परिवर्तनशील संसारमा
यहाँ छैन सृष्टिलाई छुट
हुन सक्दैन स्थिर र अविनाशी
न कालचक्र नै निस्पन्दित हुनसक्छ
न स्थावरझैँ मन स्थिर हुनसक्छ
त्यसैले, सृष्टिका पानाहरूमा
अहोरात्र भरिन्छन् केवल
समुद्रका छालका कथाहरू
बादलका झोकाका व्यथाहरू,
श्वास प्रश्वास प्रवाहका वेदनाहरू,
र,
अविरल चलिरहने तिनका गतिका
आफ्नै अनन्त यात्राका इतिहासहरू ।।१।।
न कुनै सङ्कोच न कुनै प्रश्न
ऋतुमा वृक्षले आफ्नै पत्रको वृष्टि गर्छ
पुनः आफैँमा पालुवा भर्छ
बिना घोषणा !
नक्षत्रले अहोरात्र निर्माण गर्छ
परिवर्तन हुन्छन् ऋतुहरू
सृष्टिका मौन आदेशमा,
ब्रह्माण्डमा दोहोरिरहन्छन्
कथाहरू एउटै सत्यका रूपमा
हरेक पल परिवर्तनका भेषमा ।।२ ।।
एउटै रचनाका दुई पहलु
सृष्टि र प्रलयहरू
जब सृष्टिमा विपर्यय हुन्छ,
तब प्रलयको प्रवेश हुन्छ
जन्म र मृत्यु पर्याय बन्छन्
जहाँ जन्म सुरु हुन्छ
त्यही मृत्युको प्रादुर्भाव हुन्छ
भनिन्छ
मृत्यु जीवनको प्रलय हो
जन्म जीवनको सृष्टि हो
तर
जन्म मुत्युको अन्त हुँदैन
परिवर्तनको क्रम रोकिदैन ।। ३।।
मानव जीवनमा
कुनै ठूलो कारण हुनु पर्दैन
सम्बन्धहरू क्रमशः विकशीत हुन्छन्
मानवताका नाताले एक आपसमा
र पुग्छन्
केही दिनमै मित्रताको शिखरमा
हेर्दा हेदैँ फूल वैलाए सरी
न कुनै ठूलो कारण न कुनै विवाद
साच्चै भनौ झनै अकारणमै
तिनी मध्ये एक मौन हुन्छ
अर्कोले किन ? बुझ्न नपाउँदै
अर्को टाढिइसक्छ
बन्द हुन्छन् बोली चालीहरू
र अनायाशै
भत्कन्छन् मित्रताका पुलहरू ।।४।
सम्झदा पनि लोभ लाग्छ
बाल्यकाल सरल हुन्थ्यो
झगडा पनि खेल बन्थ्यो
रुवाइ घामपानी जस्तै
हाँसोको अर्को रूप हुन्थ्यो
कट्टीले टुटेको त्यो नाता
भोलिको भेटमा जोडिन्थ्यो
प्रिय नजर र बोलीले
सबैको चित्त पग्लन्थ्यो ।।५।।
तर, उमेर बढे सँगसँगै
वैचारिक क्षणको अभ्युदय भो
मष्तिष्कले मनका कुरा तौलिने भो
सम्बन्ध हिसाबजस्तो बन्न थाल्यो
कसले कति दियो, कसले कति लियो
जोडघटाउले मार्ग निर्देशन गर्न थाल्यो ।।६।।
क्रमशः
बिना अनुमति, बिना तर्क वितर्क
रागले मन बहकाउन थाल्यो
यौवनले कसैको हाँसोमा
अनुरागको भाषा देख्न थाल्यो
कसैको नजरमा
आफ्नै भविष्य आक्न थाल्यो
कल्पना !
कसैको मौनतामा
नाना सपना बुन्न थाल्यो
अन्ततः
स्वविवेकको निर्णयको भरमा
मायालाई बसायो स्पन्दनमा
तर,
समयको कठोर घडीमा
ती कल्पनाहरू ती सपनाहरू
विना आगो विना आँधी
दिवा प्रकाशका ताराझैँ भए
मात्र दूरी र व्यस्तताका कारण
मौन शब्दहरूको भारीले
आफैँ दिग्भ्रमित भए
जीवन प्रलयका साक्षी बनेँ
मायारुपी बिम्ब भए
मृगमरीचिकाका प्रतीक बनेँ
पृथक यात्राको बाटो राजेँ ।। ७।।
त्यसपछि बाँकी रहन्छ केवल
दुईको बीचमा मौन शून्यता
न प्रश्न ! न उत्तर !
शून्यता एउटा मौन खालीपन,
एउटा अदृश्य घाऊ
जो समयसँगै चिर त हुन्छ,
तर कहिल्यै निदान हुँदैन
बरू
कहिले मौन भावुकतामै बाँच्छ,
कहिले शब्द भेदनमा मर्छ ।। ८।।
कालान्तरमा
जब मानिस यथार्थमा फर्किन्छ,
उसले जीउनुको सार बुझ्न थाल्छ
सम्बन्ध जित्नु वा हार्नु होइन,
यसले बचाउने कलाको मापन गर्छ
अहंकार, घमण्ड तामसी अस्त्रलाई
सम्बन्धका मौन हत्यारा देख्न थाल्छ
विनम्रता त्यो प्रकाश हो,
जसले टुट्न लागेको डोरीलाई
पटक पटक गाँस्छ भन्न सक्छ ।। ९ ।।
यदाकदा
भौतिक दूरी पनि औषधि बन्छ,
यसैबेला न्यानोपनको अर्थ खुल्छ,
अभावको मौनताले नै
शब्दहरूको भाव सिकाउँछ
सम्बन्ध त बरफ समान हो
जमाउन जति असजिलो
पग्लिन त्यति नै सजिलो
जमेको माया जोगाउन अझ
सर्मपित जीवनको भर नै चाहिन्छ
सच्चा जीवनका सम्बन्धहरू
न वचनमा मात्र बाँच्न सक्छन्
न वादको आश्वादमा रम्दछन्
यी त केवल
मनभित्र पल्लवित स्नेहमा
क्षमालाई बुझ्न सक्ने हृदयमा
स्वतस्फूर्त फक्रन्छन्,
सदाबहार भएर बाच्न सक्छन्
त्यसैले सदैव सम्बन्ध टुट्दा
मनको दूरी मात्र बढ्दैन,
बरु एकअंश छद्म रूपमा
आफैँ विलोप नभई छाड्दैन
तथापि
सच्चा सम्बन्धको शक्तिमा
विलोपमा पनि अंश रहन्छ
टुटमा मा पनि छुट रहन्छ
मन त आखिर अनन्त हो
त्यसमा पनि केही न केही
बाँकी रहिरहन्छ,
त्यस अंशलाई
न समय मेट्न सक्छ,
न दूरीले छल्न सक्छ
बरू
अन्ततः सम्बन्धलाई
पारस्परिक सम्मान,
सहकार्य र प्रेमको
निःस्वार्थ बहाव भन्ने गर्छ ।। १०।।







नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी
सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा
प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी