच्छ हृदयबाट निस्किएको भावनाको तरंग नै संगीत हो ।
सिक्किममा बसेर नेपाली गीतसंगीतलाई अगाडि बढाउन कत्तिको सहज छ ?
चुनौतीहरू छन्, तर अवसर पनि प्रशस्तै छन् । म सिक्किममै बसेर नेपाली गीतसंगीतलाई निरन्तरता दिइरहेको छु । रेकर्डिङका लागि नेपाल काठमाडौं पनि आउने गर्दछु । आज प्रविधिले संसारलाई निकै नजिक बनाएको छ । अहिले जहाँ बसे पनि आफ्नो सिर्जना विश्वभर पुर्याउन सकिन्छ । त्यसैले लगन र मिहिनेत भए ठाउँले ठूलो फरक पार्दैन ।
नयाँ पुस्ताका कलाकारलाई के भन्न चाहनुहुन्छ ?
पहिलो कुरा, संगीतलाई केवल लोकप्रियता कमाउने माध्यम नबनाउनुहोस् । यसलाई साधना र जिम्मेवारीका रूपमा लिनुपर्छ । धेरै अध्ययन गर्नुहोस्, धेरै सुन्नुहोस्, धेरै सिक्नुहोस् । मौलिक सिर्जनालाई प्राथमिकता दिनुहोस् । समाजलाई सकारात्मक सन्देश दिने गीत सिर्जना गर्न सक्नुभयो भने तपाईंको संगीत लामो समयसम्म बाँच्नेछ भन्ने लाग्छ ।
नेपाली गीतसंगीतको भविष्यलाई कसरी हेर्नुहुन्छ ?
म निकै आशावादी छु । अहिले धेरै प्रतिभाशाली युवा कलाकारहरू आउँदैछन् । प्रविधिले अवसर बढाएको छ । तर, मौलिकता जोगाउनु सबैभन्दा ठूलो चुनौती हो । हामीले आफ्नो भाषा, संस्कृति, लोकभाका र सामाजिक मूल्यलाई आधुनिक संगीतसँग जोड्न सके नेपाली गीतसंगीतको भविष्य अझ उज्ज्वल हुनेछ ।
अन्त्यमा ?
जीवनमा सबैभन्दा ठूलो कुरा मानवता हो । सबैसँग राम्रो व्यवहार गरौँ । मनमा नराम्रो सोच नराखौँ । हामी धेरैजसो आफ्नै कारणभन्दा अरूका कारण दुःखी हुने गर्छौं । त्यसैले अरूको सफलतामा खुशी हुन सिकौँ, एकअर्कालाई सम्मान गरौँ र सकारात्मक सोचको विकास गरौँ । समाज राम्रो बनाउन कलाकार, शिक्षक, पत्रकार, अभिभावक र हरेक नागरिकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । म पनि आफ्ना गीतमार्फत समाजमा चेतना फैलाउने प्रयास गरिरहनेछु । सबै श्रोता, शुभेच्छुक र पाठकप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर