काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानविरुद्धको सैन्य कारबाही अस्थायी रूपमा रोकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर, आक्रमण रोक्नुको कारणबारे भने फरक–फरक विवरण सार्वजनिक भएका छन्।
सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ। यद्यपि, कारबाही कति अवधिका लागि स्थगित गरिएको हो भन्नेबारे स्रोतले स्पष्ट जानकारी दिएको छैन।
त्यसैगरी, सीबीएस न्युजका अनुसार ओमानको प्रतिनिधिमण्डलले ‘स्ट्रेट अफ होर्मुज’ पुनः सञ्चालन गर्ने विषयमा तेहरानमा वार्ता गर्ने तयारी गरेकाले उक्त कूटनीतिक प्रयासमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अमेरिकाले सैन्य कारबाही स्थगित गरेको हो। सीबीएसले यो जानकारी दुई क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै दिएको हो।
यता, द न्युयोर्क टाइम्सले भने फरक कारण उल्लेख गरेको छ। पत्रिकाका अनुसार अमेरिकी वायु रक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर क्षेप्यास्त्रको मौज्दात घट्दै गएको भन्दै वरिष्ठ सैन्य सल्लाहकारहरूले चेतावनी दिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही थप विस्तार गर्ने योजना स्थगित गरेका हुन्।
समाचारअनुसार अमेरिकी सेनाका संयुक्त प्रमुख कर्मचारी समितिका अध्यक्ष डान केनले व्यापक सैन्य अभियान जारी राखिए अमेरिकी केन्द्रीय कमान्डसँग रहेका इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार सकिन सक्ने चेतावनी दिनुभएको थियो।
द न्युयोर्क टाइम्सका अनुसार अमेरिकाले हालसम्म इरानविरुद्धको अभियानमा १ हजार २०० भन्दा बढी प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र प्रयोग गरिसकेको छ। प्रत्येक इन्टरसेप्टरको लागत ४० लाख अमेरिकी डलरभन्दा बढी रहेको जनाइएको छ।
यद्यपि, अमेरिकी प्रशासनले सैन्य कारबाही स्थगित गर्नुको आधिकारिक कारणबारे हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन।







रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित
म्यानचेस्टर डर्बीमा सिटीको विवादास्पद जित