काठमाडौं । साहित्यकार, रेडियोकर्मी तथा सामाजिक अभियन्ता दाहाल यज्ञनिधिको ७३औं जन्मजयन्तीका अवसरमा नागार्जुन वाङ्मय प्रतिष्ठानले सम्मान तथा पुरस्कार वितरण, व्यक्तित्व चर्चा र रचना वाचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार सुधा त्रिपाठी, साहित्यकार रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, विनोद मञ्जन, हरिप्रसाद सिलवाल, रमेश शुभेच्छु र पवित्रा सुनार ‘सानु’लाई ‘नागार्जुन वाङ्मय जदौ सम्मान-२०८३’ प्रदान गरिएको थियो ।
यसैगरी पत्रकार तथा प्रतिष्ठानका पूर्वअध्यक्ष प्रकाश सिलवाललाई नगद ११ हजार रुपैयाँ राशिको ‘नागार्जुन जदौ पुरस्कार-२०८३’ प्रदान गरिएको थियो । पुरस्कार वरिष्ठ साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा.सुधा त्रिपाठीले प्रदान गर्नुभएको थियो । पुरस्कारका लागि साहित्यकार विनोद मञ्जनको संयोजकत्वमा प्रतिष्ठानका पूर्वअध्यक्ष रोजन राई र पूर्वउपाध्यक्ष गौरी दाहाल सदस्य रहेको चयन समिति गठन गरिएको थियो ।
कार्यक्रममा हरिप्रसाद सिलवालले दाहाल यज्ञनिधिको निबन्धकारिता, विनोद मञ्जनले पुरस्कार चयन प्रक्रिया, रमेश शुभेच्छुले दाहालको समग्र व्यक्तित्व तथा पवित्रा सुनार ‘सानु’ले सीमान्तकृत समुदायको उत्थानमा उहाँको योगदानबारे चर्चा गर्नुभएको थियो । वक्ताहरूले सामाजिक रूपान्तरणका लागि दाहालले प्रेरणादायी भूमिका निर्वाह गरेको धारणा व्यक्त गरेका थिए । सो अवसरमा कवि रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ले दाहाल यज्ञनिधिलाई समर्पितसहित आफ्ना आधा दर्जन कविता वाचन गर्नुभएको थियो । कवि पूर्ण बिरामका कवितामा आधारित वाचन प्रतियोगितामा उत्कृष्ट हुने प्रमोद भण्डारीलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा लक्ष्मण अधिकारी, रामदेव पाण्डे, माधव अटल, गंगा खतिवडा, अनुराधा थापा, दिनेश खरेल, कृष्णप्रसाद जस्ताघरे, अमरदीप सुनुवारलगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
स्रष्टा यज्ञनिधिकी धर्मपत्नी सुधा दाहालले उहाँको व्यक्तित्व र योगदानलाई चिरस्थायी बनाउन प्रकाशन, प्रसारण तथा सम्मान-पुरस्कार वितरणको परम्परालाई निरन्तरता दिइने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले लोकतान्त्रिक साहित्यिक आन्दोलन, संस्कृति, सञ्चार र समाजसेवाका क्षेत्रमा दाहाल यज्ञनिधिले पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।
खोटाङको धारापानीमा २०१० साल साउन ८ गते जन्मिनुभएका दाहाल यज्ञनिधिको २०७९ साल साउन २५ गते निधन भएको थियो । उहाँले शिक्षा, साहित्य, संस्कृति, सञ्चार तथा समाजसेवाका क्षेत्रमा पुर्याउनुभएको योगदान नेपाली साहित्यिक जगत्मा स्मरणीय रहेको वक्ताहरूले बताएका थिए ।







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी