काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले निर्वाचनका समयमा सुरक्षा निकाय सत्तापक्षको प्रभावमा रहने गरेको आरोप लगाउँदै निर्वाचन आयोगको तटस्थता र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालनबारे प्रश्न उठाउनुभएको छ।
मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा सांसद खत्रीले निर्वाचन व्यवस्थापन, सुरक्षा संयन्त्र, निर्वाचन खर्च तथा विदेशमा रहेका नेपालीको मतदान अधिकारलगायत विषयमा जिज्ञासा राख्नुभएको हो।
उहाँले आफ्नो निर्वाचन अनुभव उल्लेख गर्दै निर्वाचनमा अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायहरू प्रायः सत्तापक्षको प्रभावमा देखिने गरेको दाबी गर्नुभयो। निर्वाचन आयोगले सुरक्षा निकायलाई आफ्नो मातहतमा प्रभावकारी रूपमा परिचालन गर्न नसक्नुको कारणबारे स्पष्ट पार्न उहाँले प्रस्तावित आयुक्तसँग आग्रह गर्नुभयो।
सांसद खत्रीले निर्वाचन आयोगले अन्तिम समयमा उम्मेदवारी खारेज गर्ने तर पछि अदालतबाट उम्मेदवारले सफाइ पाउने अवस्थाले राज्यलाई अनावश्यक आर्थिक भार पर्ने बताउनुभयो। आयोगको त्रुटिका कारण निर्वाचन रद्द भई पुनः निर्वाचन गर्नुपर्ने अवस्था आए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उहाँले उठाउनुभयो।
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा प्रस्तावित आयुक्त वाग्लेले अघि सारेका पाँचवटा मोडेलमध्ये नेपालको सन्दर्भमा सबैभन्दा उपयुक्त र आगामी स्थानीय तथा प्रदेश निर्वाचनमै कार्यान्वयन गर्न सकिने मोडेल कुन हो भन्नेबारे पनि उहाँले स्पष्टता माग्नुभयो।
यसका साथै, ‘नो भोट’ (None of the Above) र ‘रिकल’ (निर्वाचित प्रतिनिधिलाई कार्यकालअघि फिर्ता बोलाउने व्यवस्था) सम्बन्धी अवधारणाको सम्भावना र कार्यान्वयनबारे पनि प्रस्तावित आयुक्तको धारणा माग गर्नुभयो।
सांसद खत्रीले निर्वाचनमा हुने वास्तविक खर्च र आयोगसमक्ष पेस गरिने खर्च विवरणबीच ठूलो अन्तर रहेको टिप्पणी गर्दै निर्वाचन खर्च घटाउने विषय व्यवहारमा प्रभावकारी हुन नसकेको बताउनुभयो। उम्मेदवारका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाताको प्रभावकारितामाथि पनि प्रश्न उठाउँदै उहाँले चन्दा संकलन र निर्वाचन खर्चलाई पारदर्शी बनाउने आयोगको ठोस योजना सार्वजनिक गर्न आग्रह गर्नुभयो।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :