काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्या अर्यालले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउनु निर्वाचन आयोगको सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभएको छ।
मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा धारणा राख्दै उहाँले वाग्लेको कार्ययोजना र अवधारणापत्रमा केही सकारात्मक पक्ष भए पनि नयाँ योजनाको कार्यान्वयनका लागि स्पष्ट आधार र रणनीति अभाव रहेको टिप्पणी गर्नुभयो।
उहाँले वाग्लेको कानुनी पृष्ठभूमि तथा विगतमा निर्वाचन अधिकृतका रूपमा हासिल गरेको अनुभवलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै कार्ययोजनालाई अझ व्यावहारिक र कार्यान्वयनमुखी बनाउन आवश्यक रहेको बताउनुभयो।
उपनेता अर्यालले निर्वाचनका बेला निर्वाचन आयोग, सुरक्षा निकाय र मतदान केन्द्रमा खटिने कर्मचारीबीच प्रभावकारी समन्वय नहुँदा सुरक्षा चुनौती बढ्ने गरेको उल्लेख गर्नुभयो। विशेषगरी संवेदनशील क्षेत्रमा समन्वयको अभावले निर्वाचन व्यवस्थापनमा समस्या सिर्जना हुने गरेको उहाँको भनाइ थियो।
उहाँले निर्वाचनका क्रममा हुने अनियमितताप्रति आयोगको ध्यानाकर्षण गराउँदै ६० प्रतिशतभन्दा बढी मतदान हुन कठिन हुने स्थानमा ९९ प्रतिशतसम्म मतदान भएको देखिँदा पनि त्यसलाई स्वाभाविक मानिनु उचित नभएको बताउनुभयो। वैदेशिक रोजगारीमा रहेका तथा मृत्यु भइसकेका व्यक्तिका नाममा समेत मतदान भएको प्रमाण पेस गर्दा आयोगले त्यसलाई गम्भीर रूपमा नलिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।
अर्यालले भन्नुभयो, "जहाँ अनुचित कार्य र धाँधली भइरहेको छ, त्यहाँ आयोगले तत्काल कारबाही गर्न नसक्दा त्यस्ता प्रवृत्तिले प्रश्रय पाएका छन्। बुथ कब्जा गर्ने, प्रतिनिधिलाई थुन्ने र भिडियो प्रमाण हुँदाहुँदै पनि कारबाही नहुनु दुःखद् हो।"
प्रस्तावित आयुक्त वाग्लेले अघि सारेको बायोमेट्रिक मतदाता पहिचान प्रणालीको अवधारणालाई स्वागत गर्दै उहाँले त्यसको लागत, स्रोत व्यवस्थापन र कार्यान्वयनको सम्भाव्यताबारे स्पष्ट योजना आवश्यक रहेको बताउनुभयो।
उहाँले निर्वाचनसम्बन्धी कानुनको परिमार्जन, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय तथा उम्मेदवारहरूको आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गराउने व्यवस्थालाई व्यवस्थित रूपमा अघि बढाउन स्पष्ट रोडम्याप आवश्यक रहेको धारणा राख्नुभयो। साथै, निरन्तर संवाद र छलफलमार्फत निर्वाचन प्रणालीलाई अझ पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।







बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले